Comments Add Comment

कथा : हाफ चश्मा

बा’ले बरोबर आँखा देख्न नसकेको चानचुन एक महिना भयो । टाढाका वस्तुहरू देख्दैनन् । नजिकै आएमात्र ठम्याउन सक्छन् । त्यसैले म बुबालाई चस्मा लिन गेटा आँखा अस्पताल पुगें । काउन्टरमा टिकट काटेर लाइन लागें । चार नम्बरबाट माइक्रोस्कोपले हेरेर डाक्टरले पानामा के-के लेखेर भन्यो, ‘यो चिट लगेर सात नम्बर कोठामा जानुहोस् ।’

कोठा नं : ७

बाले हातको चिट डाक्टरलाई दियो । उनले पढे । बाको अनुहारमा हेरे । तर केही बोलेनन् । अलि परको सोफामा म बसेको थिए । उनले मलाई पनि हेरे । मुस्कुराउँदै भने, ‘बुबा तपाईंको ?’

खेम बतास

‘हजुर ।’

‘पढ्न आउँछ बा तपाईंलाई ?’

‘आउँछ ।’

डाक्टरले एउटा मोटो किताब बा’को हातमा रादियो ।

डाक्टरले भन्यो, ‘एउटा आँखा एकहातले बन्द गर्नुस् र यो पढ्नुस् ।’ उनले किताब खोलेर एउटा अध्याय देखाए । बा दायाँ आँखा दायाँ हातले बन्द गरेर किताब पढ्न थाले ।

****

‘बेलीबास (हिजो साँझ) अनौठो खबर सुनियो लौ बरे ! साँचो झुठो कसो हो भन्ना गोंसी (देवर) ?’ दोकानमा नुन किन्न आएकी साँइली बौजू (भाउजू)ले काल्चेलाई भनिन् ।

‘के खबर ?’

काल्चेले बुझेर पनि बुझ पचायो । उसले आयोडिनको प्याकेट साइँली बौजूको हातमा राख्दै भन्यो, ‘मेरो त एकफेर पनि हात खाली नै हुना । काँ के भयो ? केइन था पाउनो लाउ बौजू ।’

साँइलीले दिएको पचासको नोट समातेर उसले गल्लामा राख्यो र साँइलीतिर आशलाग्दा नजरले हेर्यो ।

‘साँच्ची था नपाइबरका ब (पो) हौ कि, बुझिबर लै (पनि) बुझ पचाउने हौ ! उनले भनिन्, ‘सीताले देलीबाट गोडो गाड्यो भन्यो लाऊ, धौ तक, के उपद्दर गर्यो तै स्वाहानीले, तीन जत्काल बसेकी सहेनी मान्छ । यै लाउँलाँउ, खाउँखाउँ भन्ने उमेरमा, माइतीपोइली सबैको नाक गाड् हाल्यो ।’

काल्चेले कृत्रिम आश्चर्य मान्दै निधार खुम्च्यो । उसका निधारमा देखिए केही गाँठाहरू । उसले तीस रुपैयाँ साँइलीका हातमा राखिदियो ।

‘स्वाहानीकी बुद्धि पछा मुख हुन्छ भन्ने थे साँच्ची रैछ बौजू’ , उसले भन्यो, ‘स्वास्नीको भर नै स्वाहानी बिजाँइ घर नै भनेको यै हो । महतारी छनाइका मूले (टुहुरो) भए जयजात्क (केटाकेटी) ।’

है भने, साँइली बौजू रूप्पे समातेर घरतिर हिँडी ।

सीता दुर्गालक्ष्मी क्याम्पसमा स्नातक पढ्थी । पढाइमा तेज थिई केटी । गायनमा ठूलो शोख थियो, उसको । क्याम्पसका अतिरिक्त क्रियाकलापमा सधैं प्रथम । एक दुईपल्ट त जिल्लाबाट पनि ट्रफी जितेकी थिई । समाजको शिर सगरमाथा पुगेको थियो । उसका इजाबा खुसीले गदगद् भएका थिए भने क्याम्पसमा उसलाई बधाई दिनेको लस्करै तयार भएको थियो । गायनमा नेपाली तारा बन्ने उसको एकमात्र सपना थियो । घरको आर्थिक अवस्था कमजोर थियो तसर्थ आफ्नो बारेमा सोच्ने यर्थेष्ट समय पाएकी थिइन ।

जनक बाटोमा मदन जस्तै एक्लै भयो सबै साथीले छोडेर हिँडे । रात परेकोले उसले टाढा आगो बलेको उज्यालो देख्यो । त्यो उज्यालोको मालिक थियो, गुच्छे थारू । गुच्छे भयो उसको सहारा

त्यो बेला गाँउमा कलेज जाने ऊमात्र थिई । जात्की (केटी) खुब मेहनति थिई । स्कुलदेखि कलेज पुगुन्जेल कहिल्यै पछाडि फर्किनु परेन उसले । ‘देउवा जीले बम्बइमा चौकीदारी गरेर भएपनि चेलाचेली त पढायो ।’ चोक–चौतारा र चिया पसलमा प्रसङ्गबस उसको तारिफ गर्थे । गाउँमा पनि कसैसित उच्चो आँखर बोल्दैनथी । उसको मुखारविन्दुबाट सत्यमात्र निस्किन्थ्यो । ज्ञान र शील स्वभावकी सीताको हाँस्दा गालामा खाल्टो पर्थ्यो । त्यसैले केटाहरूको तारो बनेकी थिए । बाटोमा भेट्दा उसलाई जिस्काउँदै कतिले डिम्पल–कुइन पनि भन्थे । तर उसले कुनै तारिफको मतलब गरिन ।

एकपल्टको प्रेम दिवसमा रावणले रातो गुलाब दिँदै प्रेम प्रस्ताव पनि नराखेको होइन । उसले कुनै प्रतिक्रिया जनाइन । बरू आफ्नै दिल दिमाकलाई भनी, ‘हेर केटी यो समय तैंले लभ गर्दै डटिङ जाने होइन बरू पढेर ज्ञानी बन् ज्ञान नै जीवनको ज्योति हो । ज्योतिले संसार उज्यालो देखिन्छ ।’

उसले गरेको आत्मनिर्णयले काम गर्यो । रावणको प्रस्तावलाई मुसुक्क मुस्कुराई र टारिदिए । उसले भनी, ‘तिमी राम्रो छौ, मभन्दा उत्तम केटी पाउँछौ, चिन्ता किन गर्छौ ?’

कहिलेकाहीँ रावणको याद आउँथ्यो पनि । तर याद भनेको आदत हो, आदतलाई इन्द्रियको वशमा ल्याउन सके संसार जित्न कसो नसकिएला उसले यही देव वाक्यलाई शिरोधार्य गरी ।

त्यसै सालको मंसिरमा जिम्दार बाजे उसको हात माग्न आए । ‘चेलीको जोवन तोरीको फूल जस्तो हो । उमेरका चेलाचेली र बखतको बाली सप्रन्छ । मित्रुर निका छन् । कमी भन्ने कैइ हुने होइन ।’ धनवीरे देउवाले छोरीलाई सम्झाउँदै भने ।

उसकी आमाले यसैमा थपिन्, ‘हामरा लागि त लेख्नुपढ्नु कालो अक्षर भैँसी बराबर हो । तेरा त आँखा कान उगडि ग्ये । अब पढाउन सक्ने हाम्रो ताकत छैन । चेलीको जातले एकदिन पराइघर जानु त छ, छ । नाइ न भन बा, मेरी चेली !’ आमाको विनयशीलता अगाडि उसले केही बोल्न सकिन । उसको मौनतालाई सबैले स्विकृति सम्झिए ।

उसको बोलीको माधुर्यता, मुस्कानको सरलता र बानीको स्पष्टताको अघि रामचन्द्र पहिलो भेटमै फिदा भयो । उसले भन्यो, ‘तिमीलाई रानी बनाएर राख्छु ।’ रामचन्द्रको बाचा साँचो हो कि झुठो उसले कुनै प्रवाह गरिन ।

रामचन्द्रको मधेशमा पाँच बिगा जमिन थियो । सबै जमिन अधियाँ दिएको थियो । त्यसैले गाउँमा रामचन्द्रका परिवारलाई जिम्मुवाल भन्थे । उसका बा’को नाम जनक भए पनि गाउँले ‘जिम्मुवाल बाजे’ भनी बोलाउँथे ।

****

(छत्तिस सालसम्म नुन किन्न भोटे आउँथे मलवारमा । नुन, चिनी र अनाजको बोजो बोक्थे, घर फर्किन्थे । भोटेका च्याङ्ग्रा देखेर डोट्याल पनि कहिलेकाहीँ आउने गर्थे मधेस । घिऊ, चुक, भक्मीलाको धुलो र खुसार्नी बेच्थे । हाटबाट नुन, चिनी, लत्ताकपडा किन्थे । मालाखेती, वनवास, बनगौवाँ, टनकपुर त्यतिबेलाका प्रसिद्ध हाटहरू थिए । डोट्यालहरू मलवार आउन थालेपछि तिनको संगत थारूसँग बढ्न गयो । कुपिन्नी मात्र लगाएका कालै शरिर भएका नाङ्गा मान्छे देख्दा सुरुसुरुमा त डोट्यालहरू अचम्मले हेर्थे । उनलाई यी कुनै अर्को लोकबाट आएका मान्छेजस्ता लाग्थे । न भाषा मिल्ने, न लवाईखवाई नै , न भेषभूषा मिल्ने, न उठ्बसको तरिका नै ।

सधैँ देखिने थारूहरूसँग डोट्यालको चिनापरिचय भयो । कहिले चुक किन्ने निहुँमा, कहिले घुउ र मह किन्ने निहुँमा दोस्ती बढ्दै गयो । कहिले रात पर्दा तिनै थारूका घरमा बास बस्थे, डोट्यालहरू । सँगै हाँसखेल, उठबस र खानपान भएपछि विश्वास र माया भन्ने चिज जन्मिने भयो । हो, त्यसै भयो, मलवारका थारूसँग डोट्यालहरूको ।

एकखेप जनक शाही पनि आएको थियो विनिमयको लागि । नुन, चुक र मह बेच्यो । उसले आफूलाई चाहिने सबै बस्तु किन्यो । अझै नगद रूप्पे बचे उसका झोलामा । उसको घरजाने बोजो ठूलै भयो । चाँदीका रूप्पेको जमानामा चौवनी र अठन्नीको भाउ पनि धेरै थियो । जनक बाटोमा मदन जस्तै एक्लै भयो सबै साथीले छोडेर हिँडे । रात परेकोले उसले टाढा आगो बलेको उज्यालो देख्यो । त्यो उज्यालोको मालिक थियो, गुच्छे थारू । गुच्छे भयो उसको सहारा । उनीहरूको पानी माछाको जस्तो सम्बन्ध भयो । जतिपल्ट जनक मलवारमा आउथ्यो, उसको बस्ने घर भनेकै गुच्छेको घर थियो । उनीहरूले दुबो हल्दो नै बाँडेर मित लगाए, भल्मन्सालाई साँची राखेर ।

त्यो दिन जनकले गुच्छेको घरमा गुन्द्री बेरेर भकारीजस्तो बनाएर त्यसमा नुन राखेको थियो । त्यसको माथि चाँदीका रूप्पेले छोप्यो । जनकले सात महिनामा म आइहाल्छु, एक भकारी छ मेरो माल, सम्भार गरिदिनू है । तमरा भर राख्या छु, आगो पानी, किरो कमीलोबाट जोगाइदिनू भन्दै छुटिएको थियो ।

ऊ ६ महिना १० दिन पछि फेरि आएको थियो, सामान बोकेर । उसले गुच्छेको घरमा पुगेर मालको ढुकुटी हेर्दा आधाभन्दा पनि आधा भएको थियो । अशिव भएर कुर्लिएको थियो । ऊ रिसले तातेको थियो । उसले रिसको झोकमा भनेको थियो– ‘यो भकारी भरिको मेरो रूप्पे ? नुन कम रूप्पे धेरै थे । नुन छ, तर रूप्पे कस्ले लग्यो, भन् । नत्र याँ कोही बाँकी रहँदैन ।’

गुच्छे केही बोलेन । उसको डोटेली लबज थारूले राम्रोसँग बुझ्दै बुझेन । गुच्छे घुसेमुन्टो लाएर उभिइमात्र रह्यो । उसले धम्की दिएको थियो, मैले कानकानमा भनेको थिए, हेर विचार गर्नु, तम त सबै चोर रैछउ । मुसाका कालहरू । घोँगीका सौकारौहरू । मेरो लाखौंको सम्पति म त्यसै कहाँ सोड्छु । अड्डा अदालतमा छन्, मेरा मान्छे । पुलिस बोलाएर सबैकी मुजी फुटाउने हुँ ।’

विचरो गुच्छेलाई नुन पग्लिन्छ भन्ने थाहै थिएन । चोरको छैन, तमरो नुन पग्लिएर सकियो पनि उसले भन्न सकेन । उसको मुखबाट बोलिनै निस्केन । जनक सधैं किचलो गर्थ्यो । धम्काउँथ्यो । कठालो समात्न थाल्थ्यो । गुच्छे उसको व्यवहारले आहात हुन्थ्यो । उसका आँखा रसाएर आउँथे । रातमा निद्रा, दिनमा भोक हराएको थियो । उसले घरका सबै जहानलाई काँ’गयो याँ’को रूप्पे भन्यो, कसैले केही जवाफ दिएनन् । सबै अनविज्ञ भएका थिए, सबैका लागि त्यो घटना अज्ञात थियो ।

जनक जति निर्मम व्यवहार गुच्छेलाई गर्थ्यो, त्यसको दोब्बर धुलाई उसले मौ जहानलाई गर्थ्यो । गुच्छेको शारिरीक र मानसिक हमला सहन नसकेर घरका सबै सदस्य एकएक गरेर घर छोडेर गएका थिए । तर घर खाली भए पनि जनक छोड्ने पक्षमा थिएन । अन्तमा केही सिप नचलेपछि, गुच्छेले आफ्नो सबै जमिन छोडेर जनकको ऋण तिर्न मन्जुर भएको थियो । जनकले त्यो बेला भनेको थ्यो, ‘यो त साँवा भयो, अब व्याज को दिन्छ ? व्याजको हुनु, तैले यो जमिनमा हलि बस्नुपर्छ । म वर्षको दुईपल्ट अनाज लैजान आउँछु । बुजिस् । पछि म याँ बसाई सरेपछि तँलाई घरबास पनि दिन्छु ।’

गुच्छेसँग कुनै उपाय थिएन । उसलाई तातो दूध निल्नु न ओकल्नु भएको थियो । उसलाई नखाएको विष लागिरहेको थियो । गुच्छे केही बोलेन ।

अहिले उसका छोराहरूले अधिँया बनाउँछन् जनकको जमिन ।

****

त्यही गुच्छे थारूबाट लुटेर बनाएको पाँच बिगाह जमिनको मालिक थियो जनक शाही । जिम्दार बाजेले त्यसैमा थप्यो, ‘तिमी मेरो घरको बुहारी होइनौ, चेली हो ।’ जीवनको अनुभवले कपाल फुलेका जिम्दार बाजेको बाचालाई उसले शिरोधार्य गरी । बाचाकै भरमा विगत चार महिनादेखिको निजी स्कुलको खाइपाइ आएको जागिर पनि छोडी ।

बिहे पक्का भएको दिन जिम्दार बाजेले धनवीरे देउवालाई भनेका थिए, ‘धन खाने हौ कि हजुर गोडो धुने हौ ?’

‘यै जमानामा पनि के चेलीका ऋण डुबु हजुर, अझै त सालको पात छनाइछन् ।’ देउवाले सालको पातमा गोडो धोएर बिदा गरे । बिहेको दिन खुब रोएकी थिई सीता । दुईतीन पल्ट त मुर्छा नै परी । ऊ रोएको देखेर बर्यातीले झिँजो मान्दै भने, ‘सबै केटीमान्छे रून्चे मात्र हुने रैछन् ।’

समय बित्दै गयो ।

पहिलो सन्तानको रूपमा उसको घरमा लक्ष्मी भित्री । शाही परिवार खुसीले गदगद् भयो । तर रामचन्द्रका लागि त्यो घटना अप्रत्याशितजस्तै भयो । छोरी जन्मेको साँझ रामचन्द्र अरू दिनभन्दा बढी मात्तिए आयो । उसका खुट्टा भुइँमा थिएनन् । ऊ आमाचकरी गाली गर्दै कोठामा पस्यो । उसले हेरफेर नगरी सीताका गालामा एक थप्पड हान्यो । सीताले वरपरको कुनै वस्तु देखिन । उसका कान बन्द भए । सुत्केरीले थिलथिलो भएको शरीरमा रामचन्द्रको आक्रमण उसलाई थामिनसक्नु भयो । उसलाई रिँगटाले भाउन्न चल्यो । ऊ थुचुक्क बसी भुइँमा । घाइते शेरको जस्तै बनेको रामचन्द्रले भन्यो, ‘कस्को हो बच्चा ? मेरो त नाक मुख मिल्दैन । को–कोसँग सुत्छेस् भन् । नत्र आज यो घरमा कि तँ बस्छेस् कि म ।’

लाश हुन्जेल कुट्यो । कसैले सीताको आँशुको अघि एकशब्द सहानुभूति पोखेनन् ।

रामचन्द्र आउने बाटो अध्याँरो थियो तर सीताले आशाको दियोमा तेल थप्दै बसेकी थिइ । रामचन्द्र आएन । कालो बिरालो एक्कासी झ्यालबाट प्रवेश गर्यो

दैनिक कुटाइले उसको शरिर सुकेको काठजस्तो भइसकेको थियो । ऊ सुकेर लप्सीजस्तै भएकी थिइ । बिहानै उठ्यो घरमा झाडोपोछा गर्यो । खाना पकायो । खुवायो । भान्सामा जुठोपिठो गर्यो । काखे बच्चाको संहार गर्यो । चिया पानी बनायो । लत्तका कपडा धोयो । लख्खिमी (बस्तुभाउ)को न्यार पर्साे (भकारो) गर्दैमा साँझ हुन्थ्यो । साँझ फेरि उहि दुःख । उसको दैनिकी चार दिवार भित्रै नियतिले बन्धक बसेकी कैदीको जस्तो थियो । आज तिमीले जे गर्छौ त्यसले तिम्रो भविष्य निर्धारण गर्छ भन्ने थाह हुँदा हुँदै पनि ऊ वर्तमानको दास बनेकी थिइ । दासको न भविष्य हुन्छ न विगत । उसको भएको विगत स्मृतिका पानामा हराइरहेको थियो भने भविष्यको अन्धकारले उसलाई जिस्काइरहेको थियो ।

छिमेकीले उसको वर्तमानलाई कटाक्ष गर्दै भन्थे, ‘रामचन्द्र त सीतालाई जारी लाउँछ भन्यो । क्याम्पसमा कुन नाठोसँग सल्के कि थि रे । धन सम्पतिकी मालिक्नी भएर के उद्विधि गर्ने खालकी आइमाई रैछ । कुकुरलाई घिउ पच्दैन भनेको यै हो ।’

माइत जाँदा किन दुब्लाइस् ? भनी आमाले सोधेर ऊ मुख छोपेर मनमनमा रून्थी । तर मनको बह कहिल्यै पोखिन । मन बिरक्तिएर कहिलेकाहीँ उसलाई लाग्थ्यो, खोलामा हाम फालेर मरूँ अथवा रूखमा झुण्डिन जाँऊ । तर उसले त्यो गर्न सकिन । उसलाई आफ्नो भन्दा बेशी छोरीको माया लागेर आयो ।

फेरि घरमा आयो उही गति । रामचन्द्र सधैँ रक्सी खाएर आउँथ्यो । तथानाम गाली गर्थ्यो । प्रतिउत्तर फर्काउन खोज्दा दुईचार थप्पड खान्थी । रुँदै निदाउनको खोज्दा उसको शरीरसँग रामचन्द्रले मनपरी गर्थ्यो । सुत्नुअघि रामचन्द्र सधैं दुर्वासाजस्तो बन्थ्यो । ‘तँ त सुहागरातको दिन पनि रोइनस् । खुब मज्जा मान्दैथिस् । एक थोपो रगत पनि झरेन’ भन्दै मुख मैथुनसमेत गर्थ्यो ।

आकाशमा ताराहरू टिलपिल टिलपिल गरिहेका थिए । औँसीको रात भएकाले वातावरण पूरै अन्धकार थियो । सबै जान खाना खाएर आफ्नो कोठामा गएसकेका थिए । रामचन्द्र अझै घर पुगेको थिएन । एक्लै तेरो भुँडी भरेर सुतिस् भनेर गाली गर्ने भएकाले सीता भान्सा कुरेर रामचन्द्रको बाटो हेरेर बसेकी थिई । रामचन्द्र आउने बाटो अध्याँरो थियो तर सीताले आशाको दियोमा तेल थप्दै बसेकी थिइ । रामचन्द्र आएन । कालो बिरालो एक्कासी झ्यालबाट प्रवेश गर्यो । के-के सोचेर बसेकी थिइ । सीताको ध्यान भङ्ग भयो । ऊ आत्तिइ । डरसँग अभ्यस्त भइसकेकी भए पनि उसको आत्माको अतल गहिराइमा बचेको अस्तित्वले उसलाई छोप्यो । उसले डराउदै मुख रातो बनाई ।

बिरालो म्याँउम्याँउ गर्दै भान्साबाट बाहिरियो । विरालो जाने बित्तिकै जिम्दार बाजे आए । उनले एकटकले सीतालाई हेरे । त्यो हेराइ चिलले चल्लालाई हेरेजस्तै थियो । धेरैबेर सीताले उनीसँग आँखा जुधाउन सकेनन् । उनले लजाउँदै धोतीले टाउको छोपिन । सकेजति सीताले सीताजस्तै बन्ने कोसिस गरिन । जनक सीताको समिपमा आए । उनले लामो सास तान्दै कामुक स्वरमा भने, ‘सीता, मेरा गोडा कटकटी दुख्दैछन् । शान्तिले छोडेर गएपछि ज्यानले पनि शान्ति पाएको छैन । मालिस गर न ।’ सीता केही बोलिन । केबल टाउको मात्र हल्लाई । जनकले त्यहि टाउकोलाई स्विकृति सम्झे ।

त्यो मालिस मालिस थिएन । ती गोडा, गोडा थिइनन् । जिम्दार नाग बनेर बसेका थिए । नागले उसलाई डस्यो । कोठाबाट बाहिर निस्किने बेला उनले सिरानको भरूवा बन्दुक समाते खुब सुम्सुम्याएर भने, अबदेखि मेरा गोडा सधैँ दुख्ने छन् । मालिस लाएको कुरा कसैलाई भनिस् भने..! उनले बन्दुकको नाल तेर्साएजस्तै हात बनाए । अनि निकाले आवाज ।

ऊ केहि नबोलेर आफ्नो कोठामा आई । झ्याल ढोका थुनेर रोई । छरपस्ट भएका कपालहरू मिलाई । लुगा मिलाई । ऐनाको अगाडि उभिएर रून थाली । ऐनामा अनुहार धमिलो देखियो । जोरले कराई । ऐनामा लागेको धमिलो मेटाएर आफ्नो निरीह अनुहार हेर्न खोजी तर ऐना स्पष्ट भएन । उसले आफ्नो अनुहार धोई । उसका आँशुहरू स्वतः पानीमा अनुवाद भए । उसले फेरि ऐना हेरी । तर ऐनाको अमिलोले उसको अनुहारको भाव देखिएन । उसको आवाज सुन्ने अबोध छोरीबाहेक कोही थिएन । उसलाई लाग्यो, नियतिले लोग्नेमान्छेको चरित्र र स्वास्नीमान्छेको भाग्य बनाएको रहेछ । कति कमजोर हुन्छ चरित्र ? यो चरित्र पनि इन्द्रियजस्तै देखाएर हिँड्न मिल्ने भए मान्छेका हैसियतहरू ज्ञात हुने थिए ।

पुलबाट धेरै पानी समुद्रमा पुगिसकेको थियो ।

तेस्रो सन्तान उसले फेरि छोरी पाई । त्यो दिन, नर्सले रूदै गरेकी बच्चालाई उसको हातमा राखिदिदै बधाईको कन्चन मुस्कान दिई । तर उसले झटपट बच्चाको टाँङमुनि हेरी । बच्चासँगै रून थाली । सुत्केरी व्यथाले च्याप्दा उसलाई त्यति पीडा भएको थिएन । जति उसलाई बच्चाको टाङमुनि हेर्दा भयो । सुत्केरी व्यथा लाग्नु दुईदिन अघि रामचन्द्रले भनेका थिए, ‘यो पल्ट पनि छोरी पाइस भने, तेरो खुन पिएर पनि मेरो रिस मर्ने होइन । यत्रो श्रीसम्पत्ति छ । भोली यसको उत्तराधिकारी चाहिएन । एउटा छोरो पाउन नसक्ने तँ जाँठीलाई राखेर के काम ?’ रामचन्द्रको श्रीसम्पत्तिको मालिकलाई उसले अस्पतालको वार्डमा राखी । उसलाई रामचन्द्रको धम्कीको याद आयो । आँशु पुछी । सुत्केरी पीडालाई उसले कुनै पीडा नै महसुुस गरिन । उसले अन्तिम पल्ट बच्चाको अनुहारलाई चुमी । फेरि यथास्थानमा राखी । धोतीले कम्मर कसी । पटुकाले टाउको बाँधी । र, अस्पतालबाट थिलथिलो शरिर बोकेर सदाका लागि घर छोडी ।

(बा’ले पढिसकेर डाक्टरलाई हेरे । दायाँ हात, दायाँ आँखाबाट हटाए । र, किताब डाक्टरतिर सार्दै भने, ‘किरिङमिरिङ देखियो डाक्टर सा’ब । मैले राम्ररी पढ्नै सकिनँ । अक्षरहरू जम्मै कुरूप लागे । अर्थ पनि बडो अश्लिल लाग्यो । आँखाले देख्दै देख्दिनँ)

****

(डाक्टरले बायाँ आँखा बन्द गरेर फेरि अघिकै अध्याय पढ्न भने । बा’ले बायाँ आँखालाई बायाँ हातले छोपेर फेरि त्यही किताबको पूर्ववत् पाठ पढ्न थाले ।)

सावित्री अफिस बिदा भएर घर फर्की । उसले दोकानअघि स्कुटर रोकी । छोरालाई फलफूल किन्न दोकानमा गई । देवीरामलाई एक केजी स्याउ तौलिन भन्यो ।

देवीराम स्याउ तौलिन थाल्यो । उसले देवीरामलाई भनी, ‘बेलीबास अनौठो खबर सुनियो लौ बरे ! साँचो झुठो कसो हो भन्ना बाबु ?’

देवीरामले तौलेको स्याउ पोलेथिनमा हाल्यो । ‘के खबर ? मेरो त एकफेर पनि हातखाली नै हुनो । काँ के भयो केइन था पाउनो लाउ बौजू ।’ सावित्रीले दिएको पाँच सयको नोट समातेर उसले गल्लामा राख्यो र सवित्रीतिर आशलाग्दा नजरले हे¥यो ।

दोकानमा गाउँ भरका मान्छे हुन्छन्, घरमा थाहा नभएको खबर दोकानमा सुनिन्छ, खुब ! बुझेर बुझ पचाउका । सावित्रीले ओठ लेब्राई । फेरि थपिन्, ‘तम त छिमेकी हौ के ?’ देवीरामले संकेत बुझिहाल्यो ।

उसले तीनसय रूप्पे हातमा राखिदिँदै भन्यो, ‘ए ए त्यो खबर, हो त हाम्रो गाउँमा लक्ष्मी भित्रिएकी छिन् । रावण पनि यो जुनीमा भिष्म पितामह नै बन्छ कि लाग्याथ्यो तर, केटाको गोडा अल्झियो ।’

‘काँबाट ल्याया रैछ ?’

‘खै त्यो त था नै पाए । दुब्ली पात्ली भएपनि, जात्की सहेनी छ । घर बनाइ खाहाल्ने हो ‘

‘ज्वानले ख्यास्स गर्यो ब्या । ब्या गर्नु नै त्यसरी हो । बिनाकामको दाइन दमाउ, बाजा गाजाले जुनिभरीलाई के ऋण डुब्नु ।’

स्याउको पोलेथिन समातेर स्कुटरको डिकीमा राखी । स्कुटर स्टार्ट गर्दै भनी, ‘जिन्दगी उनको निर्णय उनको बनाउन्छन् खान्छन् । ’ उसको स्कुटर अगाडि बढ्यो ।

सीताले घर छोडेर तीनदिन जङ्गल मै बिताएकी थिई । संयोग नै मान्नुपर्छ कुनै मान्छेको देखा परिन । मान्छेसँग विश्वास नभएरै त उसले घर छोडेकी हो । जनावरसँग ऊ त्यसकारण डराइन कि जनावरले बलत्कार गरेको घटना उसले सुनेको थिइन । जनावरले त उसलाई सक्दो सहयोग पो गरे । बाँदरले एक हाँगाबाट अर्को हाँगा हाम फाल्दा अमलाका दानाहरू खस्थे । तिनै अमला र हर्रोका दाना चपाएर उसको सास बचेको थियो । उसलाई ती जङ्गली फलहरू मिठा लागेका थिए । त्यो बेला उसलाई लागेको थियो, जीन्दगीमा भोग नै सबैभन्दा शक्तिशाली चिज रहेछ । चाहे त्यो पेटको भोग हो कि रेट (मूल्य) को ।

बाँदरले हल्लाएका रूखका पातसँगै उसका ह्रदयका तारहरू पनि हल्लिएका थिए, निस्केको थियो एउटा आलाप । चरा जस्ता जीवनका अभिलाषहरू उड्दै उडदै गएर अल्झिएका थिए, मानब अस्तित्वमा । चौथो दिन उसले जङ्गल छोडेर गाँउमा प्रवेश गरी । बस्तीका छाप्राहरू हेर्दा मान्छेको हैसितय सजिलै बुझ्न सकिन्थ्यो । तिनीहरू हातमुख जोर्न दिनभरी मेहनत गर्छन र साँझ अगेनो बल्छ भन्ने ।

मैले चश्मा समातेर दायाँ आँखाको चश्माको सिसा निकालिदिएँ । मेरो हर्कत देखेर बा जिल्ल परे तर उनी केही बोलेनन् । मैले आफैं चश्मा बाको आँखामा लगाइदिँदै भनेँ, ‘कस्तो देखियो बा ? ’ उनले भने, ‘हो अब सन्तुलन मिल्यो । दृश्यहरू सफा देखिए ।’

हो, त्यही बस्तीको एक छाप्रोमा भएको हो रावण र सीताको भेट । रावणले सीतालाई देख्दा स्तब्ध भएको थियो । उसको मुखबाट कुनै शब्द नै निस्केन । जीवन भोगेर स्नातकोत्तर पास गरेको जस्तो बनेको थियो सीताको अवस्था । आँखाका परेलाहरू सुन्निएका थिए । ओठहरू भोकले कलेटी परेका थिए भने शरिर शिथिल भएको थियो । जिङ्रिङ्ग परेको कपालले अनुहारको चायापोतो झन् चम्केको थियो । उसको हभिगत देखेर रावणलाई यो सपना हो कि विपना छुट्याउन धौधौ परेको थियो । बिरानो बस्तीमा आफ्नो क्याम्पसको सखी भेटिँदा सीताका लागि भगवान नै अवतार भएजस्तो महसुस भएको थियो । उसले आफ्नो कमजोर मनलाई थामिराख्नै सकेन । ऊ दौडेर रावणको अंगालोमा बाँधिई । डाँको छोडेर रून थाली । तब रावणलाई ज्ञात भएको थियो कि यो विपना नै हो भन्ने । ऊ खुब रोई । अव्यक्त रूपमा आफ्नो भोगेको नारकीय पीडा भनिरही ।

रावणले आँशु पुछिदियो । अन्तिममा भन्यो, ‘सीते, नरोउ ! स्वास्नीमान्छेले रोएको सुहाउँदैन ।’ रावण त्यसताका एउटा एनजीओमा जागिर गर्थ्यो । फिल्डमा गएर गर्भपतन, बन्ध्याकरण र गर्भ निरोधक साधनको बारेमा कार्यक्रम गर्थ्यो । गाउँमा निशुल्क कण्डम बाँड्थ्यो । त्यसैले केटाकेटीले उसको नाम राखेका थिए, ढाल दाइ । हो, जनसङ्ख्या रोकथामको लागि ढाल नै बनेको थियो ऊ ।

सीतासँग बिहे गरेपछि पनि उसले सातवर्ष त्यही संस्थामा काम गर्यो । त्यतिन्जेल उसकी एक छोरी भैसकेकी थिई । छोरीको अनुहार हेरेर ऊ खुब खुसी भएको थियो । छोरीको निधारमा म्वाँइ खाँदै उसले भनेको थियो, ‘यो त सेम टु सेम आमाजस्तै पो भइ त । छोरीको शील स्वभाव पनि तिम्रो जस्तै बनाउ है सिते ।’

अर्को सन्तानको लागि उसले सितेलाई मजबुर गरेन । बरू उसले भन्यो, ‘कामिलो सन्तान भए, एक पनि करोडौँको जस्तो काम गर्न सक्छ । किन चाहियो अर्को ? ’छोरीको नाम उनले सिरा राखेको थियो । सिराको अर्थ शरिरमा रक्तसन्चार गराउने नसा हुन्छ । तर उनले शब्दको कोशमा अर्थ खोजेका थिएनन् । सीताको पहिलो अक्षर र रावणको पहिलो अक्षरबाट राखेका थिए छोरीको नाम सिरा । उनीहरूको सिरा नै बनेकी थिइ, सिरा ।

सीता गर्भवती भएदेखि सुत्केरी हुँदासम्म घरको काम सबै उसैले गर्यो । एकदिन टाउको दुख्यो भनेर सीता सुतेकी थिई । छोरी रोइरहेको देखेर रावणले लोरी गाउँदै छोरी खेलाउँदै थियो । उसको पाइन्टमै छोरीले आची गरी । सीता दुखेको टाउकोमा रूमाल बाँधेर छोरी सफा गर्न आउँदा उसले भन्यो, ‘बाउहरू जिम्मेवारीका अर्को नाम हो रे । मलाई छोरीप्रतिको जिम्मेवारी पुरा गर्न देउ । ‘ हो, उसले धेरैपल्ट रोएको छ, छोरीका आची गरेका लुगाहरू ।

एक महिनासम्म बिदा लियो अफिसको । सीतालाई कोठाबाट बाहिन आउनै दिएन । रावण गाँउदेखि घरसम्म सबैको भगवानजस्तै बनेको छ । उसकी छोरी सात वर्षकी भइसकेकी थिई । गाँउकै सरकारी स्कुलमा पढ्छे तीन कक्षामा । ज्ञानी थिई केटी । स्कुलबाट घर पुगेर भन्थी, ‘मामु, म साग काट्छु तपाई पिठो मुछ्नुस् । सबै मिलेर काम गरे कम समय लाग्छ । ‘

घरको काममा रावणले पनि बरोबर सघाउँछ । बिहान सीताभन्दा पहिले नै उठ्छ रावण । मोर्निङ वाकबाट फर्केर आफैं चिया बनाएर कोठामा जान्छ । सिरा र सीतालाई उठाउँछ ।

रावणका अगाडि सीता सधैँ पराजित हुन्छे । तर पराजित हुनुमा पनि उसलाई विजयको भन्दा बढी खुसी प्राप्त हुन्थ्यो । सायत सीताले खोजेको प्यार त्यही थियो ।

बा’ले भने, ‘यो आँखाले प्रस्ट देखियो डाक्टर सा’ब । सबै शब्द र अक्षर चिने । बा’को अनुहारमा सय वाटको बत्ती बल्यो । उनले किताब बन्द गरेर डाक्टरतिर बढाए । डाक्टरले किताब टेबलमा राखेर एउटा चिटमा लेखेर बाको हातमा कागत थमाएर भने, ल काउन्टरबाट यो औषधी र चश्मा किनेर लगाउनुस् । आँखाको ख्याल गर्नुस् है । मैले डाक्टरलाई धन्यवादसहित नमस्कार गरेँ । चश्मा किनेर हामी गेटबाट बाहिर आयौं । बालाई चश्मा राम्रो सुहाएको थियो ।

आधा घण्टापछि बाले भने, ‘कान्छा, बायाँ आँखाले त अहिले बरोबर देख्दैछु । तर दायाँ आँखाबाट आँशु आउँदैछन् । पावर बढी भएर पो हो कि रिँगटा लाग्दै छ । म त यो चश्मा धेरै दिन लगाउन सकुँलाजस्तो छैन ।’

के गर्ने ? के नगर्ने म दुविधामा परें । बायाँ आँखाले देख्ने भए पनि दायाँ आँखाले तकलिफ पाइरहेको थियो । मेरो दिमागमा एउटा आइडिया आयो । उसै पनि बा’ले धेरैदिन चश्मा नलाउने उर्दी दिइसकेका थिए । मैले चश्मा समातेर दायाँ आँखाको चश्माको सिसा निकालिदिएँ । मेरो हर्कत देखेर बा जिल्ल परे तर उनी केही बोलेनन् । मैले आफैं चश्मा बा’को आँखामा लगाइदिँदै भनेँ, ‘कस्तो देखियो बा ?’

उनले भने, ‘हो अब सन्तुलन मिल्यो । दृश्यहरू सफा देखिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment