Comments Add Comment

सभामुख सापकोटाको मुद्दामा पेसी तोकियो

३ पुस, काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको छ ।

सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । त्यही मुद्दाको पेसी शुक्रबार तोकिएको छ ।

के हो सापकोटाको मुद्दा ?

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी लिएन । त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्‍यो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment