Comments Add Comment

संसद विघटनको असर प्रदेश-२ सभासम्म

६ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको असर प्रदेशसभासम्म पुगेको छ । विवाद छताछुल्ल हुने मध्येको एक हो, प्रदेश-२ ।

सप्तरी क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सांसद गोविन्द न्यौपाने प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्रीविरुद्ध आइतबार राजविराजमा आयोजित प्रदर्शनमा सहभागी भए ।

‘संसद विघटनको प्रभाव प्रदेशसभामा पर्ने निश्चित छ’ सांसद न्यौपाने भन्छन्, ‘प्रचण्ड-माधव र ओली खेमामा विभाजन हुने पक्का छ ।’ प्रचण्ड-माधव पक्षका मानिने सांसद न्यौपाने साविक एमालेका माओवादी र माओवादीका एमालेमा पनि जानसक्ने बताउँछन् ।

प्रदेश-२ सभामा नेकपाका ३२ सांसद छन् । त्यसमध्ये साविक नेकपा (एमाले)ले २१ र साविक नेकपा (माओवादी)ले ११ सिट जितेको थियो ।

पार्टी एकीकरणपछि प्रमुख प्रतिपक्षी बने पनि यो प्रदेशमा नेकपामा सुरूदेखि नै आपसी द्वन्द्व छ । त्यसको एउटा उदाहरण हो, सार्वजनिक लेखा समितिको सभापति चयन ।

स्वतः प्रतिपक्ष दलले पाउने सभापति चयनमा पार्टी विवादको प्रत्यक्ष असर छ । पार्टीले समितिको सभापतिमा तत्कालीन भरत साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि साविक एमालेका सांसद शत्रुधन महतोले बागी उम्मेदवारी दिए ।

त्यही, विवादका कारण यो समितिमा पदाधिकारी नियुक्त हुन सकेको छैन । यसले देखाउँछ, पार्टी एकीकरण भएपनि प्रदेश सभामा एकता देखिएको छैन । नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल आफूहरू संस्थापन पक्षमा रहने बताउँछन् ।

माधव-प्रचण्ड पक्षधरसँग एकसाथ जान नसकिने उनको भनाइ छ । ‘उनीहरूलाई अलग्याउन पार्टी बिघटन गर्नुपर्छ’ मण्डल भन्छन्, ‘त्यसपछि उनीहरुलाई जहाँ जान मल लाग्छ जाओस् ।’

न्यौपाने र मण्डलको भनाइलाई मान्ने हो भने अब प्रदेश २ मा नेकपा फुटिसकेको र घोषणाको औपचारिकता मात्रै बाँकी छ । यस्तो अवस्थामा यो पार्टीले प्रमुख प्रतिपक्षीको भूमिकामा समेत रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment