Comments Add Comment

देउवाको भाषणको अर्थ : ओली सरकारबाट देशलाई मुक्ति !

केपी ओली राजावादीसँग मिलेको हुन सक्ने देउवाको आशंका

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर ओली सरकारको विरोधमा शक्ति प्रदर्शन गर्‍यो । कोरोना महामारीकै वीचमा आयोजित विरोध प्रदर्शनहरुमा उल्लेख्य जनसहभागिता देखिएको भन्दै कांग्रेस नेताहरु उत्साहित देखिए ।

के अब नेपाली कांग्रेसले ओली नेतृत्वको सरकार ढाल्नै चाहेको हो त ? वा उसले प्रतिपक्षको धर्म निभाएर बहुमतको सरकारले गरेका कामहरुबारे खबरदारी मात्र गरेको हो कि ? आखिर सडकमा ओर्लिएको कांग्रेस के चाहन्छ ?

नेकपा सरकारबारे नेपाली कांग्रेसको अबको ‘मुभ’ के हो भनेर जान्न कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार हेटौंडामा गरेको १० मिनेटको भाषणलाई केलाउनुपर्ने हुन्छ ।

आफ्नो भाषणमा देउवाले ओली सरकारबाट नेपाली जनताले मुक्ति चाहेको बताएका छन् । देउवाले सोमबारको भाषणमार्फत अब गणतन्त्रको रक्षाका लागि भए पनि ओली सरकार ढाल्नुपर्ने संकेत गरेका छन् ।

केपी ओलीले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै देउवाले सरकारको चर्को आलोचना गरे । आफूले यसअघि नै कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाइने छैन भनेको स्मरण गर्दै देउवाले भने, आज कोही रोयो भयो किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

राजावादीसँग केपी ओली मिलेको देउवाको आशंका

कांग्रेस सभापति देउवाले कम्युनिस्ष्ट सरकारकै कारण सडकमा राजा आउ देश बचाउको नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंकासमेत गरे ।

साथै, देउवाले गणतन्त्रलाई स्थायी बनाउन र सुदृढ पार्न ओली सरकारबाट जनताले मुक्ति चाहेको समेत बताए । उनले भने, ‘गणतन्त्र आइसक्या छ । गणतन्त्रलाई ठीक पार्ने, राम्रो गराउने । ओलीको सरकारबाट मुक्त गरायो भने गणतन्त्र राम्रो भएर जान्छ । यसमा हामी लागौं ।’

गणतन्त्र आइसक्या छ । गणतन्त्रलाई ठीक पार्ने, राम्रो गराउने । ओलीको सरकारबाट मुक्त गरायो भने गणतन्त्र राम्रो भएर जान्छ । यसमा हामी लागौं । गणतन्त्रलाई स्थापित गराऔं । निस्पक्ष गणतन्त्र, जनतामा जिम्मेवार गणतन्त्रलाई अगाडि लैजाऔं ।

सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

उनले अघि भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’ प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा राजालाई आफूलाई थुनेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफहरु गणतन्त्रको पक्षमा उभिएको बताए ।

‘कम्युनिस्ट सरकारका कारण बलात्कार बढ्यो’

कम्युनिस्ष्ट सरकारका कारण भ्रष्टाचार र बलात्कारका घटना बढेको देउवाको आरोप छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय हुँदासम्म अपराधी पक्राउ नपरेको भन्दै देउवाले भने, शुन्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म हत्यारालाई पक्राउ गरेको छैन । उसको पार्टीको मान्छे संलग्न छैन भने किन पक्राउ गर्दैन ?’

आफूले प्रधानमन्त्रीलाई कोरोनाविरुद्धको लडाइँमा विनाशर्त सहयोग हुन्छ भनेको स्मरण गर्दै कांग्रेस सभापति देउवाले भने, तर कोरोनामा पनि भ्रष्टाचार गर्ने काम गरेका छन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कोरोनाको जोखिम रहेका बेला यसरी जनता भेला गर्ने, दुःख दिन नचाहेको तर बाध्य भएर विरोधसभा गरेको भन्दै क्षमासमेत मागे ।

देउवाको भाषणको सम्पादित अंश

वास्तवमा सडकमा भेला गराएर जनतालाई अप्ठ्यारो पार्ने हाम्रो उद्देश्य होइन । यातायात बन्द.. त्यो पनि हाम्रो उद्देश्य होइन । तर, बाध्य भएर हामीले आन्दोलन, विरोधसभा गरिरहेका छौं । यो बाध्यात्मक कुरा हो । हामीले केही गरेनौं भने पनि गरेन भन्छन्, गर्‍यो भने पनि यस्तो भदिन्छन् ।

प्रजातन्त्रका नाममा ढुंगा हान्ने, मानिसलाई दुःख दिने, पसलहरु बन्द गराउने, सडकहरु बन्द गराउने, सडकमै आमसभा गर्ने हाम्रो उद्देश्य होइन । तर, आज हामी बाध्य भएर गरिरहेका छौं । यसमा नेपाली कांग्रेसका तर्फबाट म सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुमा माफी चाहन्छु ।

मैले कम्युनिस्ट पार्टी एक हुँदाखेरि भनेको थिएँ, कम्युनिस्टहरुले जितेपछि बोल्न पाइने छैन । हाँस्न पाइने छैन । रुन पनि पाइनेछैन भनेको थिएँ मैले । आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन । रुन थाल्यो भने पक्रेर लैजान्छ । चाहे कोरोनाले रोओस् वा जुनसुकै कारणले रोओस् । यहाँ रुनु पनि आफ्नो खिलाफमा लाग्छ ओलीलाई । त्यस्तो किसिमको अवस्था छ आज ।

एकदलीय सर्वसत्तावादी शासन लागु गरेको छ कम्युनिस्टको सरकारले । त्यसैकारण आज हाम्रो अगाडि धेरै ठूलो चुनौती छ । चुनौतीको सामना पनि आज हामीले गर्नुछ ।

मैले ओलीलाई भनेको थिएँ, कोरोना संक्रमण रोक्नका लागि तपाईलाई हाम्रो विनाशर्त सहयोग रहन्छ । हामीले हाम्रो तलबको पनि आधा भाग दियौं । दसैं खर्च पनि हामीले सरकारलाई बुझायौं । कम्युनिस्ट माननीयहरुले दिन बाध्य भए । मैले भनेको थिएँ कोरोनासँगको लडाइँमा हाम्रो पूरा पूरा साथ रहन्छ । तर, उनीहरुले त कोरोनामा पनि घुस खाने काम गरिरहेका छन् ।

आज ओलीको सरकार बनेपछि, कम्युनिस्टको सरकार बनेपछि यति बलात्कारहरु भएका छन्, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या भएको छ । शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म हत्यारालाई पक्राउ गरेको छैन । पक्डनै चाहँदैन ।

उसको पार्टीको मान्छे संलग्न छैन भने किन पक्राउ गर्दैन ? यसबाट स्पष्ट हुन्छ, आज बलात्कारका घटना बढेका छन् भने ओली सरकारको कारणले बढेका छन् । कम्युनिस्ट सरकारका कारणले बढेका छन् ।

आज देशमा सरकारले एकतर्फी शासन, एकलौटी शासन, जनतालाई बोल्ने/लेख्ने अधिकार, संगठन गर्ने अधिकार, विरोध गर्ने अधिकारसमेत बन्द गर्न खोजिरहेको छ । हामीले कुनै सर्वसत्तावादी सरकार ल्याउनका लागि आन्दोलन गरेको होइन । हामीले स्वतन्त्रताको पक्षमा लडेर ल्याएको व्यवस्था हो यो ।

त्यसैकारण हामीले आज देशव्यापी रुपमा यो प्रजातन्त्रका लागि, कोरोनाबाट मुक्त गराउनका लागि र प्रजातन्त्रका मूलभूत उद्देश्यहरुमा जुन आक्रमण भइरहेको छ, त्यसका लागि हामीले लडाइँ अगाडि बढाइराखेका छौं ।

अहिले कोरोनाको महामारीका बेलामा हामीले जुन मिटिङ ग¥यौं, जसमा यत्रो संख्यामा आउनुभएकोबाट थाहा हुन्छ कि जनता आज कम्युनिस्टको सरकारबाट वाक्क भइसकेका छन् र मुक्ति चाहन्छन् । त्यसैले हामीले मुक्त पार्नका लागि देशैभरि आन्दोलन गर्नुपर्ने बाध्यता छ ।

अर्को कुरा अहिले राजा आऊ, देश बचाऊ भनेर हिँड्दैछन् । यसमा पनि बोल्नुपर्ने मैले आवश्यक ठानेको छु । किन राजा आऊ देश बचाऊ भनिँदैछ ? तपाईहरु एउटा कुरा सुन्नोस् है, राजालाई मैले भनेको थिएँ, सरकार प्रजातन्त्रको खिलाफमा कुनै हालतमा जान्नँ । अरु केके सहयोग गर्नुपर्ने हो तयार छु, तर प्रजातन्त्रको खिलाफमा जान्न भन्दा मलाई थुनेर राख्दियो ।

राजा ज्ञानेन्द्रले जेल हाले पनि निस्पक्ष र हिम्मतदार अदालत थियो, त्यसले मलाई छोड्यो । तर, अहिले त अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजिँदैछ । त्यसकारण निष्पक्ष, स्वतन्त्र न्यायपालिकालाई स्थापित गर्नका लागि पनि हामीले अगाडि बढ्नु छ ।

अहिले आएर राजाआऊ देश बचाउ भन्दैछन्, यो पनि कम्युनिस्ट सरकारकै कारणले हो । ओली नै राजाँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ? यी कहाँ थिए ? अहिले कहाँबाट आए ? अहिले राजा आऊ देश बचाउन भनेर हिँडिराखेका छन्, यसमा यसमा कम्युनिस्ट सरकार जिम्मेवार छ ।

त्यसकारण म स्पष्ट भन्न चाहन्छु यो गणतन्त्र ल्याउने राजा नै हुन्, हामीले ल्याएको होइन । २००७ सालमा भागेर गएका राजा त्रिभुवनलाई हामीले फर्कायौं । तर, तिनीहरुले प्रजातन्त्र सहँदै सहेनन् । त्यसकारण बाध्य भएर गणतन्त्र ल्याएका हौं । अब राजा फर्कने सम्भावना छँदैछैन ।

तैपनि राजा आऊ देश बचाऊ भनेर कराइराख्या छन्, यो पनि ओलीकै कारणले । यस्ता तत्वहरु आज किन अगाडि बढिराखेका छन् भने ओली सरकारको कारणले हो ।

कसैलाई भ्रम नहोस् । राजा फेरि फर्केर आउनेवाला छैन । यो आन्दोलन भएको ओली सरकारका कारणले हो । ओली सरकारबाट आजित भएर जनता बाध्य भएका हुन सक्छन् ।

हामी संघीय गणतन्त्रतात्मक शासन व्यवस्थाका पक्षमा छौं । हाम्रो पार्टीबारे कसैलाई पनि शंका नहोस् है । गणतन्त्र आइसक्या छ । गणतन्त्रलाई ठीक पार्ने, राम्रो गराउने । ओलीको सरकारबाट मुक्त गरायो भने गणतन्त्र राम्रो भएर जान्छ । यसमा हामी लागौं । गणतन्त्रलाई स्थापित गराऔं । निस्पक्ष गणतन्त्र, जनतामा जिम्मेवार गणतन्त्रलाई अगाडि लैजाऔं ।

देश र सम्पूर्ण नेपालीहरु, आदिवासी, दलित, जनजाति सबैलाई अटाएको यो राम्रो व्यवस्था छ । समावेशी व्यवस्था छ । त्यसकारण यो व्यवस्थालाई अझ प्रजातान्त्रीकरण गराएर, कम्युनिस्ट शासनबाट मुक्त गराउने यही काममा हामी लागौं ।

नेपालमा अहिले जुन संविधान छ, यसलाई सुदृढ गरेर सफल पार्ने हो भने यसमा कम्युनिस्टको शासनबाट मुक्त गराउन सकियो भनेदेखि सम्पूर्ण गणतन्त्रतात्मक लोकतान्त्रिक शासन नेपालमा स्थायी हुन्छ ।

लोकतन्त्र भनेको हामी सुधार हुन सक्ने प्रणाली हो । हामीमा केही कमजोरीहरु छन् भने हामी सुधार्छाैं । आजै देखियो नि, यत्रो आमसभा । जनता कहाँ छन्, जनता त कांग्रेससँग छन् । नेपाली कांग्रेस भनेको प्रजातन्त्रको अग्रणी पार्टी हो । त्यसकारण, प्रजातन्त्रमा कुनै पनि अधिकार खोसियो भने हामी आन्दोलन गर्नुपरे आन्दोलन गर्छौं । कम्युनिस्ट सर्वसत्तावादी शासन कुनै हालतमा स्वीकार गरिँदैन ।

अहिले कोरोनाको समस्या छ । म सबै साथीहरुलाई भन्छु, सकेसम्म डिस्ट्यान्स मेन्टेन गर्नोस् । मास्क लगाउनोस् । फाइदै हुन्छ । कोरोना मुक्त गर्न हाम्रो पनि हात छ ।

ओली सरकार नढल्दा कांग्रेसलाई फाइदा !

पछिल्लो समयमा केपी शर्मा ओलीले प्रधानमन्त्री दि छाड्नुपर्ने माग सत्तारुढ नेकपाभित्रैबाट उठिरहेको छ । तर, यसबारेमा प्रतिपक्षी नेपाली कांग्रेस मौनजस्तै रहँदै आएको थियो । जनताले बहुमत दिएको हुनाले सरकार ढाल्ने खेलमा नलाग्ने कांग्रेस नेताहरुले बताउँदै आएका थिए ।

यसैबीच अघिल्लो साता बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल र विमलेन्द्र निधिले ओली सरकार पूर्णरुपमा असफल भएको भन्दै अब कांग्रेसले ओलीको विकल्प चाहेको संकेत गरेका थिए ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका एक उच्च नेतालाई अनलाइनखबरले सोध्यो, तपाईहरु बहुमतको सरकारविरुद्ध सडकमै उत्रिनुभयो, विपक्षीको धर्म अनुसार सरकारका कामको आलोचनाका लागि मात्रै सडकमा आउनुभएको हो कि सरकार ढाल्न खोज्नुभएको ?

जवाफमा कांग्रेस नेताले भने, ‘केपी ओलीको सरकार नढल्दा अर्को चुनावमा कांग्रेसलाई फइदा हुन्छ । तर, ओली सरकार ढल्यो भने देशलाई फाइदा हुन्छ । हामी देशलाई फाइदा होस् भन्ने चाहन्छौं ।

ती नेताका अनुसार कांग्रेसको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुशासनको पक्षमा छ । कोरोनाको परीक्षण र उपचार निःशुल्क हुनुपर्छ र भ्रष्टाचार रोकिनुपर्छ भन्ने उद्देश्यले आन्दोलन घोषणा गरिएको ती नेताको भनाइ छ ।

सरकार ढले पनि कांग्रेसले पाउँदैन

कांग्रेस सभापति देउवाले कम्युनिस्ट सरकारबाट जनताले मुक्ति चाहेको बताए पनि आगामी चुनावसम्म कम्युनिस्टकै सरकार कायम रहने निश्चित छ । कम्यनिस्ट पार्टीसँग स्पष्ट बहुमत रहेका कारण केपी ओली सरकारबाट बाहिरिए पनि नेकपाबाटै अर्को प्रधानमन्त्री बन्ने निश्चित छ ।

संसदको गणितीय अवस्थाका कारण कांग्रेसको आन्दोलनले आगामी चुनावअघि नै देशलाई ‘कम्युनिष्ट सरकारबाट मुक्त’ बनाउने स्थिति देखिँदैन । यहीवीचमा नेकपा फुट्यो भने कांग्रेससहितको मिलिजुली सरकार बन्न सक्ला, अन्यथा यो सडक आन्दोलनले देउवाले भनेजस्तो ‘कम्युनिस्ट सरकारबाट मुक्ति’ तत्काल सम्भव देखिन्नँ । तर, कांग्रेसले ओली सरकारको विरोधमा बढ्दो जनमतलाई राजावादीतर्फ जान नदिई आफैंले ‘क्यास’ गर्नका लागि भने यो आन्दोलन उपयोगी हुन सक्छ ।

अर्कोतर्फ ओली सरकारविरुद्ध कांग्रेसले थालेको आन्दोलनले नेकपाभित्रैबाट ओलीको विकल्प खोजिरहेको पक्षलाई फाइदा पुग्ने र केपी ओली पार्टीभित्र र बाहिर दुबैतिरबाट घेराबन्दीमा पर्नसक्ने एकथरिको विश्लेषण छ ।

सोमबारको आन्दोलनमा कार्यकर्ता र जनताको उपस्थितिले कांग्रेस नेताहरुलाई उत्साह जगाएको सो पार्टीका नेताहरु बताउँछन् ।

देउवाको भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment