+
+
Shares

सुसनको परिवारले प्रधानमन्त्रीलाई भेट्यो 

प्रधानमन्त्रीले भने– हल्लाको पछि नलाग्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते ११:१७
फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको उनका पति लक्षमण कृष्ण राजभण्डारीले जानकारी दिएका छन् ।

सुसन कर्माचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी हुन् । उनी हाल याम्बलिङ हाइड्रोपावरको अध्यक्षम पनि छिन् ।

कमानसिंह लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए । साथै एकअर्कालाई मिलाउन भूमिका खेलेका नारायणकाजी श्रेष्ठलाई पनि यो विवादमा मुछिएको छ ।

यसै सन्दर्भमा कुरा गर्न कर्माचार्य आफ्नो श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार गएकी थिइन् । प्रधानमन्त्री ओलीसँग दिउँसो ३ बजेदेखि ३ः४५ बजेसम्म यस विषयमा कुराकानी गरेको कर्माचार्य परिवारले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले ‘गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडिu लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ’ भनेर सम्झाएको सुसनका पति लक्ष्मणले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

साथै मानसिंह लामाले यसबारे आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही सहयोग गर्न सक्ने भए त्यता कुरा गर्न सुझाव पनि दिएको लक्ष्मणले उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो । उहाँले श्री कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो,’ लक्षमणले फेसबुकमा लेखेका छन् ।

लक्ष्मण थप लेख्छन्, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरुले जे पनि लेख्छ यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?