Comments Add Comment

अर्थतन्त्रलाई नजरअन्दाज गरियो : पूर्वगभर्नर क्षेत्री

८ पुस, काठमाडौं । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्रका विषयमा सोच्नु पर्ने बेलामा राजनीतिक विषयले प्राथमिकता पाउनु मुलुकका लागि दूर्भाग्यपूर्ण रहेको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकको अर्थतन्त्रलाई थप क्षति पुग्ने उनको विश्लेषण छ ।

पाँच वर्षको म्याण्डेट पाएको सरकारले तीन वर्षमै चुनाव गर्ने घोषणा गरेको छ । संसद विघटन गरी आगामी १७ र २७ बैशाखमा चुनावको मिति तोकिएको छ । अहिले नै चुनाव हुँदा मुलुकको अर्थतन्त्रले धान्न नसक्ने पूर्वगभर्नर क्षेत्री बताउँछन् ।

सबैभन्दा ठूलो गल्ती अर्थतन्त्रलाई नजरअन्दाज गर्नु नै भएको उनको भनाइ छ । ‘सधैं राजनीतिक मुद्दाहरु नै प्राथमिकतामा परे, अर्थतन्त्रका विषयमा सधैं नजरअन्दाज गरियो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘यो नै मुलुकका लागि दुर्भाग्यपूर्ण हो, अर्थतन्त्रलाई नजरअन्दाज गर्नु गल्ती हो ।’

यो पनि पढ्नुहोस अहिले नै चुनाव अर्थतन्त्रका लागि घातक !

गत प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा करिब ८ अर्ब रुपैयाँ खर्च भएको निर्वाचन आयोग बताउँछ । तर अहिले चुनाव गर्दा ३० अर्ब रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटमा समेत चुनावका लागि भनेर एक रुपैयाँ पनि नछुटाएको अवस्थामा चुनाव गर्दा स्वास्थ्य तथा विकासका लागि भनेर छुट्याइएको पैसा खर्च गर्नु पर्ने हुन्छ ।

यो अत्यन्तै दुःखद कुरा भएको पूर्वगभर्नर क्षत्री बताउँछन् । ‘राजनीतिज्ञहरुले मुलुकलाई डुबाइदिन्छन् भन्ने कुरा हाम्रो मुलुकमा मात्रै होइन अन्य मुलुकहरुमा पनि देखिएको छ, उनीहरुले आफ्नो स्वार्थका लागि जे पनि गर्छन्,’ पूर्वगभर्नर क्षेत्रीले भने, ‘९ ट्रिलियन डलर कोभिडसँग जुध्न र उद्यमशीलतामा खर्च गर्न सिनेटले ल्याएको प्रास्ताव डोनाल ट्रम्पले रिजेक्ट गरिदिए, यसो विचार गर्नुस् त राजनीतिज्ञले अर्थतन्त्र उकास्न र रोजगारी सिर्जना गर्न त नदिने रहेछन नि त ।’

अमेरिकामा जस्तै हाम्रो मुलुकमा पनि यस्तै राजनीतिज्ञहरुले सोच्ने उनी बताउँछन् । अब तीन महिनामा नै चुनाव गर्न निकै गाह्रो पर्ने उनी बताउँछन् । तर चुनाव भइहालेको अवस्थामा भने मुलुकलाई धान्न निकै गाह्रो पर्ने उनले बताए ।

अहिले राजश्व साढे ३ प्रतिशतले घटेको र खर्च १० अर्बले बढेको भन्दै उनले यसतर्फ पनि राजनीतिज्ञले सोच्नु पर्ने बताए ।

‘यो खाडलको अवस्था पनि हेर्नुपर्यो, बजेटमा व्यवस्था नभएकाले चुनावका लागि कहाँबाट बजेट ल्याउने भन्ने पनि सोच्नु पर्यो,’ उनले भने, ‘राजनीतिज्ञले यस्तो गर्नु साह्रै दुःखद् कुरा हो, यहाँ अर्थतन्त्रका विषयमा पनि सोचिनु पर्ने थियो, सोचिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment