Comments Add Comment

सभामुख अनुपस्थित हुँदा संवैधानिक परिषदको बैठक रोकियो

अध्यक्ष र सदस्यवीच समन्यवको अभाव देखिएको सभामुखको गुनासो

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्नि सापकोटा नगएपछि रोकिएको छ । आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको थियो ।

संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा नगएका हुन् ।

आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका सापकोटाले मंगलबार भने अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने जानकारी प्रधानमन्त्रीलाई गराएको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘परिषदका अध्यक्ष (प्रधानमन्त्री) र सदस्यहरुवीच समन्वयनको अभाव देखियो, बैठकका लागि पर्याप्त गृहकार्य पनि भएन’ सभामुखको सचिवालय स्रोतले भन्यो, ‘बैठकका लागि पूर्वतयारी पनि पर्याप्त देखिएन । यिनै तीन कारणले सभामुखज्यू आजको बैठकमा अनुपस्थित हुनुभएको हो ।’

परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि अध्यक्षले त्यसो नगरी बैठक डाकेको स्रोतले बतायो ।

अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि  बस्न सकेको छैन ।

नियुक्तिहरुका लागि विपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्रीले परामर्श गरे पनि आफ्नै दलका नेताहरुसँग परामर्श नगरेको भन्दै नेकपाभित्रै असन्तुष्टि चुलिएको छ । त्यसैको प्रभाव सभामुखमाथि पनि परेको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस संवैधानिक परिषदसम्म पुग्यो नेकपा विवादको बाछिटा

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुने संविधानले परिकल्पना गरेको छ । परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् ।

परिषदको बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्रीबाहेक ४ जना सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले ४ जना सदस्यमात्र रहेकाले कोही एकजना उपस्थित नहुँदा पनि बैठक बस्न सक्दैन ।

त्यसो त विगतमा सभामुख र उपसभामुख दुबै नेकपाकै हुँदा र आफ्नै बहुमत पुग्दा पनि प्रधानमन्त्री ओलीले लामो समयसम्म परिषदलाई क्रियाशील गराउन सकेनन् । अहिले सत्तापक्षले उपसभामुख बनाउन नपाउने भएकाले उपसभामुख पद खाली राख्दा त्यसको असर परिषदमा परेको छ ।

यसैवीच, मंगलबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेता गगन थापाले उपसभामुखको चयन नहुँदासम्म परिषदको बैठकमा सहभागी नहुन कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

यो पनि पढ्नुहोस देउवालाई गगन थापाको सुझाव : उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषदको बैठकमा जानोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment