Comments Add Comment

मोदी र हसिनाबीच उर्जा क्षेत्रमा नेपालसँग सहकार्य गर्ने सहमति

फाइल तस्वीर

२ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको बीचमा नेपाल, बंगलादेश र भारतको बीचमा उर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने विषयमा कुराकानी भएको छ ।

दुई देशको बीचमा बिहीबार भएको भर्चुअल समिटमा सो विषयले प्राथमिकता पाएको हो । मोदी र हसिनाको बीचमा भएको सहमतिमा भनिएको छ,‘हरित, स्वच्छ र नवीकरणीय उर्जाका क्षेत्रमा अगाडि बढ्ने दुवै देशको प्रतिवद्धता अनुसार नेपाल र भूटानसँग उपक्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने विषयमा सहमति भएको छ ।’

दुई देश पानी र उर्जा कनेक्टिभिटीलाई सुदृढ बनाउने सम्बन्धमा समेत कुराकानी भएको छ । बंगलादेशले नेपालको उर्जा क्षेत्रमा लगानी गरी जलविद्युत लैजाने योजना बनाएको छ । तर, ग्रिड कनेक्टीभिटीको लागि भारतको भर पर्नुपर्ने अवस्था छ ।

त्यसैले उर्जाको क्षेत्रमा तीन देशीय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालको उर्जा बंगलादेश लैजान सहजीकरण गरिदिन बंगलादेशले भारतलाई आग्रह गरिरहेको छ ।

यस अगाडि सन् २०१६ मा भारत भ्रमणको समयमा पनि हसिनाले यो विषय निकै जोडतोडका साथ उठाएकी थिइन् । सहजीकरणका लागि आफू सकारात्मक रहेको भारतले जनाएपनि उसले खासै चासो दिएको छैन् ।

केही दिन अगाडि भएको नेपाल र भारतका उर्जा सचिवको बैठकमा नेपालले सो विषय उठाएको थियो । तर भारतले सो संयन्त्रमा सो विषयमा वार्ता हुन नसक्ने जवाफ दियो । झण्डै डेढ वर्ष अगाडि यस विषयमा कुराकानी गर्नका लागि भारतले त्रिपक्षीय बैठक बोलाउने प्रतिवद्धता जनाएको थियो तर अहिलेसम्म बैठक बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment