Comments Add Comment

कोरोना कोषबाट ५ महिनामा १ अर्ब ४० करोड खर्च, साढे ३८ करोड मौज्दात

३० मंसिर, काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर १५ सम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४० करोड ३७ लाख रुपैयाँ खर्च भएको छ ।

यो वर्ष कोषमा आम्दानी भने न्यून छ । ५ महिनामा कोषका लागि ४३ करोड २३ लाख ४८ हजार रुपैयाँ आम्दानी भएको छ । कोषमा आर्थिक वर्ष २०७६/७७ बाट १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि आएको थियो ।

यो वर्ष कोषबाट १ अर्ब ४० करोड रुपैयाँ खर्च भएसँगै अब भने कोषमा मात्र ३८ करोड ४४ लाख ७८ हजार रुपैयाँ बाँकी रहेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

सरकारले गत चैतमा यो कोष खोली रकम जम्मा गर्न आहृवान गरेको थियो । कोषमा अधिकांश सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाबाट रकम सहयोग भएको छ ।

केमा भइरहेको छ खर्च ?

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष संचालक समितिका कुल चार वटा बैठकबाट कोरोना कोषको रकम उपयोग गर्ने निर्णय भएको छ । त्यसबाट विभिन्न अस्पतालहरुमा पूर्वाधार थप तथा उपकरण खरीदमा रकम निकासा गर्ने निर्णय भएको छ ।

क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा समेत कोषबाट रकम खर्च भएको छ । संचालक समितिको पछिल्लो बैठक २३ कात्तिकमा बसेको थियो ।

उक्त बैठकले आयुर्वेद चिकित्सालय नरदेविलाई एक करोड रुपैयाँ दिएको थियो । एपीएफ अस्पतालका लागि २५ लाख र धादिङ हस्पतालमा पिसिआर मेसिन संचालन गर्न १ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको थियो ।

सोही बैठकले अब कोषमा रकम अपर्याप्त हुँदै गएको भन्दै प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन माग गर्ने निर्णय गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सो निर्णय कार्यान्वयनमा भने गइसकेको छैन ।

कोरोना कोषको रकम (रुपैयाँ)
गत आवबाट चालु आवमा सरेको : १३५५९१५२०९
चालु आवको आम्दानी  : ४३२३४८११४
कुल आम्दानी  : १७८८२६३३२४
चालु आवको खर्च : १४०३७८४९००
बाँकी : ३८४४७८४२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment