Comments Add Comment

सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

२ पुस, सुर्खेत । सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने प्रकृया सुरु भएको छ । धावनमार्गलाई १५५५ मिटर पुर्‍याउन ३० बिगाह जग्गा अधिग्रहणको प्रकृया सुरु गरिएको हो ।

कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिलगायत सरोकारवालाहरुसँग छलफल गरी विमानस्थललाई प्रदेशस्तरीय बनाउनका लागि धावनमार्ग विस्तार गर्न जग्गा अधिग्रहणको तयारी गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा आयोजित छलफलमा छिट्टै जग्गा रोक्का गर्ने तयारी भएको उनका प्रेस सल्लाहाकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

विमानस्थललाई रात्रिकालीन उडान भर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिने छ । विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका अधिकारीलाई अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण लिन लगाइने छ ।

छिट्टै जग्गा प्राप्त हुनेगरी सुर्खेतका प्रमुख जिल्ला अधिकारीले अबको तीन दिनभित्र मूल्यांकन समितिको बैठक बोलाउनेछन् ।

विमानस्थल विस्तारका लागि अधिग्रहणमा परेको जग्गाको मुआब्जा वितरणमा लाग्ने खर्चको ५० प्रतिशत खर्च कर्णाली प्रदेश सरकारले व्यहोर्ने जनाएको छ । उक्त ५० प्रतिशतमा पनि ५ प्रतिशत वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने छ ।

१ हजार २५५ मिटर रहेको विमानस्थलको धावन मार्ग विस्तार गरी १ हजार ५५५ मिटर बनाइने छ ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेशका अर्थमन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतको सहभागितामा विमानस्थल विस्तारका विषयमा बिहीबार छलफलसमेत गरिएको छ ।

छलफलका क्रममा विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि आउन सक्ने समस्या समाधानका लागि सर्वदलीय एवम् सर्वपक्षीय समिति पनि गठन गरिने छ ।

उक्त विमानस्थल संघीय राजधानीसँग सिधा हवाई सम्पर्क भएको प्रदेशको एकमात्र विमानस्थल भए पनि धावनमार्ग छोटो हुँदा हाल ४८ सिट क्षमताको जहाजमात्र अवतरण गर्न सक्छ ।

प्रदेश सरकारले विमानस्थल बिस्तारका लागि असोज १५ गते संघीय सरकारसँग सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार अब तीन सय मिटर धावनमार्ग विस्तार गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment