Comments Add Comment

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ।

उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरे । विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए ।

यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका खत्रीले प्राप्त गर्दै गर्दा सेकेन्ड रनरअप भने प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो । उपाधि जितेपछि प्रतिस्पर्धी सुमी मोक्तानले भनिन्–‘जबसम्म मान्छेले सपना पुरा गर्न छाड्दैन, तबसम्म सफलता हात लाग्छ । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को विजेता बनेपछि मेरो करिअर नयाँ तरिकाले सुरु भएको छ ।’

सुमीका कोरियोग्राफर पार्टनर विजु पार्कीले सबैको माया, दर्शकको साथले यो उपाधि हात पारेको बताए । उनीहरुले नगद पुरस्कार भन्दा पनि दर्शकको माया ठूलो कुरा भएको बताए ।

यो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । यो शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।

कार्यक्रममा बोल्दै हिमालय टीभीका प्रमुख धर्मराज भुसालले भने–‘कोरोना महामारीको विचमा यो शो अगाडि बढाउने वा नबढाउने दोधार हामीमा थियो । तर, सबैको साथले हामी यो शो सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौ । हिमालय टीभीले आगामी दिनमा पनि दर्शकका लागि विश्वकै नम्बर १ रियालिटी शोहरु प्रशारण गर्दै जानेछ ।’

यो शोको समाप्तीसँगै हिमालय टेलिभिजनले ‘दि भ्वाइस अफ नेपाल–३’ प्रशारण गर्ने तयारी गरेको छ । अहिले यो शोको डिजिटल अडिसन चलिरहेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment