Comments Add Comment

आन्दोलन रोक्न सरकारले गरेको आग्रह उखु किसानद्वारा अस्वीकार

३ पुस, काठमाडौं । माइतीघर मण्डलामा भइरहेको धर्ना रोक्न सरकारले गरेको आग्रहलाई उखु किसान संघर्ष समितिले अस्वीकार गरेको छ ।

श्रीराम सहितका चार वटा चिनी मिलले ६५ करोडभन्दा भन्दा बढी रकम नदिएपछि सर्लाही, कपिलवस्तु, नवलपरासीका उखु किसान आन्दोलनरत छन् । आन्दोलन चर्किँदै गएपछि सबैभन्दा धेरै ३५ करोड बक्यौता रहेको श्रीराम सुगर मिलले शुक्रबार १६ करोडभन्दा बढी रकम सरकारको रोहबरमा पठाएको बताएको छ र बाँकी रकम पनि  सोमबारसम्म किसानको खातामा पठाउने बताएको छ ।

लगतै उद्योग, वाणिज्य, आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी धर्नास्थल माइतीघर मण्डला पुगेर आन्दोलन स्थगन गर्न किसानहरुलाई आग्रह गरेका थिए ।

तर आन्दोलनरत किसानहरुले भने अझै विश्वासको वातावरण नबनेको बताएका छन् । शुक्रबार साँझ काठमाडौंमा बसेको उखु किसान संघर्ष समितिको बैठकले भुक्तानी दिलाउन सरकारले गरेको प्रयास सकारात्मक भएपनि विश्वासको वातावरण नबनेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

‘केही चिनी मिलबाट भुक्तानीको सुरुआत थालिएकोमा सरकारलाई धन्यवाद छ, तर अझै विश्वासको वातवरण बनेको छैन, त्यसैले आन्दोलन नराक्ने निर्णय गर्यौं,’समितिका संरक्षक राकेश मिश्रले भने ।

श्रीराम सुगर मिलले भुक्तानी थालेको जानकारी सरकारबाट पाएपनि अन्य मिलले रकम दिने सुनिश्चित हुन नसकेको किसानहरुले बताएका छन् ।

संघर्ष समितिले भुक्तानी ग्यारेन्टीको कार्यविधि निर्माण गर्न वा उच्चस्तरीय समिति बनाउन सुझाव दिने निर्णय गरेको मिश्रले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment