Comments Add Comment

सञ्चालकले काममा नआउन भनेपछि मैदा मिलमा आन्दोलन

५ पुस, हेटौंडा । मकवानपुरको हेटौंडा–८ कमानेमा रहेको मकवानपुर मैदा मिलमा कार्यरत मजदुर तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित काममा रहेका मजदुर तथा कर्मचारीलाई सन्चालकले काममा नआउनू भनेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उद्योग स्थापनाताकाबाट काम गर्दै आएका मजदुर तथा कर्मचारीले खाइपाइ आएको सुबिधा पुस १ गतेदेखि दिन नसक्ने भन्दै उद्योग सञ्चालक रमेशराज कर्णिकारले काममा नआउन भनेको उनीहरुको भनाइ छ ।

कर्णिकार ओशो तपोवनका अध्यक्षसमेत हुन् । उनी काठमाडौंमा बस्दै आएका छन् । उनले फोन गरेर काममा नआउन भनेपछि आफूहरु तनावमा परेको मजदुरहरुको भनाइ छ ।

उद्योगमा १५ वर्षदेखि काम गर्दै आएका मजदुरलाई सेवा सुविधाविनै निकाल्ने तयारी गरेको आशंका मजदुरहरुको छ । त्यसैले उनीहरुले उद्योगको उत्पादन बाहिर लैजान नदिने र बाहिरबाट सामान भित्र ल्याउन समेत नदिने चेतावनी दिएका छन् ।

‘हामीले उद्योग बन्द गर्न हुँदैन भन्दै नियमित काममा आयौं, उत्पादन दियौं, अहिले एक्कासी किन नआउनू भनेको हो बुझ्न सकेनौं,’ मजदुर रमेश श्रेष्ठले भने ।

अर्की मजदुर धनकुमारी देवकोटाले भनिन्, ‘हामी वर्षौंदेखि काममा छौं, एक्कासी काममा नआउनू भन्दा हाम्रो परिवारको बिचल्ली हुने भयो ।

कर्णिकारले विगत २ वर्षदेखि एकमुष्ठ तलब सुविधा नदिई कर्मचारी मजदूरहरुको नियमानुसारको सञ्चयकोष समेत गत २०७६ असारदेखि जम्मा नगरेको मजदुरहरु बताउँछन् । सञ्चालक कर्णिकारले राजिनामा दिएर गएका कर्मचारीले पाउनुपर्ने सेवा सुविधा नदिने, विरामी भएर अस्पताल भर्ना भएका कर्मचारी मजदूरको सुविधा समेत नदिने गरेको उनीहरुको भनाइ छ ।

सञ्चालक कर्णिकारले उद्योग बिक्री गर्न लागेको बताइन्छ । मैदा मिलमा ३० जना कर्मचारी तथा मजदुर कार्यरत छन् ।

श्रम ऐनमा उद्योग बन्द गर्नुपरेमा न्युनतम ३ महिनाअघि मजदूरहरुलाई जानकारी दिनुपर्ने, मजदूरहरुको खाइपाइ आएको सबै सेवासुविधा उपलब्ध गराउनु पर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment