
२ पुस, जनकपुरधाम । उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै किसानका नेताहरुले जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना दिएका छन् ।
काठमाडौं गएर भुक्तानी माग गरिरहेका उखु किसानको अबिलम्ब भुक्तानी दिनुपर्ने माग राखेर जनता समाजवादी पार्टी ९जसपा० निकटको किसान संगठनका नेताहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।
उनीहरुले बिहीबार मध्यान्ह १२ देखि दिउँसो १ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् । उखु किसानको बक्यौता रकम अबिलम्ब उपलब्ध गराउनुपर्ने, समर्थन मूल्य अनुसार किसानको धान खरीद गर्नुपर्ने, समयमै किसानलाई मल, खाद्य र बिउ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने माग उनीहरुले राखेका छन् ।
धर्नामा बसेका अगुवा बिनोद यादवले किसानको मागप्रति सरकारले अबिलम्ब ध्यान नदिए आफूहरु सशक्त आन्दोलन गर्न बाध्य हुने बताए ।
धनुषामा प्रदर्शन
उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् । उखु किसानको बाँकी बक्यौता दिनुपर्ने माग राख्दै जनता समाजवादी पार्टी निकटका युवाहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।
उनीहरुले किसानको बक्यौता अबिलम्ब दिनुपर्ने र सरकारले ल्याएको संवैधानिक परिषद् अध्यादेश खारेजीको माग समेत गरे ।
प्रदर्शनकारीले उखु किसानको माग पूरा गर, केपी ओली शर्मा प्रधानमन्त्रीबाट राजिनामा दे, केपी ओली मुर्दावाद, होली हटाउ देश बचाउ’ जस्ता नारा लगाएका थिए ।
प्रतिक्रिया 4