Comments Add Comment
यात्रा स्मरण :

कोरोनाका बेला, लाङटाङमा भेला

यस वर्षको दसैंमा ‘लाङटाङ’ मा घुम्न गइयो । ‘कोरोना’ को जाँच गरेको कागज पनि लाङटाङ जान चाहिन्छ भन्ने सुनियो । हाम्रो जाँच गरेको थिएन, ‘जो होगा, देखा जाएगा’ भनेर लाङटाङ पुग्दा त्यस्तो कागज कसैले मागेन । त्यहाँ कोही पर्यटक पनि थिएनन् ।

काठमाडौंको उकुस–मुकुस र धुवाँबाट मुक्त भएर लाङटाङ पुग्दा एकातिरबाट नदीको कलकल आवाज, अर्कोतिर झ्याँउकिरीको झ्याउँ झ्याउँ । कहिलेकाहिँ हावा चलेर पातहरु बजेको आवाज सुन्दा मन धेरै नै आनन्दित भयो ।

सात दिन लाङटाङको यात्रा गर्दा मलाई न इमेलको याद आयो, न पत्रपत्रिका, न टीभी । यहाँसम्म कि सात दिनसम्म कहिले ६ घण्टा, कहिले १० घण्टा हिँडिरहँदा पनि थकाइको अनुभव भएन । खुट्टा पनि दुखेनन् ।

स्याफ्रुबेंसीबाट हिँडेदेखि नै मैले कुनै खास ठाउँ पुगेर मात्र बास बस्नुपर्छ भन्ने भावना त्यागें । जहाँ रात पर्छ, त्यहीँ बसुँला भन्ने विचार गरेर हिँडेको हुनाले लाङटाङको खोलासँगै हिँडिरह्यौं । हिँडाइ नै गन्तव्य थियो । कुनै ठाउँमा पुग्नैपर्ने लक्ष नलिएकाले प्रकृति हेर्दै, हिँड्दै जंगल र खोलाको आनन्द लिइयो ।

‘कोरोनाका बेला नजाऊ’ भन्ने थुप्रै थिए । तर परिवारसँग आफ्नै देशमा घुम्न जाने विचारले लाङटाङ यात्रा गर्दा लाग्यो, गएर ठीक गरिएछ । सात वर्षअघि यात्रा गर्दा यस्तो राम्रो ठाउँमा पुनः परिवारका सदस्यहरु लिएर आउँछु नै भन्ने विचार गरेकी थिएँ ।

म ७ वर्षअघि दसैंका बेला नै लाङटाङ जाँदा पर्यटकहरुको लर्को धेरै थियो । फ्रान्स, अमेरिका, जर्मनी, नेदरल्याण्ड र रसियाका मानिसहरु धेरै थिए । कतिजना एक्लै, कतिजना परिवारसहित । कतिजना त ठूलो डफ्फामा नै आएका थिए । तर, यसपालि त हाम्रो परिवार मात्र भयो । ‘लकडाउन भएदेखि तपाईंहरू पहिलो पर्यटक हो,’ हाम्रा पथप्रदर्शक नेवाङले भने ।

स्याफ्रुबेंसी पुग्दा नै दुई/तीनवटा झरनाले मनमा आनन्द दियो । दुःख पनि लाग्यो, झरनाको आनन्द लिने पर्यटकहरू नभएकाले । स्याफ्रुबेंसीदेखि लाङटाङ र क्यानजिङ पुग्ने बाटो धेरै गाह्रो नभएकाले शुरुवाती हिँडाइ गर्नेका लागि यो लोकप्रिय छ ।

यसपालि जाँदा होटेल धेरै खुलेका थिएनन् । तर, यस्तोबेलामा जहाँ बसे पनि स्थानीय साग, अचार र भात खान पाइयो । सबै कुरा तलैबाट बोकाएर ल्याउनुपर्छ । कसैलाई भात खाएको ५ सय रुपैयाँ तिर्दा महँगो लाग्ला । तर, यो पक्कै पनि महंगो होइन ।

यस्तो गाह्रो बेलामा पनि यहाँका होटेलवालाले देखाएको स्नेहले मन भरिपूर्ण भयो । ‘आउनुस्, दिदी–दाजु एकछिन बसेर चिया खाएर जानुस्’ भन्ने प्रकृतिसँग बसेर चिया, भात खाँदा मलाई के लाग्यो भने यस्तो ठाउँमा आएर चिया खाँदा ५० रुपैयाँ तिर्नुपर्यो भनेर चित्त त दुखाउनै पर्दैैन । यस्तै ठाउँ यदि विदेशमा हुँदो हो त यसरी बसेर खाएको चियाको मूल्य ५० डलर हुन्थ्यो होला ।

म ६० वर्ष पुगेकी हुनाले छोरीहरूले ‘बूढो शरीर’ भनेर धेरै ध्यान राखेकाले पनि मेरो यात्रा आनन्दमय भयो ।

लाङटाङमा पुगेर एक दिन बसेपछि हामी अर्को तीन घण्टाको यात्रा गरेर क्यानजिङ पुग्यौं । बेलुका निकै अँध्यारो भएकाले हिँड्न गाह्रो भयो । एकैदिन १० घण्टाको यात्रा गर्दा मलाई केही लेक लागेजस्तो भयो । मेरो ‘अति आत्मविश्वास’ले गर्दा त्यो गल्ती भयो । पहिले–पहिले जाँदा लेक नलागेको हुनाले अहिले पनि लाग्दैन कि भन्ने लागेको थियो ।

बाटामा हिँड्दा देखिन्थ्यो, नजिकै चौंरीहरु चरिरहेका । एउटा माउ चौंरीले आफ्नो बच्चालाई दूध चुसाएको । यस्ता रमाइला दृश्य क्यामेरामा कैद गरियो ।

क्याङजिङमा पुगेपछि तीनतिरबाट हिमालले घेरेको । चाँदनी रात । पहाडको दृश्य साह्रै लोभलाग्दो थियो ।

‘यहाँ कतिजना मानिसहरु आएर आनन्दसँग बस्छन् । गुम्बामा जान्छन् । माथि–माथि चुचुरामा जान्छन् । कतिजना त २/३ चोटि आएका छन्,’ चिया दिँदै एक शेर्पिनी दिदीले भनिन्, ‘तर यसपालि त सबै बन्द ।’

एकैछिन बसेर चौंरीको दूधको चिया खाइयो । ७४ वर्षीया हजुरआमाले चौंरीको दूध दुहेर बनाएको चियाले आनन्द दियो । हजुरआमाको सक्रियताले हामीलाई छक्क गरायो ।

क्यानजिङ पुगेर नेवाङको घरमा उनकी आमासँग नजिकै बसेर हामीले आगो ताप्यौं । उनीहरूले के खान्छन् भनेर सोधेको, अगेनामा राखेको चम्पा (सातु) देखाउँदै भनिन्, ‘यो चम्पा, आलु र चौंरीको दूध नै मेरो भोजन हो ।’

३८ सय मिटरको उचाइमा रहेको क्यानजिङबाट मेरा साथीहरु तीन घण्टा उकालो चढे । यसपालि मैले सकिनँ । ‘हिमाल झनै राम्रो देखियो’ गएकाले भने ।

स्थानीय खाना हेराल्डु

सफा आकाश, बिहान १० बजेको न्यानो घाम र सरर हावा चलेका बेलामा मनमा लाग्यो, यही सौन्दर्यमा लोभिएर त आउँछन् होला नि बारम्बार पर्यटकहरु । तर, कोरोनाले यसपालि यो पनि बन्द गर्यो ।

एक दिन त्यहाँ बस्दा बेलुकाको खानामा हामीले ‘फापर वा कोदोको मीठो सुप बनाइदिनुस्’ भन्यौं । पिठो, आलु र सागको मिश्रणबाट बनाएको सुप, ‘हेराल्डु’ खाएपछि मेरो टाउको दुखाइ कम भयो ।

छोरीले तेल लगाएर खुट्टा मिचिदिइन् । आनन्दले निदाएँ ।

भूकम्पअघिको लाङटाङ र भूकम्पपछिको लाङटाङमा धेरै परिवर्तन देखें । बाटो धेरै गाह्रो भएछ । तर, भूकम्पले सोत्तर पारेको गाउँघर चाहिँ बनेछ । बाहिर सिमेन्ट र भित्रपट्टि काठ हालेका घरहरूमा होटेल पनि छ ।

‘भूकम्पमा यहाँ धेरै मान्छे मरे । हाम्रो गाउँबाट २५० मान्छे मरे । धेरैको लास नै पाइएन । यहीँ बालुवामा पुरिए’, नेवाङले सुनाए, ‘मेरा बुबाको पनि खोलामा काम गर्दा मृत्यु भयो । आमालाई यस्तो झट्का लागेको थियो कि केही समय त उहाँ मानसिक रुपमा अस्वस्थ नै बन्नुभयो । सरकारले दिएको पैसा र मेरो विदेशी साथीले पनि मद्दत गरेर हामीले यो घर बनायौंं ।’

मन दुख्यो, लाङटाङबासीको वेदना सुन्दा ।

भूकम्पमा लाङटाङमा हिउँको पहिरो आएको थियो । त्यसले कैयौं घरका छाना उडायो, गुम्बाको पनि छाना उडाएको रहेछ ।

लाङटाङमा एक–अर्कालाई मद्दत गरेर घरहरू बनेछन् । लाङटाङमा यहाँ केही स्थानीय व्यक्तिहरुले अझ होटेल बनाउँदैछन् । बाहिरका मानिसहरुलाई जग्गा नबेच्ने यहाँको नीति रहेछ ।

‘तर, हामीपछि त यहाँ हाम्रा सन्तानहरुले होटेल चलाउँदैनन् होला, सबैजना काठमाडौंमा पढ्छन्, ठूलो भएपछि यहाँ आएर कसले यस्तो दुःख गर्ला र ?’ एकजना स्थानीयले भने ।

लाङटाङका बासिन्दाहरुले प्रायः आफ्नो थर तामाङ लेख्दा रहेछन् । तर, उनीहरुको भाषा, भेषभुषा संस्कृति तामाङसँग मिल्दैन । नेवाङले दुखेसो पोखे, ‘हाम्रा पुर्खा तिब्बतबाट आएका हुन् । शेर्पा वा तिब्बतको मान्छेको थर लेख्यो भने सबैले तिब्बतियन भनेर हेप्छ कि भनेर हामीले तामाङ थर त राख्यौं । अब त थर फेर्न र हाम्रो पहिचान राख्न चाहेका छौं, होलाजस्तो छैन ।’

लाङटाङमा दसैंको अष्टमीका दिन ठूलो मेला लाग्दोरहेछ । नेपालका विभिन्न ठाउँमा काटिएका जनावरहरूको आत्माको शान्तिका लागि गुम्बामा प्रार्थना गरिँदोरहेछ ।

लाङटाङ निकुञ्जमा जनावर, खसी, कुखुरा काट्न नपाइने रहेछ । त्यसैले, यहाँका बासिन्दाले स्याफ्रुबेंसीबाट नै मासु किनेर ल्याउँदा रहेछन् ।

लाङटाङमा जाँदा थाहा भयो, झरना, नदीहरू बगेको हेर्न मात्र होइन, सुन्न पनि दृष्टिविहीनहरूको दल विदेशबाट आउँदो रहेछ ।

लाङटाङ निकुञ्जमा तितेपाती र सिस्नु धेरै पाइँदो रहेछ । तर, कसैले प्रयोग नगर्ने रहेछन् । तितेपातीको औषधीय महत्व मैले नेवाङलाई बुझाएँ । सिस्नो कस्तो परिकार हो, सिस्नो खाँदा स्वास्थ्यमा कति फाइदा हुन्छ भनेर बुझाएँ ।

फर्केर आउँदा हामीले ‘शेर्पा गाउँमा’ खाना खायौं र ‘सुर्खा’ भन्ने ठाउँमा रात बिताउन पुग्यौं । विदेशीहरू धेरै जाने, तर कमै नेपालीहरु पुग्ने सुर्खा गाउँ अति राम्रो रहेछ ।

लाङटाङ जाँदा छुटेको सुर्खा गाउँ धेरै रमाइलो लाग्यो । ‘शेर्पा गाउँ’मा चाहिँ शेर्पा थिएनन् । किन यसको नाम शेर्पा राखेको भन्दा, यो ठाउँ वास्तवमा ‘स्याप्रो’ हो । अर्थात धेरै घाम लाग्ने ठाउँ । तर, अपभ्रंश भएर शेर्पा गाउँ भएको रहेछ ।

लाङटाङ जाँदा रमाइलो त हुन्छ । तर, त्यहाँका बासिन्दाको जीवनचाहिँ गाह्रो छ । ‘कोरोनाका बेला सरकारले विभिन्न ठाउँमा चामल, दाल दियो रे, हामीलाई त केही पनि दिएन, हाम्रो त भर नै पर्यटक हो, यसपालि त त्यो पनि छैन,’ नेवाङले भने ।

लाङटाङबाट फर्केर आएपछि सुनियो, ‘कोरोनाका कारणले’ लाङटाङ बन्द गरिएछ । मलाईचाहिँ ‘कोरोनाका बेला, लाङटाङको भेला’ याद आइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment