Comments Add Comment

जाडोसँगै बढ्यो बिजुली जाने समस्या

२७ मंसिर, काठमाडौं । पछिल्लो दुई हप्तामा काठमाडौंका विभिन्न क्षेत्रमा अनियमित रुपमा लाइन जाने समस्या बढेको छ ।

साँझमा विजुली जाने क्रम बाक्लिएकाले समस्या परेको कुलेश्वरकी भारती बास्तोला बताउँछिन् । बानेश्वरमा कफी पसल चलाएका संगम भट्टराई दिउँसो पनि पटक-पटक बत्ती जाँदा ब्यापार घट्ने अवस्था भएको बताउँछन् ।

टेकु, कालिमाटी, कलंकी क्षेत्रमा पनि समस्या उस्तै छ । रिंगरोड आसपासको क्षेत्रमा विजुली काटिने समस्या अझ धेरै छ । दिउँसो २-४ घण्टा नै बिजुली अलप हुन थालेपछि स्थानीयले ‘अघोषित लोडसेडिङ’ भन्न थालेका छन् । कतिले यसलाई कुलमान घिसिङको बहिर्गनमनसँग जोडेर समाजिक सञ्जालमा चर्को प्रतिकृया दिइरहेका छन् ।

नेपाल विद्युत प्राधिकरण भने हिउँदमा लोड (माग) बढ्दा वितरण र प्रसारणलाइनमा समस्या भएर झ्याप्प-झ्याप्प बिजुली जाने समस्या आएको बताउँछ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार अहिले विभिन्न क्षेत्रमा झ्याप्प-झ्याप्प लाइन जानुको फरक कारण छन् । रिंगरोड आसपासका क्षेत्रमा सडक विस्तारको कामका लागि बिजुली काट्नु परेको उनले बताए । प्रणाली सुधार गर्दा पनि बिजुली जाने गरेको शाक्यले बताए । उनकाअनुसार बानेश्वरमा भर्खरै १७ एमभीए ट्रान्सर्फमर हटाएर ३० एमभीए क्षमताको राखिएको छ । ‘त्यहाँ ट्रान्सर्फमर फेरिसकेपछि पनि केही प्राविधिक समस्या देखिदा लाइट कटिएको हो,’ उनले भने, ‘अब बानेश्वर क्षेत्रमा लाइन जाने समस्या कम हुन्छ ।’

स्युचाटार क्षेत्रमा पनि प्रणाली सुधारका लागि स्विच गेयरहरु फेर्ने काम सकिएको बताए । ११ केभी लाइनमा पटक-पटक समस्या देखिएपछि पुराना सबै स्वीच हटाएर नयाँ जोडिएको उनको भनाइ छ ।

जाडो मौसममा हिटर, एसी, इलेक्टि्रक गिजर लगायत विजुली धेरै खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसले स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरको क्षमताभन्दा बढी विजुली खपत हुने अवस्था आउँछ । वितरण प्रणालीमा चाप परेर ट्रान्सर्फमर बिग्रन्छ ।

प्रणाली सुदृढ बनाउन ट्रान्सर्फमरहरु फेर्ने काम नियमित चलिहरेको प्राधिकरण बताउँछ । विगतदेखि नै जाडो याममा लोड बढेर माग धान्न नसकेपछि वितरण लाइनका ट्रान्सर्फमर पड्कने समस्या दोहोरिरहेको छ ।

तर मागअनुसार वितरण गर्न बिजुली अभाव नभएको कामु कार्यकारी निर्देशक शाक्य बताउँछन् ।

प्राधिकरणको पुरानो प्रणालीलाई स्तरोन्नति नगरेसम्म यस्तो अनियमित रुपमा बिजुली काटिने समस्या समाधान गर्न कठीन हुने उनी बताउँछन् । बिजुली काटिने समस्या समाधानका लागि तार भूमिगत गर्ने लगायतका काम पनि भइरहेको कामु कार्यकारी निर्देशक शाक्य बताउँछन् । हरेक वर्ष लोड बढ्दै गएकाले प्रणाली बलियो बनाउनुको विकल्प नभएको उनले बताए ।

गतवर्षको जाडो मौसममा काठमाडौं उपत्यकामा ४५० मेगावाटको पिक लोड रेकर्ड भएको थियो । काठमाडौंका वितरण प्रणाली ५०० मेगावाट मात्र धान्न सक्ने खालको छ । यो वर्ष ४७५ मेगावाटसम्म पिक डिमान्ड पुग्ने प्राधिकरणको आँकलन छ । अहिले ३९८ मेगवाटसम्म डिमान्ड पुगेको छ । जाडो बढ्दै जाँदा मागको दर पनि बढ्दै जान्छ । पोहोरको भन्दा बढी डिमान्ड आए चाबहिल र टेकु क्षत्रेमा लाइन जाने समस्या बढ्नसक्ने शाक्य बताउँछन् ।

तर गतवर्ष जस्तो समस्या नहुने उनको दाबी छ । यो वर्ष कोरोना महामारीका कारण लोड उच्च नभएकाले प्रणालीमा धेरै समस्या नहुने उनको आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment