Comments Add Comment

बालबच्चालाई उपहारमा के दिने ?

बालबालिकाले जब कुनै राम्रो काम गर्छ, तब उनीहरुलाई थप प्ररणा दिन उपहार दिने गरिन्छ । परिक्षामा उत्कृष्ट अंक हासिल गरेमा वा कुनैपनि क्षेत्रमा प्रगति गरेमा उनीहरुलाई उपहार दिइन्छ । यसैगरी जन्मदिन, नयाँ बर्ष, क्रिसमस जस्ता विशेष अवसरहरुमा पनि उपहार दिने चलन छ ।

यसरी उपहार दिएपछि उनीहरु खुसी हुन्छन् । खुसी मात्र होइन, उनीहरु राम्रो काम गर्न प्रेरित हुन्छन् । यद्यपि उनीहरुलाई कस्तो उपहार दिने ? कुन उपहार सही हुन्छ ?

उपहार छनौट गर्दा हामीले गर्ने एउटै गल्ती हो, उपहार हामी आफ्नो रुची र इच्छा अनुसार खरिद गर्छौं । अर्थात हामी आफुलाई जे मन पर्छ, त्यही कुरा उपहारको रुपमा दिने गर्छौं ।

उपहार खरिद गरिरहँदा हाम्रो मनमा दुई किसिमको विचार आउँछ ।

एउटा विचार, अलि उपयोगी र काम लाग्ने किसिमको उपहार खरिद गरौं ।

अर्को विचार, यसो घरमा सजाउन मिल्ने किसिमको टिकाउयुक्त उपहार खरिद गरौं ।

यही विचारले हामी बच्चालाई पुस्तक उपहार दिन्छौं, पेन्टिङका सामाग्री उपहारमा दिन्छौं । यसैगरी घडी, गुडिया वा अरु किसिमको सजावटको सामाग्री उपहार दिन्छौं । यी उपहारमध्ये कुनै हामीलाई ज्ञानवद्र्धक लाग्छ भने कुनै सजाउन मिल्ने किसिमको ।

बालबालिकालाई उपहार खरिद गर्नुअघि प्रश्न गरौं कि उनीहरुलाई किन उपहार प्रदान गरिदैछ ? के उनीहरुले कुनै प्रगति गरेर देखाएका छन् ?

जस्तो परीक्षामा राम्रो अंक हासिल गरेको छ । कुनै प्रतियोगिताबाट पदक जितेर आएका छन् । कविता वा कुनै रचना पत्रपत्रिकामा प्रकासित गरेका छन् । कुनै दुःखी, गरिबलाई मद्दत गरेर फुरुंग भएका छन् ।

यदि त्यसो हो भने हामी उनीहरुलाई अरु हौसला दिन चाहन्छौं । उनले गरेको काममा स्यावासी दिन चाहन्छौं । यसका लागि हामीले उनीहरुलाई प्रेरणा मिल्ने किसिमको उपहार दिन सक्छौं । जस्तो उनीहरुले के कुरामा प्रगति गरेका हुन् ? संगीत प्रतियोगितामा पदक जितेका हुन् भने उनीहरुलाई कुनै वाद्ययन्त्र वा संगीत सम्बन्धी कुनै सामाग्री बढी उपयोगी हुन्छ ।

यदि कसैलाई उनीहरुले सहयोग गरेका छन् । हामी उनीहरुलाई उपहार दिएर स्याबासी दिन चाहन्छौं भने प्रेरक व्यक्तिहरुको पुस्तक उपहार दिन सक्छौं ।

यस्तो उपहार, जसले उनीहरुको काम, उन्नती र प्रयासलाई थप हौसला मिल्न सकोस् ।

हामीले आफ्नो रुची अनुसार होइन, बच्चाको रुची अनुसार उपहार दिनु राम्रो हो । उपहार पुस्तक हुँदैमा राम्रो हुन्छ भन्ने होइन । तर, एकछिन खेलाएर नष्ट हुने सामाग्रीको तुलनामा पुस्तक धेरै राम्रो हो । पुस्तक पनि यस्तो दिनुपर्छ कि, जुन उपयोगी र रोचक हुनुपर्छ । घरमा सजाएर राख्नका लागि भन्दा पनि उनीहरुले त्यसबाट केही सिकेर, बुझेर आफ्नो जीवनमा उपयोग गर्ने किसिमको हुनुपर्छ ।

बालबालिकालाई लक्षित गरेर प्रकासित गरिएको पुस्तक नै उनीहरुको लागि बढी उपयोगी हुन्छ । त्यस्ता पुस्तकबाट मनोरञ्जनसँगै ज्ञान पनि आर्जन गर्छन् । त्यस्तै कतिपय पुस्तक चाहि निकै जीवनोपयोगी हुन्छन् । अहिले उनीहरुले नबुझे पनि पछि पढ्न सक्छन् । त्यसलाई उनीहरुले अहिले संग्रह गरेर राख्न सक्छन् । विश्व चर्चित एवं दुर्लभ पुस्तक पनि उपहारमा दिन सकिन्छ ।

पुस्तक उपहार पाएपछि उनीहरुले खोल्छन्, हेर्छन् । पुस्तकप्रतिको लगाव बढ्छ । पठन संस्कृतिको विकास हुन्छ ।

यद्यपी धेरै बौद्धिक बनाउने चक्करमा पुस्तककै थुप्रो मात्र लगाउनु हुँदैन ।

खासगरी जन्मदिनको उपहारमा उनीहरुलाई फूल वा अन्य वनस्पतिको विरुवा पनि उपहारमा दिने चलन बसाउनुपर्छ ।

कतिपय वनस्पति, जो महत्वपूर्ण हुन्छ । यस्ता वनस्पति घरमै रोप्न सकिने भए अरु राम्रो । जब उनीहरुलाई वनस्पति वा फूलको विरुवा उपहार दिन्छौं, त्यसलाई उनीहरुले नै रोप्नुपर्छ । अर्थात रोप्ने व्यवस्था गरिदिनुपर्छ । यसबाट उनीहरुले पर्यावरणको रक्षा गर्नेदेखि प्रकृतिसँग नजिक हुनुपर्छ भन्ने गुणको विकास गर्छन् ।

उनीहरुले रोपेको वोट विरुवा जति झांगिदै र सप्रिदै जान्छ, उत्तिनै उनीहरुमा खुसी एवं उमंग पनि बढ्दै जान्छ । यसले एउटा संस्कारकै रुप लिन्छ ।

उपहार खरिद गर्दा मूख्य त बालबालिकाको रुचीलाई ध्यानमा राख्नुपर्छ । उनीहरु के कुरामा रमाउँछन्, कस्तो खेलौना चाहन्छन् ? त्यही अनुसार उपहार खरिद गरिदिनु राम्रो हुन्छ ।

यस्तो उपहार, जसलाई उनीहरुले भरपुर प्रयोग गर्न सकोस् । एकछिनमै रहर पुग्ने वा थन्को लगाउने किसिमको, सजाउने मात्र भन्दा पनि त्यसलाई प्रयोग गर्ने किसिमको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment