Comments Add Comment

खानीबाट सुन निकाल्न किन यति धेरै गाह्रो हुँदैछ ?

कोभिड-१९ महामारीको वर्तमान समयमा विश्व बजारमा सुनको मूल्य आकासिएको छ । सुनको मूल्यमा लगातार वृद्धि भइरहेको पछिल्लो अवस्थामा विश्वमा सुनको उत्पादनचाहिँ घटिरहेको छ ।

गत वर्ष अन्तर्राष्ट्रियस्तरमा सुनको उत्पादनमा १ प्रतिशतको गिरावट देखियो ।

सुनको उत्पादनमा आएको यो पछिल्लो एक दशकको सबैभन्दा ठूलो गिरावट हो । कतिपय जानकारहरुका अनुसार खानीबाट सुन निकाल्न सकिने उच्चतम सीमा पनि पूरा भैसकेको छ । अब खानीबाट सुनको उत्खनन पूर्णरुपमा बन्द नहुन्जेलसम्मै सुनको उत्पादनमा गिरावट आइरहने बताइएको छ ।

सुनको मूल्य आकासिएकै कारण अमेजनको जंगलभित्रका खानीमा ठूलो परिमाणमा अवैधरुपमा सुनको उत्खननसमेत बढिरहेको छ । सुनको मूल्यमा उछाल आए पनि यसको मागमा भने गिरावट आएको छैन । विज्ञहरुका अनुसार विश्व बजारमा अहिले सुनको जतिधेरै माग छ त्यति विगतमा कहिल्यै पनि थिएन ।

तथ्यांकअनुसार विश्वमा उत्पादित सुनको लगभग आधा हिस्सा गहना बनाउनमा प्रयोग गरिन्छ । बाँकी आधामध्येको एक चौथाई सुन केन्द्रीय बैंकहरुको नियन्त्रणमा जान्छ भने बाँकी रहेको सुन लगानीकर्ता तथा निजी कम्पनीहरुद्वारा प्रयोग गरिन्छ ।

कोरोना महामारीका कारण विश्व बजारमा डलर कमजोर बनेको छ । लगभग सबैजसो देशको सरकारी ढुकुटीको ठूलो हिस्सा महामारी नियन्त्रणमा खर्च भैरहेको छ । मुलुकहरुले मुद्रा छपाईका लागि समेत ठूलो रकम उधारो लिइरहेका छन् । सोही कारण विश्व बजारमा मुद्राको मूल्य अस्थिर बनिरहेको छ र लगानीकर्ताहरुले सुनलाई नै भरोसायोग्य सम्पत्ति मानेका छन् ।

कोरोना महामारीले सुनको उत्खनन कार्यलाई पनि प्रभावित गरेको छ । निकट भविष्यमा यसको आपूर्ति बढ्ने सम्भावना पनि छैन । विश्व बजारमा अहिले जति सुन आइरहेको छ त्यसको ठूलो हिस्सा पुनःचक्रण गरिएको सुन रहेको छ । भविष्यमा सुनका सिक्का, विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग गर्नमा पनि भविष्यमा पुनःचक्रण गरिएको सुन प्रयोग हुने अनुमान कतिपयले गरेका छन् । अनुसन्धान अनुसार पछिल्लो २० वर्षमा सुनको जति आपूर्ति भएको छ त्यसको ३० प्रतिशत हिस्सा पुनचक्रण गरिएको सुनबाटै आएको छ ।

सुनको पुनःचक्रणका क्रममा कतिपय विषाक्त रसायनको प्रयोग हुन्छ जो पर्याव्रणका लागि घातक हुुन्छन् । तर पनि त्यो सुनको उत्खननको प्रक्रियाभन्दा कम घातक हुन्छ । जर्मनीको सुन प्रशोधन सम्बन्धी पछिल्लो अनुसन्धानले एक किलो सुन पुनःचक्रण गर्नका लागि करिब ५३ किलो कार्वडाइअक्साइ उत्सर्जन हुन्छ । जबिक खानीबाट १ किलो सुन उत्खननका लागि १६ टन बराबरको कार्वनडाइअक्साइ उत्सर्जन हुनछ ।

सुनको उत्खननबाट पर्यावरणमा नकारात्मक असर पर्दछ । त्यसैले संसारभरका सबै सुनखानी स्थलका स्थानीय मानिसहरुले खानीको विरोध गर्ने गरेका छन् ।

उक्त विरोधका कारणले पनि विश्वमा सुनको उत्पादनमा कमी आइरहेको छ । उदाहरणका लागि चीनको पास्कुआ लामा खानीमा स्थानीय पर्यावरण संरक्षणकर्ताहरुको विरोधकै कारण त्यहाँको उत्खनन रोकिएको छ ।

त्यस्तै उत्तरी आयरल्याण्डस्थित टाइरोनमा मानिसहरु सुन उत्खननको विरुद्धमा सडकमा उत्रिएका छन् । उक्त इलाकामा सुनखानी रहेका छन् । कतिपय कम्पनीहरुले त्यहाँ सुन उत्खनन परियोजना सुरु गर्न चाहन्छन् । तर स्थानीय जनताले त्यसको निरन्तर विरोध गरिरहेका छन् । उनीहरुका अनुसार सुन उत्खननबाट पर्ने नकारात्मक असरको स्थानीय सर्वसाधारणले गम्भीर मूल्य चुकाउनुपर्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment