Comments Add Comment

सुर्खेतको सेरोफेरो : एक रोमाञ्चक यात्रा

सुर्खेत । तपाईं रारा ताल जानुहुन्छ वा शे–फोकशुण्डो ? लिमी भ्याली जानुहुन्छ वा बुलबुले ताल ? सुर्खेत त टेक्नैपर्छ । उक्त पर्यटकीय स्थलहरु फन्को लगाउनका लागि प्रवेशद्वार हो, सुर्खेत ।

सुर्खेत अर्थात कर्णाली प्रदेशको राजधानी । प्राकृतिक सौन्दर्यको खानी । ऐतिहासिक र सांस्कृतिक धरोहर । प्राकृतिक सुन्दरता र सांस्कृतिक विरासतको अनुपम संगम हो यो ।

काँक्रेबिहार 

सुर्खेत पुगेपछि छुटाउनै हुन्न, काँक्रेबिहार । सुर्खेत बजारबाट गाडीमा १५ मिनेटको दुरीमा मन्दिर पुग्न सकिन्छ । भनिहालौं, पश्चिम नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो यो । मन्दिरको भर्खरै मात्र पुर्निर्माण गरिएको छ ।

घना जंगलको बीचमा अवस्थित मन्दिरमा ढुंगाको कलात्मक आकृतिहरु हेर्न पाइन्छ । यो बौद्ध र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल हो ।

यहाँ अक्षता र ध्वजा उठाई भाकल गर्ने प्रचलन छ । मन्दिरमा एकादशी, औंसी, संक्रान्ति र आइतबारको दिन पशुबली दिन पाइँदैन ।

बुलबुले ताल

सुर्खेतको अर्को आकर्षक हो, बुलबुले ताल । खासगरी आन्तरिक पर्यटकका लागि बुलबुले ताल उपयुक्त गन्तव्य बनेको छ । सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुले ताललाई प्रमुख केन्द्र मानेर बाल उद्यान, बनभोजस्थल, धारा लगायतका कलात्मक संरचना निर्माण गरेको छ ।

विगतमा निकै फराकिलो रहेको यो ताल अहिले भने खुम्चिदै गएको स्थानीय बताउँछन् । अहिले गुरुयोजना अन्तर्गत यस ताललाई अरु साढे तीन विघा जग्गामा फैलाउने योजना तय भएको छ ।

प्याराग्लाइडिङदेखि र्‍याफ्टिङसम्म

सुर्खेत पुगेपछि प्याराग्लाइडिङको रोमाञ्चक अनुभव पनि लिन सकिन्छ । प्याराग्लाइडिङमा उडेर सुर्खेत उपत्यकालाई फरक कोणबाट अवलोकन गर्न सकिन्छ । सुर्खेतको गोठीडाँडादेखि प्याराग्लाइडिङमा उड्न सकिन्छ ।

खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरेर प्याराग्लाइडिङको व्यवस्था गरिए पनि अहिले भने केही समयका लागि यसको उडान स्थगित गरिएको छ । त्यसो त भेरी नदीमा र्‍याफ्टिङको आनन्द पनि लिन सकिन्छ ।

प्रशासनिक र पर्यटकीय गन्तव्य बनाउने ध्येय छ : देव कुमार सुवेदी, नगरप्रमुख

कर्णाली प्रदेशको राजधानी भएकाले पनि यस स्थानको खास महत्व छ । प्रशासनिक हिसावले समेत वीरेन्द्रनगरमा आउनेहरुको चाप बढी हुन्छ ।

यहाँ बसोबास गर्न आउनेहरु पनि उत्तिकै छन् । यी सबै कुरालाई मध्यनजर गरेर हामीले भौतिक पूर्वाधार निर्माणदेखि अन्य कुराहरुलाई व्यवस्थित गर्नुपर्ने अवस्था छ ।

अहिले नगरपालिकाले सडक विस्तार र पुनर्निर्माणमा जोड दिइरहेको छ । यसलाई प्रशासनिक केन्द्र र पर्यटकीय गन्तव्य बनाउनका लागि हामीले विशेष तयारी गरिरहेका छौं । यातायात सुविधासँगै यहाँका पर्यटकीय संरचनाहरुलाई व्यवस्थित गर्ने हाम्रो योजना हो ।

कर्णाली प्रदेशकै धरोहरको रुपमा रहेको काँक्रेबिहार पनि पुनर्निर्माण गरिदैछ । अर्को प्रमुख मन्दिर देउती बज्यै पनि पुनर्निर्माण गरिँदैछ ।

यी सम्पूर्ण क्षेत्रको विशेष गुरुयोजना बनाएर नै काम अगाडि बढाइएको छ । अपेक्षाकृत काम भने राम्ररी हुन सकिरहेको छैन ।

नगरपालिकाले विभिन्न क्षेत्रमा पार्क बनाइरहेको छ । बुलबुले क्षेत्रमा पनि हामीले संरचना निर्माण गरिरहेका छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment