Comments Add Comment

नयाँ राष्ट्रपति छिर्नु अगाडि कसरी तयार गरिन्छ ह्वाइटहाउस ? यस्तो छ रोचक कथा

अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउसमा नयाँ विजयी भएका राष्ट्रपति प्रवेश गर्ने बेलामा पुराना राष्ट्रपतिका सबै सरसामान हटाइन्छ र नयाँ राष्ट्रपतिलाई मन पर्ने किचनदेख सेमिनार कक्षसम्म तयार गरिन्छ ।

तपाईंलाई थाहा पाउँदा अचम्मै लाग्ला कि यी सबै काम जम्मा ५ घण्टामा पूरा गरिन्छ । अर्थात् केवल ५ घण्टामा विशाल राष्ट्रपति भवनलाई पूर्णरुपमा बदलिन्छ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन आगामी जनवरी २० तारेखमा ह्वाइटहाउस प्रवेश गर्नेछन् । त्यसको अघिल्लो दिनसम्म मौजुदा राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउसमा बस्नेछन् ।

ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएसँगै त्यहाँको सरसफाइ तीव्र गतिमा सुरु हुनेछ । आमरुपमा नयाँ राष्ट्रपति आउने र पुरानो राष्ट्रपति ह्वाइटहाउस भवनबाट बाहिरिने कार्यको बीचमा केवल ५ घण्टाको फरक हुन्छ । यहीँ छोटो समयमा नयाँ राष्ट्रपतिको आवश्यकता, रुचि तथा चाहना अनुसारको सारा परिवर्तन, सजावट र बन्दोबस्त गरिन्छ ।

Exploring the White House नामक किताबकी लेखिका केट एन्डरसनले सिएनएनसँगको कुराकानीमा बताए अनुसार ह्वाइटहाउसको उक्त सरसफाइँलाई त्यस अर्थमा पनि विशेष मानिन्छ कि त्यसमा कुनै पनि पेशेवर सफाइकर्मीलाई काममा खटाइएको हुँदैन । सुरक्षाको खतरा हुने भन्दै ह्वाइटहाउस भित्रै कार्यरत कर्मचारीहरुले सो काम गर्दछन् ।

ह्वाइटहाउसलाई नयाँ राष्ट्रपतिका लागि तयार गर्दै गर्दा उनका लागि आफ्ना किताबदेखि दाँत माझ्ने ब्रस राख्नसमेत उचित ठाउँ होस् भन्ने कुरामा ध्यान दिइएको हुन्छ । हरेक सामानलाई नयाँ राष्ट्रपतिको रुचि तथा आवश्यकता हेरिकन राखिएको हुन्छ । कोभिड-१९ का कारण यो पटक ह्वाइटहाउसको सफाइ केही लामो र चुनौतीपूर्ण हुनेवाला छ । पूरै ह्वाइटहाउसको सुक्ष्म सफाइ अर्थात् डीप क्लिनिङ गरिनेछ ।

रोचक त के भने नयाँ राष्ट्रपतिको प्रवेशको पूर्व सन्ध्यामा ह्वाइटहाउस सफाइ तथा बन्दोबस्त गर्नु अगाडि आसन्न राष्ट्रपतिसमक्ष् ह्वाइटहाउसमा मौजुदा सामानहरुको एक सूची तयार गरेर पठाइन्छ । र, उक्त सूचीमा थपघट गरेर राष्ट्रपति मार्फत् फिर्ता प्राप्त भएसँगै सोही बमोजिम सरसामान खरीद तथा बन्दोबस्ती गरिन्छ ।

स्मरण रहोस् ह्वाइट हाउसमा कूल् १३२ वटा कोठा छन् । त्यसका अलावा ३५ वटा बाथरुम, ४१२ वटा ढोका तथा १४७ वटा झ्याल रहेका छन् ।

यसका साथै ह्वाइटहाउसमा ८ वटा सिँढी र ३ वटा लिफ्ट पनि रहेका छन् ।

६ तले ह्वाइटहाउस भवनमा दुईवटा अन्डरग्राउड तला छन् भने दुईवटा पब्लिक फ्लोर र बाँकी तला अमेरिकी राष्ट्रपतिका लागि सुरक्षित गरिएको छ ।

यसका साथै ह्वाइटहाउसमा पाँचजना पूर्णकालीन शेफले काम गर्दछन् । ह्वाइटहाउसमा हरेक दिन १४० जनाका लागि डिनरको बन्दोबस्त गरिएको हुन्छ ।

आयरल्याण्डमा जन्मिएका जेम्स होबनले ह्वाइटहाउसको डिजाइन गरेका थिए । सन् १७९२ मा निर्माण सुरु भएर सन् १८०० मा ह्वाइटहाउस तयार भएको थियो ।

आज जुन ठाउँमा अमेरिकी राष्ट्रपति भवन अर्थात् ह्वाइटहाउस छ, त्यहाँ त्यसअघि घना जंगल थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment