Comments Add Comment

गोरखामा स्थानीय तहले मागे क्रसर उद्योगसँग कागजात

१ पुस, गोरखा । गोरखाका स्थानीय तहले आफ्नो क्षेत्रमा सञ्चालित क्रसर उद्योगको विवरण माग गर्न थालेका छन् । अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउन भनी जिल्ला प्रशासन कार्यालयले गत मंसिर १४ गते सबै स्थानीय तहलाई पत्राचार गरेको थियो । त्यसपछि स्थानीय तहहरुले क्रसर उद्योगको कागजपत्र माग गरेको हो ।

पालुङटार नगरपालिकामा दुईवटा क्रसर उद्योग सञ्चालनमा रहेको मेयर दीपक बाबु कँडेलले बताए । वडा नम्वर १ मा सञ्चालित सिम्रन क्रसर उद्योग र माइ मनकामना क्रसर उद्योगसँग आवश्यक कागजपत्र माग गरिएको उनले बताए । ‘प्रशासनको पत्रलाई टेकेर हामीले उनीहरुलाई आवश्यक कागजपत्र बुझाउन भनेका छौ,’ उनले भने । यी दुबै क्रसर उद्योग अवैध रुपमा सञ्चालन भइरहेका छन् ।

गोरखा नगरपालिका–१० छेवेटारमा संचालित गोरखकाली क्रसर उद्योग पनि अवैध रुपमा संचालन भइरहेको छ । उक्त क्रसरसँग आवश्यक कागजपत्र माग गरिएको मेयर राजनराज पन्तले बताए । आवश्यक कागजपत्र माग गरेपनि तत्काललाई क्रसर बन्द गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘पहिलो कुरा क्रसर बन्द गर्ने अधिकार क्षेत्रबारे अझै अन्योल छ,’ उनले भने, ‘दोस्रो अहिले धमाधम भइरहेको निर्माण कार्यलाई अगाडि बढाउन अर्काे विकल्प हुनुपर्छ ।’ औपचारिकताका लागी मात्र आवश्यक कागजपत्र माग गरिएको बताउदै पन्तले देशभरका अवैध क्रसरहरु एक साथ बन्द गराउनुपर्ने बताए ।

गण्डकी गाउँपालिका–८ स्थित क्रसर उद्योग संचालन गरेको घ्याल्चोक सिद्धि दर्शन सप्लायर्ससँग पनि आवश्यक कागजपत्र माग गरिएको पालिका अध्यक्ष होमबहादुर रानाले बताए । वालुवा प्रशोधन मात्र गर्ने भनेर दर्ता भएको उक्त सप्लायर्सले अवैध रुपमा क्रसर संचालन गर्दै आएको छ ।

सिरानचोक गाउँपालिका–६ खहरे र वडा नम्वर २ थालाजुङमा दुई वटा क्रसर सञ्चालनमा छन् । खहरेमा रहेको क्रसर मध्य पहाडी लोक मार्ग अन्तर्गत संचालन गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

त्यस्तै थालाजुङमा संचालित क्रसर भच्चेक सडक कालोपत्रेका लागि संचालन गरिएको उनले जानकारी दिए । दुवै क्रसरहरु आयोजनाका लागि संचालन भएकाले आफूहरुले आवश्यक कागजपत्र माग नगरेको अध्यक्ष गुरुङ बताउँछन् । ‘आयोजनाका लागि स्थापना भएका हुन्, हामीले अनुमति दिएको पनि हैन, सिफारिस गरेको पनि होइन, आयोजनाको काम सकिएपछि आफैं बन्द हुन्छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment