 
																			१२ वैशाख, बारपाक (गोरखा) । बारपाक केन्द्रविन्दु भूकम्प गएको ठीक दश वर्ष बित्यो । वि.स. २०७२ साल वैशाख १२ गते करिब १२ बजे नै भूकम्प गएको थियो ।
भूकम्पबाट ठूलो क्षति बेहोरेको बारपाकमा १० वर्षको अवधिमा केही अवसर त बने तर धेरै गुमायो ।
ढुंगाले छाएको एकैखाले घरहरुको परम्परागत स्वरुप र संरचना बारपाकले गुमाइसक्यो । आरसीसी भवनहरु हाबी हुन थालिसके । परम्परागत हिल स्टेशन आधुनिक हिल स्टेशनमा बदलिए ।
बारपाककासंरचनाको स्वरुपसँगै सामाजिक संस्कार पनि हराउँदै गएको वडानम्बर १ का अध्यक्ष धनबहादुर घले स्वयं स्वीकार गर्छन् । ‘पुरानो गाउँको सौन्दर्य त हरायो हरायो’, उनी भन्छन्, ‘भाषा र संस्कार पनि धेरै गुमिसक्यो ।’ लगाइखवाइ र रहनसहनसमेत परिवर्तन भएको उनले बताए ।
बारपाकमा अब रोधी छैन । सामूहिक भावना व्यक्तिगतमा बदलिन थालेका छन् । एकअर्का बीचको सामिप्यता घट्दो छ भने मानिसहरु एकलकाटे र स्वार्थी बन्न थालेका छन् ।
खानपानमा पनि भूकम्पले परिवर्तन ल्याइदिएको छ । ढिडो, मकै गुन्द्रुक जस्ता स्थानीय परिकारलाई मःम र चाउमिनले विस्थापित गरिसक्यो । लोकल कुखुराको स्वाद अब बोइलरले मेटाउनुपर्ने बाध्यता छ ।
घरेलु होटलहरु आधुनिक रेष्टुरेष्टमा परिणत हुन थालिसके । बारपाक गाउँ विस्तारै सहर बन्दै छ ।
बस्तुभाउ पाल्ने र खेतीपाती गर्ने क्रम घट्न थालेको स्थानीय दुर्गाबहादुर घले बताउँछन् । भूकम्पले गोठहरु मासिदै गएको र गोठ बस्ने प्रचलन हट्दै गएको उनी सुनाउँछन् । ‘मकै, गौ, कोदो लगाउथ्यो, गाइबस्तु पाल्थ्यो तर अहिले सबै हराउँदै गएको छ’, उनले भने ।
भूकम्पपश्चात बारपाकीहरुमा स्वार्थपन देखिएको ऐरेनी घले बताउँछिन् । भौतिक संरचना फेरिएकै कारण एक अर्काबीचको सामिप्यता घटेको उनको अनुभव छ । नयाँ संरचनाले धनी गरिवबीचको दुरी बढाइदिएको उनको बुझाइ छ । भन्छिन्, ‘भूकम्पअघि सबैको एकनाशे घर थियो, धनि गरिब छुट्टिदैनथ्यो, अहिले संरचना फेरियो, पैसा भाकाले माथि–माथि लगे नभाकाको तल तल भयो । यसले धनी गरिब छुट्याउने र एक अर्काबीच मनमुटाव बढाउने र सामिप्यता घटाउने गरेको छ ।’

बारपाक सुलिकोट गाउँपालिका वडानम्बर १ का पूर्वअध्यक्ष पूर्णबहादुर बिक पनि ऐरेनीको कुरामा सहमत छन् । भाइचारा र सामिप्यता कम हुँदै गएको बताउँदै उनले भने, ‘नाङ्गो आँखाले बारपाकको विकास त देखियो होला तर बारपाकको भित्री व्यथा अर्कै छ ।’
यता बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले परम्परागत शैलीमा बारपाकका घरहरु पुननिर्माण हुन नसकेकोमा दुःख व्यक्त गरे । घरको बाहिरी भागमा ढुंगा टाँसेर भएपनि बस्तीलाई एकरुपता दिने योजना पालिकाको रहेको उनले बताए ।
‘बारपाकको गरिमा नै एकनासे ढुंगाले छाएको घर थियो त्यो भूकम्पले गुम्यो, घरको बाहिरी भागमा ढुंगा टाँसेर भएपनि वस्तीलाई एकरुपता दिने योजना छ’, उनले भने ।
भूकम्प बारपाकका लागि एक अवसर पनि रहेको उनको तर्क छ । बारपाकमा दश करोडको लागतमा खानेपानी योजना निर्माणको काम अघि बढेको र करिब ३२ करोडको लागतमा ढल निकासको काम समेत भइरहेको उनले जानकारी दिए ।
भूकम्पकै कारण बारपाकका ७२ जनाले अकालमै ज्यान गुमाउनुपर्यो । कति घाइते भए । करिव १४ सय घुरधुरी भग्नावशेषमा परिणत भए ।
धेरै गुमाएको बारपाकले भूकम्पबाट केही अवसरहरु पनि प्राप्त गरेको छ । भूकम्पले क्षति पुगेका घरहरुको पुननिर्माण तीव्र गतिमा भयो । ठुला–ठुला संरचनाहरु ठडिन समय लागेन । विकास निर्माण कामले तीव्रता पायो । ‘हाम्रो पालामा यस्तो सडक होला भनेर सोचेको पनि थिएनौ,’ ७४ वर्षीय दुर्गाबहादुर घलेले भने, ‘अहिले सडक, नाला, खानेपानी लगायतका योजनाको काम धमाधम भइरहेको छ ।’
पर्यटकको चापसमेत बढ्न थालेको स्थानीय बताउँछन् । विदेशीभन्दा आन्तरिक पर्यटन बढेको स्थानीय जीतबहादुर घलेले जानकारी दिए । आर्थिक हिसाबले समृद्ध बन्ने अवसर समेत बारपाकले पाएको उनको भनाइ छ । तर, आठ वर्षसम्म भूकम्प स्मृति पार्क निर्माणको काम सम्पन्न नभएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
भूकम्प स्मृति पार्कको काम के हुदैछ ?

भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा बारपाकमा भूकम्प स्मृति पार्क निर्माणको काम भइरहेको छ । पार्क निर्माणका लागि २०७४ साल मंसिर १४ गते स्वच्छन्द/होम निर्माण जेभिसँग सम्झौता भएको थियो । २०७७ साल जेठ १३ गते काम सक्नुपर्ने भएपनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।
पार्कभित्र भूकम्प अतिप्रभावित १४ जिल्लामा भूकम्पमा परी ज्यान गुमाएकाहरुको नाम लेख्ने भनिएको थियो । त्यसका लागि पार्कमा १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ पनि निर्माण गरिएको छ । तर, सम्पूर्ण मृतकहरुको आधिकारिक नामावली सम्बन्धित निकायबाट प्राप्त नहुदाँ लामो समय काम रोकियो ।
गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको मृतक संख्या मात्र उल्लेख गर्ने निर्णय गरेर अहिले निर्माण कार्य अघि बढाइएको छ ।
‘अरु जिल्लाहरुबाट मृतकको संख्या र नाम आधिकारिक रुपमा आउन सकेन,’ संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्की प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘नामावलीकै कारण लामो समय योजनाको काम रोकिएपछि केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) मा गत भदौ १६ गते बैठक बसेर गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको भने मृतक संख्या मात्र उल्लेख गरी तामपत्र राख्ने बिभागीय निर्णय भएको हो ।’
सोही निर्णय अनुसार काम अघि बढाउन निर्माण कम्पनीलाई पत्राचार गर्दै मृतकहरुको नामावलीसमेत कार्यालयले उपलब्ध गराइसकेको छ ।
प्रशासनले ४९० जना मृतक रहेको भन्दै नामावलीसहितको विवरण पठाइसक्यो । सोही विवरण अनुसार स्तम्भमा नाम लेख्ने काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।

 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4