Comments Add Comment
व्यंग्य :

गोलीसँग खेल्नु र ओलीसँग खेल्नु !

एक जमाना यस्तो पनि थियो, कमरेड प्रचण्डको नाम लिँदा ‘जनयुद्धका सर्वोच्च कमाण्डर कमरेड प्रचण्ड’ भनेर अलि लामै विशेषण जोड्ने गरिन्थ्यो । हो पनि । जनयुद्धको कमाण्डिङ गर्नु निश्चय पनि गार्‍है काम हुनुपर्छ । छिनछिनमा बन्दुक बोक्नुपर्ने । छिनछिनमा गोली पड्काउनुपर्ने । रातदिन गोलीसँग खेलेर उनले जनयुद्ध लडेका थिए ।

अब जनयुद्ध सकियो । गोलीसँग खेल्ने जमाना पनि सकियो । तर, शान्तिपूर्ण बाटोमा आएपछिचाहिँ गोली होइन, ओलीसँग भिड्नु परिरहेको छ ।

अहिले हेर्नोस्, पार्टीमा उहाँको भिडन्त ओलीसँग चलिरहेको छ । प्रचण्डको गोलीसँग लड्ने दिन पो सकिएको रहेछ, ओलीसँग लड्न त बाँकी नै छ नि ।

अहिले हरेक दिन ओलीसँग भिड्ने बाहेक प्रचण्डको अरु कामै छैन जस्तो छ । बिहान उठ्यो, दाँत-साँत माझ्यो, बालुवाटार गयो, ओलीसँग भिड्यो । अनि लखतरान भएर लुरुलुरु फर्क्यो ।

तर, अहिलेसम्मको भिडन्तमा शायद  उनले राम्रै महसुस गरिसकेको हुनुपर्छ कि ओलीसँग खेल्नु भनेको गोलीसँग खेल्नु जति सजिलो होइन रहेछ ।

गोलीसँग त जसरी लडे पनि हुन्छ । गोली हान्यो, अनि भाग्यो । फेरि हान्यो, फेरि भाग्यो । हान्यो, भाग्यो । भाग्यो, हान्यो । सजिलो छ । तर, ओलीसँग यसरी लडेर हुँदैन ।

ओलीलाई हानेर भाग्ने होइन, उल्टो ओलीले नै भगाउला जस्तो देखिइरहेको छ । गोलीको हरेक मोर्चामा जितेका कमरेड प्रचण्ड अहिले ओलीको चाहिँ हरेक मोर्चामा हार व्यहोरिरहेका छन् ।

गोलीसँगको युद्ध त दसै वर्षमा टुंगिएको थियो । ओलीसँगको युद्धचाहिँ त्योभन्दा पनि लामो होला जस्तो छ । कि कसो ?

आफ्नो रक्षा र रक्षा मन्त्री

नेकपाको सचिवालय बैठक पार्टी कार्यालयमा बसौँ भन्दा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको कारण देखाई पार्टी कार्यालयमा बैठक बस्न नसकिने बताउनुभएको रहेछ । तर, यो ‘सुरक्षा थ्रेट’ कस्तो प्रकारको थ्रेट हो, त्योचाहिँ अझै थाहा हुन सकेको छैन ।

थाहै नभएको थ्रेट भए पनि आफ्नो रक्षा गर्नु उहाँको दायित्व हो । किनभने, उनी यो देशको प्रधानमन्त्री मात्र होइन, रक्षा मन्त्री पनि हुन् । रक्षा मन्त्री भएको नाताले अरु कसैको रक्षा गर्न नसके पनि आफ्नो रक्षा त उनले गर्नै पर्छ । होइन भने मान्छेले भन्न सक्छ, जाबो आफ्नो त रक्षा गर्न नसक्नेले अरुको के रक्षा गर्ला र ? अतः त्यसरी भन्न नदिन पनि उनले आफ्नो रक्षा गर्नै पर्छ ।

उनी भन्दा अघि रक्षा मन्त्री कमरेड ईश्वर पोखरेल थिए । तर, रक्षा मन्त्री ईश्वर पोखरेल र प्रधान सेनापतिबीच टकराव आएपछि उनले ईश्वर पोखरेललाई रक्षा मन्त्रीबाट हटाए । त्यसो त रक्षा मन्त्रीसँग टक्कर लिएको निहुँमा हटाउनुपर्ने त प्रधान सेनापतिलाई हो । तर, प्रधान सेनापतिलाई हटाए भने अन्तिम नतिजा के हुन्छ भन्ने कुरा उनले कमरेड प्रचण्डबाट पटक-पटक नै सुनेको हुनुपर्छ । त्यसैले उनले प्रधान सेनापति नहटाइकन रक्षा मन्त्री ईश्वर पोखरेललाई हटाइदिए । त्यो हटाएका कारण उनको प्रधानमन्त्री पदको रक्षा भयो ।

यसरी चतुरतापूर्वक आफ्नो पदको रक्षा गर्न समर्थ भएका कारण देशको रक्षा मन्त्री पद ओली आफैंले लिए । लिएको राम्रो पनि भयो । रक्षा मन्त्री त त्यही हुने हो जसले आफू, आफ्नो पद, आफ्नो परिवार, आफ्नो नातागोता र आफ्नो गुटको रक्षा गर्न सक्छ । रक्षै नगर्नेलाई रक्षा मन्त्री बनाएर के काम ?

उपहारको उचाइ

सगरमाथाको उचाइ बढेको समाचारले सबै नेपालीहरूको छातीको नाप पनि बढेको छ । अब त पुरानो लुगा लगाउँदा जम्मैको छातीतिर कस्सिएर सास्ती होला कि भन्ने पो पिर पर्न थालेको छ ।

सगरमाथाको उचाइ पहिले ८८४८ मिटर थियो । अहिले त्यसमा दशमलव ८६ मिटर थपिएर आएको छ । सगरमाथाको उचाइमा यो दशमलव ८६ मिटर कहाँबाट आयो ? यो भने खोजीको विषय बनेको छ ।

यसपटक सगरमाथाको उचाइ घोषणा गर्दा चीन पनि साथै थियो । त्यसैले यो दशमलव ८६ मिटर चीनले नै दिएको हुनुपर्छ । अर्थात, सगरमाथाको उचाइमा थपिएको यो दशमलव ८६ मिटर जो छ, त्यो चीनले नेपाललाई दिएको उपहार पनि हुन सक्छ ।
चीनले यति उपहार दिए वापत अब नेपालले कति उपहार उता पठाउने होला, अनुमान गर्न सकिएला ?

यो पनि पढ्नुहोस कमरेडहरूको सामाजिक दूरी, बालुवाटारको केक यो पनि पढ्नुहोस बयलगाडा चालक र ठेलगाडा चालक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment