Comments Add Comment

माधव नेपाल भन्छन्– ओलीले जबजसँग प्रधानमन्त्री साटे

२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद पाउन ओलीले जबज साटेको आरोप लगाएका हुन् ।

‘जनताको बहुदलीय जनवाद छाड्ने व्यक्ति को ? केपी शर्मा ओली जी,’ नेता नेपालले भने, ‘प्रचण्डजीसँग प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोड्ने व्यक्ति इतिहासमा दर्ज गर्नु पर्ने हो भने केपी शर्मा ओली जी नै हो ।’ पूर्वप्रधानमन्त्री नेपालले  त्यसको प्रमाण आफूसँग भएको पनि बताए ।

यो पनि पढ्नुहोस जबजमाथि ओली–प्रचण्डको दुईतर्फी प्रहार

पार्टीमा ओलीले नेतृत्व हस्तान्तरणको विषय उठाए पनि त्यसलाई विश्वास गर्ने आधार नभएको नेता नेपालले बताए ।

अहिले ओलीकै कारण पार्टीमा समस्या आएको पनि नेपालको भनाइ छ । ओली र उनी निकटका व्यक्तिहरुमा मै सर्बेसर्बा भन्ने अहंकार र अरुलाई अपमान गर्ने प्रवृत्ति रहेको आरोप लगाउँदै नेता नेपालले भने, ‘झूठका पुलिन्दा गर्न सिपालु, सबै कूकर्म गर्न सिपालु, उहाँ र उहाँसँग लागेका मान्छे संस्कारहीन मानिसहरु छन् । असंस्कारी, कूसंस्कारी भन्न सकिन्छ । त्यसमा धैर्यता छैन, संयम् छैन, आत्मालोचना दृष्टिकोण छैन, जनताका गुनासा, आलोचना असन्तुष्टि सुन्ने धैर्यता छैन । मै सबैथोक जान्ने सर्बेसर्बा भन्ने अहंकार छ । अरुलाई अपमान गर्ने प्रवृत्ति छ । अरुलाई मानमर्दन गर्दा रमाउने प्रवृत्ति छ ।’

ओलीले आफू जनताबाट प्रधानमन्त्री र अध्यक्ष निर्वाचित भएको भनेर असत्य कुरा गरिरहेको पनि नेता नेपालले बताए । ‘म अध्यक्ष निर्वाचित भएर आएको भनेर भनेको सुन्नुहुन्छ तपाईं, म प्रधानमन्त्री जनताले मलाई निर्वाचित गरेर आएको भन्ने सुन्नुहुन्छ तपाईं । यी सबै तथ्यपूर्ण छन् कुराहरु ? होइन,’ नेपालले भने ‘जनताले सबै व्यक्तिलाई जिताएको हो । पार्टीले प्रधानमन्त्री बनाएको हो । पार्टीको संसदीय दलले प्रधानमन्त्री चुनेर नेता तय गरेको हो र त्यो प्रस्ताव गर्नेमध्ये म पनि हुँ एउटा । त्यो त सम्झिनुपर्यो नि ।’

आफूले चाहेको व्यक्ति नियुक्त गर्न नपाउँदा सरकारको काममा असर परेको भन्ने ओलीको भनाइबारे राखिएको जिज्ञासामा नेता नेपालले ओलीले छाडा ट्वीट गर्ने व्यक्तिहरु नियुक्त गरेको आरोप लगाए । ‘छाडा ट्वीट लेख्ने व्यक्तिहरुको नियुक्ति भएको छ । यी एकएक व्यक्तिहरुको सबैको कुकर्म गरेकाहरुको मसँग प्रमाण छ ।’

ओलीले मुख्यमन्त्री र मन्त्री नियुक्ति गर्दा पनि विभेद गरिएको आरोप पनि नेता नेपालले लगाए । ‘युवराज ज्ञवाली अगाडि हो कि शंकर पोखरेल अगाडि हुन्छ ? अष्टलक्ष्मी शाक्य अगाडि कि डोरमणि अगाडि ? भीम आचार्य अगाडि कि शेरधन राई अगाडि हुन्छ ?’ नेपालले भने, ‘उहाँहरु किन फिट हुनुभएन ? उहाँहरुको ब्लड टेस्ट गरिएछ, खकार टेष्ट भएछ, डिएनए टेस्ट गरियो । सबै माधव नेपालसँग मिल्यो, केपी ओलीसँग मिलेन ।’

नेता नेपालले ओलीलाई पार्टीका अधिकांश मान्छेहरुको विश्वास जित्न र सरकार चलाउन सुझावसमेत दिए ।

माधव नेपाललाई विगतमा पार्टीका दुई अध्यक्षले पाखा लगाएको सन्दर्भमा राखिएको जिज्ञासामा नेता नेपालले त्यसमा प्रचण्डको दोष नभएको बताए । तर दुईटा अध्यक्षबीचको सहमति नै पार्टीको सहमति नहुने उनले बताए । नेता नेपालले भने, ‘के यो दुईटा अध्यक्षको प्राइभेट लिमिटेड कम्पनी हो ? या पूर्वएमाले भनेको हाम्रो केपी शर्मा ओलीजीको प्राइभेट लिमिटेड कम्पनी हो ?’

नेता नेपालले ओलीले नै निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न लगाएको आरोपसमेत लगाए । तर त्यो धम्कीको लागि मात्रै भएको बताउँदै नेपालले ओलीलाई पार्टीको माया भए नेकपा छोडेर एमालेमा नजाने बताए ।

‘त्यो धमासको लागि हो, धम्कीको लागि हो । उहाँले के बुझ्नु भएको छ भने सबै डरपोकहरु, कायर छन्,’ नेता नेपालले भने, ‘उहाँलाई पार्टीको माया छ भने आन्दोलनको माया छ भने उहाँ जानु हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment