Comments Add Comment

६५ किलो चाँदीका गहनासहित एकजना भारतीय पक्राउ

३० मंसिर, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट विभिन्न प्रकारका चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–६ स्थित सुनिता कुमारी सर्राफको घरबाट ६५ किलो चाँदीका गरगहना बरामद गरेको हो । सर्राफकै नाममा उक्त घरमा में जय नरसिंह ज्वेलर्स सञ्चालनमा छ । अवैध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सुनिताको श्रीमान दिपक सर्राफलाई पक्राउ गरेको छ । उनी भारतीय नागरिक हुन् ।

ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरी राखिएको अवस्थामा चाँदी फेला परेको थियो । चाँदीको अवैध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले मंगलबार छापामारी गरेको थियो । भारतबाट राजश्व छलेर ल्याइएका चाँदीका विभिन्न प्रकारका गाहनाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कोठाको फल्स वालभित्र लुकाएर राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

‘गरगहनाको बनोट हेर्दा भारतबाटै ल्याएको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘ तर उनीहरुले आवश्यक कागजातहरु देखाउन सकेनन् । त्यसैले बरामद गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौं ।’

चाँदीको गरगहनाको बजार मूल्य ६५ लाख अनुमान गरिएको छ । चाँदी नेपालबाट भारततर्फ तस्कारी हुने गरेको भएपनि तयारी गरगहना भारतबाट नेपाल भित्रिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment