Comments Add Comment

बारपाकमा पुग्यो केन्द्रीय प्रशारण लाइनको विद्युत

२९ मंसिर, गोरखा । भूकम्पको केन्द्रविन्दु बारपाकमा केन्द्रीय प्रशारण लाइनको विद्युत बलेको छ । वालुवा बजारबाट विस्तार गरिएको लाइनमा मंगलबारदेखि विद्युत प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाले जनाएको छ ।

‘वालुवा बजारसम्म केन्द्रीय प्रशारणको लाइन पहिले पुगेको थियो,’ शाखा प्रमुख माधव न्यौपानेले भने, ‘त्यहीबाट ११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म पुर्‍याएका हौं ।’

राङरुङ, मान्द्रे हुँदै बारपाकसम्म करिव दश किलोमिटर लाइन विस्तार गरिएको उनले बताए । उनका अनुसार लाइन विस्तारका लागि ८४५ वटा पोल राखिएको छ । ‘मेन लाइनका लागि २५५ र शाखा लाइन विस्तारका लागि ५९० वटा पोल राखेका छौं,’ उनले भने ।

नेपाल सरकारको ग्रामीण विद्युतीकरण तर्फको कुल तीन करोड रकम खर्चेर बारपाकसम्म लाइन विस्तार गरिएको उनले जानकारी दिए । लाइन विस्तारका लागि लाङ्घाली सप्लायर्स एण्ड निर्माण सेवा धादिङसँग २०७५ सालमा सम्झौता भएको हो । १८ महिनामा काम सक्नुपर्ने भएपनि लक डाउनका कारण केही ढिला भएको कार्यालयले जनाएको छ ।

भोलिदेखि मिटर वितरणको काम शुरु हुने बताइएको छ । ‘पहिलो चरणमा करिव पाँच सय घरधुरीमा बत्ती बाल्ने लक्ष्य छ, घरधनीले वडा कार्यालयमा फर्म भर्नुहुन्छ, त्यही आधारमा हाम्रो प्राविधिक टोलीले घरमा मिटर र लाइन जडान गरिदिनुहुन्छ,’ कार्यालय प्रमुख न्यौपानेले भने । गरिव तथा विपन्न घरधुरीलाइ निशुल्क मिटर वितरण गरिने उनले बताए ।

बारपाकमा केन्द्रीय लाइनको बिद्युत बलेसँगै विद्युत रोयल्टी बढ्ने कार्यालयले जनाएको छ । बारपाकमा एक हजार भन्दा बढी घरधुरी रहेको छ । ‘बारपाक बाक्लो जनघनत्व भएको एरिया हो, त्यहाँ बत्ती बलेपछि बिद्युत रोयल्टी बढ्ने त भइहाल्यो, अर्काे बारपाक आसपासका नदीहरुमा पावर प्लान्ट र हाइड्रो पावर निर्माणका लागि पनि सहज हुन्छ, यसले विद्युत बिकासमा अर्थपूर्ण भूमिका खेल्छ,’ न्यौपानले भने ।

लघु जलविद्युतले ११ केभि लाइनमा जोडेर विद्युत बेच्न समेत सक्ने उनले बताए । मंगलबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले ट्रान्सफर्मरमा जडान गरिएको बत्ती बालेर औपचारिक रुपमा उद्घाटन गरे । यसअघि सोलार र लघु जलविद्युत प्रयोग गर्दै आएका स्थानीय केन्द्रीय प्रशारणको लाइन पुगेसँगै खुशी छन् ।

बारपाकबाट लाप्राकसम्म लाइन विस्तारको काम भइरहेको छ । ‘लाप्राकको नयाँ वस्तीसम्म पोल गाड्ने काम सकिसक्यौ, अव तार टाँग्ने काम बाँकी छ, यही आर्थिक बर्षभित्र लाप्राकमा पनि केन्द्रीय प्रशारण लाइनको विद्युत बल्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment