
१ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–४ स्थित होटल मकालु अगाडि सिटी स्क्यान रहेको करोडौं मूल्यको जग्गा किर्ते प्रकरणमा ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
बुधबार पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले किर्ते गरी जग्गा नामसारी गरेको आरोपमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । लेखनदास अमर साह कानु भने १ लाख धरौटीमा रिहा भएको अदालतको श्रेस्तेदार कृष्ण अधिकारीले जानकारी दिए ।
गत बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा व्यवसायी गिरधारीलाल अग्रवालसहित सात जनालाई पक्राउ गरेको थियो ।
१७ जना विरुद्ध मुद्दा चलाउन आरोपपत्र तयार गरी जिल्ला न्यायाधीवक्ताको कार्यालयमा पठाएको थियो । तर जिल्ला न्यायधीवक्ताको कार्यालयले अग्रवाललाई बिहीबार नै उन्मुक्ति दिएको छ ।
प्रहरी प्रतिवेदनमा अग्रवाललाई कारबाहीको दायरामा नराखिएकोले मुद्दा मुल्तबी रहने गरी तत्काल कारबाही प्रक्रिया अगाडि नबढाएको दावी न्यायधीवक्ताको छ । मुद्दा प्रक्रिया अघि नबढेपछि अग्रवाल रिहा भइसकेका छन् । अग्रवाललाई प्रहरीले मंसिर १८ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4