Comments Add Comment
उखु किसानको पीडा :

दिनभरि धर्ना बस्छन्, बेलुका भोकै सुत्छन् !

२ पुस, काठमाडौं । बुधबार अपरान्ह तीन बजे माइतीघरमा चौथो दिनको धर्ना सकियो । सवा तीन बजेतिर सहयोगी मनहरुले संकलन गरेको खाजा उखु किसान भएको ठाउँमा आइपुग्यो । स्वयंसेवकहरुले प्लास्टिकका प्लेटमा बाँडेका आधी मुठ्ठी खिर, दुइटा पुरी र अलिकति तरकारीले किसानहरुले दिनभरको भोक मेटाए ।

खाजापछि पर्चा–पम्प्लेट बोकेर १० जनाको एउटा समूह धर्नास्थलबाट पूर्वतर्फ सडकपेटीमा बस कुर्न उभिन पुग्यो । घाम पातलिँदैछ । पुस १ गते काठमाडौंको तापक्रम हालसम्मकै कम तीन डिग्री सेल्सियस छ । ७४ वर्षीय गगनदेव राय जाडोले काप्न थालेको उनको हातको स्यानिटाइजरको बोत्तल हल्लिदा देखियो ।

करिब २० मिनेट पर्खिएपछि बा ३ ख ३१४३ नम्बरको बस आयो, जाडोले कामिरहेका रायसहित सबै चढे । बस बानेश्वर, तीनकुने, सिनामंगल हुँदै गौशाला पुग्यो । गौशाला चोकमा ओर्लिएका उखु किसानहरु पशुपतिनाथ परिसरको धर्मशालामा छिरे ।

उनीहरुले बी ब्लकको पहिलो तल्लामा दुई कोठा (बी ०४ र बी ०६) लिएका छन् । दिनभरको थकान र जाडोले कापिरहेका गगनदेव राय बी ०४ नम्बर कोठामा पसेर कम्बलमा बेरिए । दुई कोठामा पाँच–पाँच जना बाँडिएका किसानमध्ये कोही खाटमा बसेर खैनी माड्न, कोही मोबाइल चार्ज गर्न लागे भने कोही कुनातिर पल्टिए । ‘दिनभरको थकानले बेलुका लुपुक्क निदाइन्छ, तर एक निन्द्राबाट ब्युँझिएपछि जाडोले थरथरी कमाउँछ । जिउ न्यानो बनाउन भोलिको घाम कुर्न पर्छ’, सर्लाही सिसौटियाका रामबाबु मण्डलले भने ।

धर्मशालामा उनीहरुले २४ घन्टाको ३८० रुपैयाँ तिर्नुपर्छ । आन्दोलन गर्न ३६ प्रतिशत ब्याजमा ऋण लिएर आएको १० हजार रुपैयाँ जोगाउन बेलुका नखाई सुत्ने गरेको ७२ वर्षीय रायले बताए ।

उनको आडैमा बसेका ४५ वर्षीय रामबाबु मण्डलले ‘काठमाडौंबाट जसरी पनि पैसा लिएरै आउँछु भनेर तीन जना बच्चालाई ट्युसन कक्षामा भर्ना गरिदिएको बताए । ‘उता घरबाट सबैका जहानले पैसा पायो कि पाएन भनेर फोनमा सोधेका सोध्यै छन्’, उनले भने, ‘यता काठमाण्डुमा हाम्रो हालत यति खराब छ ।’

आन्दोलन गर्न काठमाडौं हिँड्ने दिन घरमा भएको भैंसी पनि तुहाएको उनले सुनाए । उनकाअनुसार, त्यो भैंसी महिना पुगेर ब्याएको भए कम्तीमा सवा लाखमा बिक्री हुन्थ्यो, त्यसमा थपथप गरेर छोरीको गौना (मंगनी) गरिदिने योजना थियो ।

मण्डल धनकौलको अन्नपूर्ण चिनी मिलले दिनुपर्ने चारवर्ष अघिको चार लाख ५० हजार रुपैयाँ बक्यौता उठाउन दोस्रो पटक काठमाडौं आएका हुन् ।

गगनदेव राय जस्ता वृद्वलाई पनि काठमाडौंको जाडोमा हण्डर खुवाउने अन्नपूर्ण चिनीमिल नै हो ।  उखु खेतीका लागि जग्गा धितोमा राखेर कृषि विकास बैंकबाट लिएको १० लाख ऋणको व्याज बढेर मर्नु बनाएको पीर अलग रहेको रायले सुनाए ।

‘मेरो पनि चारवर्ष अघिकै ४ लाख रुपैयाँ बाँकी छ’, उनले अनलाइनखबरसँग भने, ‘म पनि आन्दोलन गर्न दोस्रो पटक काठमाडौं आएको हुँ । पोहोर धर्ना दिन आउँदा लागेको १० हजार ऋण अझै तिर्न सकेको छैन ।’

रात पर्दै गयो, दिनभर माइतीघरको चिसो सडकमा धर्ना बसेका उनीहरु थाकेका थिए । फेरि भोलि विहान उठेर त्यही माइतीघरमा धर्ना दिन जानु पनि थियो । ढोका भित्र र बाहिर उभिएका पाँचजना छेवैको कोठा बी ०६ मा पसे । रामबाबु मण्डलले हामीलाई पनि बिदाई गरेर कोठाको बत्ति निभाए ।

फोटो/भिडियोः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment