Comments Add Comment

साढे २३ किलो सुनका मालिक भेटिएनन्, राजश्वले लिलाम बिक्री गर्दै

३ पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक प्रहरीले भेटाउन सकेन । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ ।

विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, विर्ताको संयुक्त टोलीले १ मंसिरमा छापा हानेर २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाडाकुडा बरामद गरेको थियो ।

त्यसवेला प्रहरीले पत्रकार सम्मेलन गरेर लामो समयदेखि सुन त्यहाँ राखिएको हुनसक्ने देखिएको बताएको थियो । प्रहरीले दुई दिनसम्म रेकी गरेर गरेको सर्च अपरेशनका क्रममा मक्किएको दराजमाथि सुन बरामद भएको हो ।

यो पनि पढ्नुहोस वीरगञ्ज सुन अपरेशनको नालीबेली : मक्किएको दराजमा खजना !

पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले तत्कालीन समयमा सुनधनी नभेटिएपछि राजश्वमा बुझाइएको अनलाइनखबरलाई बताइन् । स्रोतका अनुसार सुनका मालिक नभेटिएपछि प्रकरणको अनुसन्धान समेत बन्द भइसकेको छ ।

त्यसवेला बरामद सुन भारतीय नागरिक अशोक सिन्हाको भएको बताइएको थियो । अपार्टमेन्टमा केही समयअघिसम्म उनी बसेकाले सिन्हाको सुन भएको आशंका गरिएको थियो ।

सिन्हाका दाइ प्रमोदकुमार बिहार विधानसभाको निर्वाचनमा उम्मेदवार बनेका वेला प्रहरीले अपार्टमेन्टमा सुन रहेको सूचना पाएको थियो । प्रमोदकुमार रक्सौल विधानसभा–१० मा भारतीय जनता पार्टी (विजेपी) तर्फबाट उम्मेदवार बनेका थिए, जसमा उनी विजयीसमेत भइसकेका छन् ।

भाइ अशोक चाहिँ पूर्वभन्सार क्लीयरिङ एजेन्ट हुन् । उनैले कालो धन लुकाएर राखेको हुनसक्ने आशंका गरिएको थियो ।

स्रोतका अनुसार अशोककी छोरी निवेदिकाले जन्मको आधारमा नेपाली नागरिकता लिएकी थिइन् । त्यसकै आधारमा अपार्टमेन्ट खरिद गरिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले प्रमोदबारे भारतीय पक्षसँग समन्वय गरेर सोधखोजसमेत गरेको थियो । त्यसक्रममा उनी प्यारालाइज भएर उपचाररत रहेको पाइएको थियो ।

चुनावको नजिकिँदै गर्दा प्रमोदको भाइको कोठामा सुन भेटिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको थियो । त्यसपछि छोराले एउटा अडियो सन्देश सार्वजनिक गर्दै बरामद सुन परिवारको पुस्तौनी भएको बताउँदै गैरकानुनी नभएको दाबी गरेका थिए ।

तर, परिवारका कुनै पनि सदस्य प्रहरीसमक्ष प्रमाण लिएर हाजिर भएनन् । त्यसैले चुनावमा असर नपरोस् भनेर मात्रै अडियो सार्वजनिक गराइएको प्रहरीको निष्कर्ष छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment