Comments Add Comment

बलिउड मैले सोचे जस्तो रहेनछः जेनिशा केसी(भिडियो कुराकानी)

नेपाली चलचित्रमा फाट्टफुट्ट रुपमा अभिनय गर्दै गर्दा नायिका जेनिशा केसी मुम्बई पुगिन् । मुम्बइमा पुगेर बलिउड चलचित्रमा काम गर्ने सपना थियो उनको ।

नायक मिथुन चक्रवर्तीसँग पारिवारिक रुपमा नै नजिक रहेकाले पनि उनलाई मुम्बइसम्म पुग्न त खासै गाह्रो भएन । तर, बलिउड उनले सोचे जस्तो रहेनछ । ३ बर्ष अगाडि अनलाइनखबरसँग कुरा गर्दै जेनिशाले बलिउडका ए ग्रेडका चलचित्रमा काम गर्ने आशा व्यक्त गरेकी थिइन् । तर, अहिले उनको बोली फेरिएको छ ।

जेनिशा बलिउडमा संघर्ष गर्दा गर्दै थाकेर दुबई पुगिन् । दुबइमा उनी व्यवसाय संचालन गरेर बसिरहेकी छिन् । जेनिशा भन्छिन्–‘धैर्यताको पनि सिमा हुन्छ । समय अनुसार सबै कुरा परिवर्तन हुँदै जाने रहेछ । मैले त्यहाँ गएर केही गर्नुपर्छ भनेर संघर्ष नगरेकी होइन । मैले अवसर पनि पाएकी थिएँ । तर, सबै कुराहरु सोचे जस्तो नहुने रहेछ । अहिले म आफ्नै व्यवसायमा बढी ध्यान दिइरहेकी छु ।’

जेनिशा आफू मुम्बई जाने समयमा नै ३ बर्ष भित्र केही गर्न सकिनँ भने काम गर्दिन भन्ने सोच लिएर गएको बताउँछिन् । तर, ३ बर्ष भित्र उनले सोचे जस्तो भएन । उनलाई बलिउडमा पुगेर नायक सलमान खान, कट्रिना कैफ जस्ता कलाकारले गर्ने ‘ए ग्रेड’का चलचित्रमा काम गर्ने ठूलो रहर थियो । तर, यो कुरा पुरा हुन सकेन । जेनिशाले यसका लागि हिन्दी भाषा पनि सिकिन् । आफूमा धेरै कुराको परिवर्तन ल्याइन् । सपना पुरा भएन र जेनिशा दुबई लागिन् ।


जेनिशाको दिमागबाट अब बलिउडको नशा उत्रिसकेको छ । उनी भन्छिन्–‘अब म आफै लगानी गरेर राम्रो चलचित्र बनाउँछु । यसका लागि मैले तयारी पनि गरिरहेको छु । आफ्नै ब्यानरबाट राम्रो कमब्याक गर्ने सोच छ । अहिले चलचित्र बनाउने अवस्था पनि छैन । सबै कुरा सहज भएपछि म दर्शकमाँझ आउँछु ।’

बलिउडमा पुगेर नेपाली चेली मनिषा कोइरालाले जसरी नाम कमाइन्, जेनिशाको पनि सोच यस्तै थियो । तर, धैर्यताको बाँध टुटेपछि जेनिशाले व्यापार व्यवसायको बाटो रोजिन् ।

जेनिशा आफूलाई नायक विराज भट्टसँग दर्शकले रुचाएको बताउँछिन् । उनी आफूले बनाउने चलचित्रमा पनि नायक विराजलाई नै मुख्य भूमिकामा राख्ने योजना सुनाउँछिन् । ३ बर्ष अगाडि आउँदा जेनिशामा बलिउडप्रति उत्साहत थियो । तर, अहिले उनको उत्साह बलिउडबाट हटेर व्यवसायमा देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment