Comments Add Comment

मानवअधिकारकर्मीको स्थलगत प्रतिवेदन : शिक्षक श्रेष्ठ प्रतिकारमा मारिएका होइनन्

२ पुस, विराटनगर । विप्लव समूहको आक्रमणमा मारिएका मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको यातनापछि हत्या गरेको स्थलगत अध्ययनमा गएको मानव अधिकारवादीको टोलीले निश्कर्ष निकालेको छ ।

बिहीबर स्थलगत अध्ययनपछिको प्रतिवेदन सार्वजनिक गर्दै मानवअधिकारकर्मीको टोलीले विप्लव समूहले प्रतिकारमा मारिएको भने पनि शिक्षक श्रेष्ठलाई निर्मम यातना दिएर हत्या गरेको पाइएको बताएको हो ।

‘विप्लव समूहले हत्याको जिम्मा लिदै प्रतिकारमा मारिएको बताएको छ । तर हात बाँधेर लगेका कारण शिक्षक श्रेष्ठले प्रतिकार गर्नसक्ने अवस्था देखिदैन’ अनुगमन टोलीका सदस्य मानवअधिकार तथा वातावरण मञ्च फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले भने ‘६ जनाको समूहसँग एक्लो शिक्षकले प्रतिकार गर्न सक्ने अवस्था होइन । विप्लव समूहले वास्तविकता लुकाउन खोजेको देखिन्छ ।’

शिक्षक श्रेष्ठको निर्मम यातनापछि विभत्स तरिकाले हत्या गरिएको इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले बताए । मिक्लाजुङ गाउँपालिका– १ बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गत मंसिर २३ गते घरबाट अपहरण गरी लगेर स्थानीय देउढुङ्गा जंगलमा विप्लव समूहले कुटपिटपछि घाँटी रेटेर हत्या गरेको थियो ।

विप्लव समूहले सुराकी गरेका कारण हत्या गरेको दाबी गरेको छ । स्थानीय, प्रहरी र आफन्तसँग बुझ्दा विप्लव समूहले दाबीगरे जस्तो सुराकी गरेको नदेखिएको टोलीले निष्कर्ष निकालेको छ ।

बस्ती विस्तापित हुने खतरा

शिक्षक श्रेष्ठको हत्यापछि बर्खेमा रहेको बस्ती बिस्थापित हुने खतरा रहेको टोलीले निष्कर्ष निकालेको छ । विप्लव समूहबाट आतंकित बनेका स्थानीयलाई राज्यबाट सुरक्षा व्यवस्थाको प्रवन्ध गर्न नसकेका कारण विस्थापित हुनसक्ने बताएको हो । टोलीले स्थानीयबासीको सुरक्षाको माग पनि गरेका छन् । बर्खेमा १२ घर बसोबास गर्दै आएका छन् ।

स्थानीय जनताले लामो समयदेखि सुरक्षा कार्यालय स्थापनाका लागि माग गर्दै आएका थिए । तर शिक्षक श्रेष्ठको हत्यापछि भने सशस्त्र प्रहरी र जनपथ प्रहरीको अस्थाई बेस राखिएको छ । अधिकारकर्मीको टोलीले घटनाका दोषीको पहिचान गरी कानुनी कारवाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment