Comments Add Comment

अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला

अमेरिकाको ऊर्जा मन्त्रालयमा साइबर हमला भएको छ । ऊर्जा मन्त्रालयले साइबर हमलाको पुष्टि गर्दै उक्त हमला आमेरिकी सरकारका कुनै पनि मन्त्रालयमाथि अहिलेसम्म भएका साइबर आक्रमणमध्ये सबैभन्दा ठूलो साइबर हमलाको घटना भएको पनि पुष्टि गरेको छ ।

अमेरिकाको ऊर्जा मन्त्रालयले मुलुकका परमाणु हतियारको रेखदेख गर्ने गर्दछ । तथापि पछिल्लो साइबर आक्रमणबाट परमाणु हतियार भण्डारमा कुनै पनि असर नपरेको अमेरिकी सरकारले प्रष्ट पारेको छ ।

उता माइक्रोसफ्ट कम्पनीले समेत बिहीबार आफ्नो सिस्टममा एक खतरनाक सफ्टवेयर फेला परेको जनाएको थियो ।

गत आइतबार मात्रै अमेरिकाको वाणिज्य मन्त्रालयमा समेत साइबर आक्रमण भएको थियो । वाणिज्य मन्त्रालयमा पछिल्लो एक महिनादेखि साइबर आक्रमण चलिरहेको भएता पनि आइतबार मात्रै त्यो पत्ता लागेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाले आफ्ना सरकारी निकायहरुमा हुने साइबर आक्रमणमा रसिया जिम्मेवार रहेको आरोप लगाउने गरेको छ । तर रुसले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

पछिल्लो साइबर आक्रमणका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

तथापि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले चाहिँ साइबर सुरक्षाको विषय आफ्नो सरकारको सबैभन्दा ठूलो प्राथमिकताको विषय हुने बताइसकेका छन् ।

बाइडनले भनेका छन्, ‘सबैभन्दा पहिले हामीले हाम्रा विरोधीहरुबाट हुने साइबर आक्रमण रोक्नु पर्दछ । हामीले यो गर्नेछौँ र यो हाम्रो प्राथमिकता हुनेछ । यस्ताखाले आक्रमण गर्नेहरुले ठूलो मूल्य चुकाउनु पर्नेछ । र, हामीले यस विषयमा हाम्रा गठबन्धन तथा मित्रराष्ट्रहरुसँगै काम गर्नेछौँ ।’

अमेरिकाको सबैभन्दा ठूलो साइबर एजेन्सीको रुपमा रहेको साइबर सेक्योरिटी इन्फ्रास्टक्चर एजेन्सीले भने साइबर आक्रमणलाई निर्मूल पार्नु निकै जटिल र चुनौतीपूर्ण रहेको जनाएको छ ।

उसका अनुसार पछिल्लो साइबर आक्रमणबाट महत्वपूर्ण मौलिक ढाँचा क्षतिग्रस्त भएको थियो । संघीय एजेन्सी तथा निजी क्षेत्रका कम्पनीहरुको सुरक्षामा नोक्सान पुगेको थियो र उत्तः नोक्सानीले गम्भीर खतरा पैदा गरेको छ ।

एजेन्सीका अनुसार उक्त ह्याकिङ गत मार्च महिनामै सुरु भएको हो । साइबर हमलाकारीहरुले धैर्य, परिचालन, सुरक्षा तथा जटिल ट्रेडक्राफ्टको उपयोग गरी गम्भीर साइबर आक्रमण गर्न सफल भएको उसको भनाइ छ ।

अमेरिकी ऊर्जा तथा वाणिज्य मन्त्रालयमा भएका पछिल्लो साइबर आक्रमणबाट ह्याकरहरुले कस्ता कस्ता सूचना चोरी गर्न सफल भए भन्ने चाहीँ पत्ता लागेको छैन ।

ऊर्जा मन्त्रालयका प्रवक्ताले चाहिँ साइबर हमलाकारीहरुले मन्त्रालयको बिजनेस नेटवर्कमा मात्र क्षति पूराएको दाबी गरेका छन् ।

परमाणु हतियारको सुरक्षाका लागि जिम्मेवार राष्ट्रिय परमाणु सुरक्षा प्रशासन अर्थात् एनएनएसएको प्रणालीमा साइबर आक्रमणबाट कुनै असर नपरेको उनको जिकिर छ ।

हालैमात्र अमेरिकाको टेक्सासस्थित एक सूचना प्रविधि कम्पनी सोलरविन्डको नेटवर्क म्यानेजमेन्ट सफ्टवेयर प्रयोग गरी ह्याकरहरुले कम्प्युटर नेटवर्क ह्याक गर्न सफल भए ।

ह्याकरहरुले सोलर विन्ड कम्पनीका १० हजार उपभोक्तालाई भाइरसयुक्त सफ्टवेयर पठाएर अपडेट डाउनलोड गर्न लगाए । त्यस्तो सफ्टवेयर डाउनलोड गर्ने प्रयोगकर्ताहरु ह्याकरको पञ्जामा परेका छन् ।

माइक्रोसफ्टले समेत आफ्ना ४० जना प्रयोगकर्तामाथि साइबर आक्रमण भएको बताएको छ । त्यसमा सरकारी एजेन्सी, थिंक ट्यांक, गैरसरकारी संस्था, प्रविधि कम्पनी लगायतका छन् । त्यसमध्ये ८० प्रतिशत उपभोक्ताहरु अमेरिकी छन् भने अन्यमा क्यानडा, मेक्सिको, स्पेन, बेलायत, इजरायल र बेल्जियमका रहेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment