Comments Add Comment

नेपाली खाना विश्वलाई चिनाउने सन्तोषको सपना

बीबीसी मास्टर सेफका फाइनलिस्ट साहको संघर्ष कथा

२ पुस, काठमाडौं । रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिभाहरुको सूचीमा सिराहाका सन्तोष साह थपिएका छन् । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको शीर्ष ३ मा उक्लेका उनले अब उपाधिका लागि अन्तिम खुड्किलो छिचोल्न बाँकी छ ।

बीबीसी वान टेलिभिजनमा प्रशारण हुने यो रियालिटी शो पाककलाको प्रतिस्पर्धा हो । यसमा प्रोफेसनल सेफहरुले भाग लिन्छन् । नोभेम्बरको दोस्रो साताबाट सुरु भएको प्रतियोगिता सात हप्तासम्म चलेर अन्तिम चरणमा पुगेको हो ।

यस प्रतियोगितामा चार साता ‘हिट्स’ राउन्ड, एक साता नकआउट राउन्ड, एक साता सेमिफाइनल र अन्तिम एक साता फाइनल प्रतिस्पर्धा हुन्छ । अहिले ‘फाइनल विक’ चलिरहेको छ । फाइनल विकको दोस्रो प्रतिस्पर्धा बुधबार साँझ भएको थियो, जसमा एक प्रतिस्पर्धी आउट भएर सन्तोषसहित तीनजना फाइनल राउन्डमा पुगेका हुन् ।

सन्तोषले प्रतियोगितामा लगातार नेपाली परिकार पेस गरेर निर्णायकहरुको मन जितिरहेका छन् । टप ३ का लागि भएको प्रतिस्पर्धामा आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गर्दै परिकार बनाउन भनिएको थियो । सन्तोषले आफ्नी आमालाई सम्झेर परिकार बनाएका थिए । १२ वर्षको उमेरमा मजदुरी गर्दा उनलाई आमाले टिफनबट्टामा खाजा ल्याइदिन्थन् । आमाछोराले सँगै खान्थे ।

विगतको सो स्मृतिलाई ताजा बनाउँदै सन्तोषले पोलेको खसीको मासु, भुटेको चिउरा, नुन खुर्सानी, पुरी, गँगटाको झोल, साँधेको भटमास, रायोको साग, पुदिना, क्रिस्पी प्याज लगायत परिकार बनाएका थिए । डिजर्टको रुपमा उनले कोदोको खिर खुवाए । त्यससँगै उनले आँपको कुल्फी र तराईमा प्रचलित आँपको अमौरा पनि पेस गरेका थिए ।

त्यसअघि अघिल्लो चरणमा नेवारी परिकार योमरी चखाउँदै सन्तोषले फाइनल राउन्डमा स्थान बनाएका थिए । उनले सेमिफाइनल राउन्डमा नेपालको हिमाली भेगमा प्रचलित भेगन खाना भुटेको काँक्रोको बियाँ, बन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार बनाएका थिए । त्यसअघिका प्रतिस्पर्धामा उनले पोलेको भेडाको मासु, सिस्नु र आलुको तरकारी, बेथेको साग, मकैको रोटी, तामाको अचारजस्ता मौलिक नेपाली परिकारको स्वाद चखाएका छन् ।

आज राति हुने फाइनलमा प्रतिस्पर्धीहरुलाई तीन घन्टा र १५ मिनेट समय दिइन्छ । त्यसमा उनीहरुले सुरुआती खाना, मुख्य खाना र डेजर्टको पूर्ण प्याकेज तयार गर्नुपर्ने छ । अन्तिम प्रतिस्पर्धाका लागि पनि सन्तोषले नेपाली परिकारकै तयारी गरेको बताएका छन् । उपाधिका लागि उनले नेदरल्यान्ड्सका ३३ वर्षीर्य बार्ट र बेलायतका २५ वर्षीय एलेक्सलाई पन्छाउनुपर्ने हुन्छ ।

तीन निर्णायकको मतका आधारमा विजेताको छनोट गरिन्छ । पब्लिक भोटिङ सिस्टम यसमा छैन । प्रतियोगिताका विजेताले कुनै नगद पुरस्कार पाउँदैनन् । यद्यपि, होटल क्षेत्रमा उच्चस्तरको स्तरको रोजगारी पाउन सक्छन् ।

सन्तोषको संघर्ष

सन्तोष नेपालको सिराहा जिल्लास्थित कर्जन्हा गाउँमा जन्मेका र हुर्केका हुन् । उनी पाँच वर्षको छँदा बुवालाई गुमाएका थिए । उनलाई आमाले हुर्काएकी थिइन् ।

सानो छँदा आर्थिक अभाव टार्न सन्तोष प्लास्टिकका झोला तथा अन्य सामग्रीहरु स्थानीय हाटबजारमा बेच्ने गर्थे । उनले एउटा स्थानीय नहर परियोजनामा मजदुरी पनि गरे । एसएलसी परिक्षामा अनुतीर्ण भएपछि १५ वर्षको उमेरमा उनी कामको खोजीमा भारततिर लागेका थिए । साथीहरुसँग गुजरात पुगेका उनले अहमदावादको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम गरे । त्यहीँबाट उनले प्रख्यात सेफ बन्ने सपना पाल्न थालेका हुन् ।

गुजरात बसाइमा उनले अंग्रेजी सिके र होटल म्यानेजमेन्टको डिप्लोमा पनि हासिल गरे । सात वर्षभित्र उनी एउटा फाइभस्टार होटलमा एक्जुक्युटिभ सेफ बनिसकेका थिए । त्यसैबीच, उनले आयोजना गरेको एउटा फुड फेस्टिबलले भारतीय सञ्चारमाध्यममा स्थान पायो । त्यसपछि उनको चर्चा सुरु भयो । उनलाई लन्डनमा बस्ने एक गुजराती व्यापारीको फोन आयो । ती व्यापारीले उनलाई लन्डन बोलाए । उनले वर्क पर्मिट पठाइदिनुका साथै हवाई टिकट र अन्य खर्च व्यहोरेपछि सन् २०१० को अन्त्यतिर सन्तोष लन्डन ओर्लिए ।

यद्यपि, गुजराती व्यापारीको रेस्टुरेन्टमा सन्तोष धेरै समय टिकेनन् । त्यो छोडेर उनले बेलायतमा ख्याति कमाएको भारतीय रेस्टुरेन्ट डिशुम ज्वाइन गरे । लन्डनमा रहेका बेनारेस र होटल लालिटमा पनि सन्तोषले काम गरे । उनी अहिले सिन्नामोन कलेक्सनमा हेड सेफको रुपमा कार्यरत छन् भने साफ्रोन सर्कल यूकेमा पनि एक्जुक्युटिभ सेफ छन् ।

सन्तोष एक राष्ट्रप्रेमी युवा हुन् । सन्तोष फाइनल राउन्डको प्रतिस्पर्धामा आयोजकको अनुमति लिएर ढाका टोपी लगाएर उपस्थित थिए । यसअघि उनले कालो भादगाउँले टोपी लगाएका थिए ।

उनी आफ्नो करिअरको लामो समय भारतीय परिकारमा केन्दि्रत भए । तर, पछिल्लो दुई वर्षयता उनी नेपाली परिकारहरुमा ध्यान दिइरहेका छन् । उनले नेपाली परिकारहरु पस्केर नै मास्टरसेफका निणर्ायकहरुको मन जितिरहेका छन् । नेपाली परिकारहरुलाई विश्वव्यापीरुपमा चिनाउने उनको उद्देश्य छ । लन्डनको मुटुमा उनी नेपाली परिकारहरुको रेस्टुरेन्ट खोल्न चाहन्छन् ।

बीबीसीसँग सन्तोषले भनेका छन्, ‘म विश्वभरका खानाप्रेमीहरुका लागि मौलिक नेपाली परिकारहरुको सिर्जना र प्रयोग जारी राख्नेछु ।’

मास्टर सेफको प्रतिस्पर्धा नेपालीहरुले टेेलिभिजनमा प्रत्यक्ष हेर्न नपाए पनि यूट्यूवमा हेर्न सक्छन् । अहिले सामाजिक सञ्जालमा सन्तोषका नेपाली फलोअर्स ह्वात्तै बढेका छन् । ३५ वषिर्य सन्तोष अहिलेसम्म अविवाहित छन् । एक वर्षभित्र विवाह गर्ने उनको योजना छ । उनले भनेका छन्, ‘सम्भवत मेरो लागि विहे गर्न अब ठिक समय आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment