Comments Add Comment

नाइजेरियाको विद्यालयमा आक्रमण : तीनसय बढी विद्यार्थी अझै बेपत्ता

फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । नाइजेरियाको उत्तरपश्चिमी राज्य काट्सिना राज्यको एक माध्यमिक विद्यालयमा हतियारधारीले गरेको आक्रमणपछि विद्यालयका तीन सयभन्दा धेरै विद्यार्थी बेपत्ता भएका छन् । गत शुक्रबार मोटरसाइकलमा आएका हतियारधारीले छात्रहरु मात्र पढ्ने उक्त सरकारी विद्यालयमा आक्रमण गरेका थिए । त्यसपछि उनीहरुको सुरक्षाकर्मीहरुसँग भीडन्त भएको थियो । विद्यालयमा भीडन्त भएपछि त्यहाँबाट विद्यार्थीहरु भागेर नजिकैको जंगलमा लुकेका थिए ।

‘अझै पनि ३३३ विद्यार्थीहरु सम्पर्कमा आएका छैनन्’, काट्सिनाका गर्भार अमिनु मासारीले बताए । उक्त विद्यालयमा समग्रमा ८३९ विद्यार्थीहरु थिए । अहिले कति विद्यार्थीहरु अपहरणमा परे भन्ने तथ्यांक खोज्ने काम भइरहेको मासारीले बताए । यसैबीच आइतबार हराएका विद्यार्थीका अभिभावकहरु विद्यालयमा जम्मा भएका थिए । उनीहरुले आफ्ना बालबालिकाहरुलाई सुरक्षित फिर्ता ल्याउन सरकारसँग आग्रह गरेका थिए ।

नाइजेरियाका रक्षामन्त्री मेजर जनरल बासिर सालिही–मागासले गभर्नर मासारीसँग भेटेर अपहरणमा परेका विद्यार्थीहरुलाई विना कुनै क्षति फिर्ता ल्याइने बताएका छन् ।

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन । साथै यो क्षेत्र बोको हरामको नियन्त्रणमा रहेको क्षेत्रभन्दा पनि निकै टाढाको क्षेत्र हो । शुक्रबारको आक्रमणसँगै कट्सिनाको सबै विद्यालयहरु बन्द गरिएको छ । आक्रमणकारीहरुको उद्देश्य स्पष्ट नभएको कारण सबै विद्यालयहरु बन्द गरिएको अधिकारीहरुले बताएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment