Comments Add Comment

देशभर जाग्यो कांग्रेस !

२९ मंसिर, काठमाडौं । सरकारविरुद्ध देशभर भएको प्रदर्शनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई जगाएको छ । तीन वर्षयता लगभग निराशजस्तै देखिएका कांग्रेस कार्यकर्ताहरु सोमबारको देशव्यापी प्रदर्शनबाट एकाएक उत्साही बनेका छन् ।

सरकारविरुद्ध कांग्रेसले सोमबार बझाङ र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा प्रदर्शन गरेको छ ।

देशभरका प्रदर्शनमा कांग्रेस कार्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता देखिएको थियो । पार्टीका केन्द्रीय नेताहरुले नै जिल्ला-जिल्लामा पुगेर विरोध प्रदर्शनको अगुवाइ गरेका थिए ।

काठमाडौंको शान्ति बाटिकामा भएको विरोध प्रदर्शनमा झण्डै ७/८ हजारको सहभागिता रहेको कांग्रेस नेताहरुले बताएका छन् । जिल्लाहरुमा भएको प्रदर्शनमा पनि उल्लेख्य सहभागिता देखिएको कांग्रेस नेताहरुले बताएका छन् ।

सुरक्षा निकायले गरेको रिपोर्टिङमा पनि कांग्रेसको प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएको निश्कर्ष निकालेको छ । उसले देभरका प्रदर्शनमा करिब ९२ हजारको सहभागिता रहेको रिपोर्ट तयार पारेको बुझिएको छ ।

ओली सरकारको पक्षपातपूर्ण एवं सर्वसत्तावादी प्रवृत्ति, कोभिड-१९ नियन्त्रणमा देखिएको उदासीनता र भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरिएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रदर्शनहरुमा ओलीविरुद्ध चर्का नाराहरु लगाउनका साथै कतिपय जिल्लामा कांग्रेस कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामासमेत मागेका छन् ।

सरकारको चर्को आलोचना

विरोधसभालाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । भ्रष्टाचार डुबेको, अधिनायकवादतर्फ उन्मुख भएको, कोरोना महामारी नियन्त्रणमा चुकेको भन्दै सरकारको आलोचना गरेका उनीहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शन गर्दै हिँडेका राजावादीहरुतिर पनि निशाना साँधे ।

हेटौंडामा आयोजित सभालाई सम्बोधन गरेका सभापति देउवाले कोरोना महामारीमासमेत सरकारले भ्रष्टाचार गरेको बताए । महामारीका बेला आफूहरुले निर्शत समर्थन गर्छौं भन्दा पनि सरकार भ्रष्टाचारमा लागेको देउवाको आरोप छ ।

यो पनि पढ्नुहोस देउवाको भाषणको अर्थ : ओली सरकारबाट देशलाई मुक्ति !

गणतन्त्रको रक्षाका लागि देशलाई कम्युनिष्ट सरकारबाट मुक्त गर्नुपर्ने देउवाले बताएका छन् । कांग्रेसको सभामा देखिएको सहभागिताले जनता नेपाली कांग्रेसको साथमा रहेको पुष्टि गरेको देउवाको दाबी छ ।

सरकार भ्रष्टाचारमा डुबेको भनेर आफूहरुले मात्र होइन, स्वयं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै नेताहरुले भन्न थालेको कांग्रेस नेताहरुले बताएका छन् । काठमाडौंको सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका छन्, ‘मैले भन्नुपर्दैन, सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचारी हो ।’

‘जब जब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयंम अगाडि सरेर यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन्, यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इशारा गर्छन् । अख्तियार त्यो केसलाई मुल्तबीमा राख्छ’ पौडेलले भने, ‘सरकारको इशारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?’

यो पनि पढ्नुहोस अख्तियार प्रधानमन्त्रीको इसारामा चल्यो : रामचन्द्र पौडेल

कैलालीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता गगन थापाले भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबार गए पुग्ने बताए । उनले भने, ‘निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री, अनि स्वास्थ्य सामाग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार छ ।’

यो सबै प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाबमोजिम चलेको छ भन्दा गलत नहुने थापाको दाबी छ । ‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहिँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।’

यो पनि पढ्नुहोस भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ : गगन थापा

तनहुँ घटनाले दिएको बहाना

कांग्रेस नेताहरुका अनुसार छठपछि आन्दोलन गर्नुपर्छ भन्ने सोच थियो, तर त्यसको कुनै टुंगो थिएन । १७ मंसिरमा तनहुँ पुल उद्घाटन गर्न जाने क्रमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी धरपकड गरेपछि कांग्रेसले गज्जबको बहाना पायो ।

र, १९ मंसिरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २९ गते देशभर प्रदर्शन गर्ने तय गर्‍यो । महामन्त्री शशांक कोइराला भन्छन्, ‘तनहुँ घटना हामीलाई एउटा बहाना बग्यो । अब जाग्नुपर्छ, विरोध प्रदर्शन गर्नैपर्छ भन्ने लाग्यो ।’

पोखरामा आयोजित सभामा पूर्वमन्त्री महादेव गुरुङले पनि वरिष्ठ नेतालाई सरकारले अपमान गरेपछि कांग्रेस जागेको बताए । ‘जनताले हामी पनि शंका गरिरहेका थिए, कांग्रेस नबोली बस्नुको कारण के छ भनेर मलाई प्रश्न पनि गर्थे’ गुरुङले भने, ‘कांग्रेस अब जाग्यो । अब हामीलाई कसैले रोक्न सक्दैन ।’

हुन पनि प्रतिपक्षमा बसेको कांग्रेसले तीन वर्षमा गरेको यो तेस्रो प्रदर्शन गरेको हो । २०७५ साउनमा चिकित्सा शिक्षालगायतका माग राखेर प्रदर्शन गरेको थियो भने २०७६ मा माघमा पनि कांग्रेस सडकमा आएको थियो । यो अवधिमा प्रतिपक्षी भूमिका नखेलेको भनेर पार्टीभित्रै आलोचना सुरु भएको थियो ।

कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको, भ्रष्टाचारका मुद्दाहरु जति उठाउनु पर्ने हो, त्यति उठाउन नसकेको, प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनावश्यक उठबस गरेको आरोप पार्टी सभापति शेरबहादुर देउवामाथि लाग्ने गरेको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको बेला प्रधानमन्त्रीलाई भेटेपछि देउवा कांग्रेसभित्रै थप आलोचित बनेका थिए ।

तर, तनहुँ घटनाले कांग्रेसलाई एकाएक सडकमा ल्यायो । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘हामीले फुक्न खोजेको भुंग्र्रोमा तनहुँ घटनाले ध्यूको काम गर्‍यो ।’

कांग्रेसलाई उर्जा !

सोमबारको प्रर्दशनले पार्टीलाई नवीन उर्जा दिएको कांग्रेस सभापति देउवाले पनि बताएका छन् । देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट गरेको उनले बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुलाई धन्यवाद दिँदै उनले भनेका छन्, ‘आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु ।’

प्रवक्ता विश्वप्रकाश शर्माले पनि देशभर भएको प्रदर्शनले कांग्रेसलाई नयाँ उर्जा दिएको बताउँछन् । उनका अनुसार यसअघि भएका दुई प्रदर्शनमा भन्दा सोमबार सहभागिता उल्लेख्य थियो । उनका अनुसार यसले प्रष्ट तीन सन्देश दिएको छ ।

पहिलो- सर्वसत्तावादविरुद्ध जनमत प्रकट भयो ।

दोस्रो- कांग्रेसले आफूलाई रुपान्तरण गर्ने हो भने जनमत सुरक्षित छ र, बाघ झैं ब्युँझन्छ ।

तेस्रो- विगत होइन, नयाँ बिहानतर्फ अगाडि बढ्ने हो ।

सोमबार प्रदर्शनमा देखिएको सहभागिताले कांग्रेसलाई सत्तासँग लसपस होइन, प्रतिपक्षी भूमिका खेल भन्ने सन्देश पनि दिएको कांग्रेसका नेताहरु बताउँछन् ।

विरोध सभालाई सम्बोधन गर्न तनहुँ पुगेका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल भन्छन्, ‘कांग्रेसलाई प्रधानमन्त्रीसँग नजिक हुन खोजेको बात लाग्ने गरेको छ । सोमबारको प्रदर्शनले प्रतिपक्षी भूमिकामा खरो उत्रन सन्देश दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment