Comments Add Comment

एक महिनामै १२३ अर्बको वस्तु आयात, निर्यातमा छैन उत्साह

८ पुस, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण खुम्चिएको बजार बिस्तारै गति लिने क्रममा रहेको छ । यसको संकेत वैदेशिक व्यापारले समेत गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मंसिर)सम्म कुल ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यसमा मंसिर महिनामा उच्च आयात भएको देखिएको छ । यो महिनामा मात्र १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । कात्तिक र मंसिर महिनामा आयातमा उच्च वृद्धि भएको छ ।

कात्तिक महिनामा समेत १ खर्ब १२ अर्ब रुपैयाँ हाराहारीको वस्तु आयात भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयात पुरानै अवस्थामा फर्कने संकेत गरेपनि निर्यातमा भने उत्साहजनक वृद्धि छैन । पहिलो पाँच महिनामा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

त्यसो त समग्र आयात भने गत वर्षको यसै अवधिको तुलनामा ९.५९ प्रतिशतले कम भएको छ । तर, चालु आर्थिक वर्षका प्रारम्भिक महिनाको तुलनामा पछिल्ला महिनाहरु भने वैदेशिक व्यापारका दृष्टिकोणबाट सहज बन्दै गएको देखिएको छ ।

पछिल्लो ५ महिनाको तथ्यांकअनुसार निर्यातमा समेत अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५.१२ प्रतिशतको वृद्धि देखिएको छ ।

५ महिनामा समग्र वैदेशिक व्यापारको आकारमा भने गिरावट आएको छ । चालु आवमा कुल वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमो यस्तो रकम ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको थियो । समग्र वैदेशिक व्यापारमा ८.४८ प्रतिशतको गिरावट आएको तथ्यांक छ ।

नेपालको वैदेशिक व्यापारमा ९१.३० प्रतिशत हिस्सा आयातको रहेको छ । ८.७० प्रतिशत हिस्सा मात्र निर्यातको छ । यद्यपी अघिल्लो वर्षको यसै अवधिको तुलनामा निर्यातको हिस्सामा १४.८६ प्रतिशतको वृद्धि भने देखिएको छ ।

तर, रकममा निर्यातको वृद्धि अत्यन्तै कम रहेका कारण यसले व्यापार घाटा कम गर्न भने भूमिका खेल्न सकेको छैन ।

व्यापार घाटामा सामान्य सुधार

समग्र आयातमा आएको कमी र निर्यातको वृद्धिले व्यापार घाटामा सामान्य सुधार देखिएको छ । विभागको तथ्यांक अनुसार ५ महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ ।

यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा १०.९१ प्रतिशतले कम हो । अघिल्लो वर्ष ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा थियो ।

व्यापार घाटा कम गर्न बढ्दो निर्यातको तुलनामा घट्दो आयातको हिस्सा बढी देखिन्छ ।

५ महिनामा भारतबाट मात्र ३४५ अर्बको आयात

वैदेशिक व्यापारका लागि नेपाल छिमेकी मुलुक भारतमा अधिक निर्भर रहेको छ । भारतबाट ५ महिनामा ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयोत भएको छ । यसमा ठूलो हिस्सा पेट्रोलियम पदार्थ रहेको हुन्छ ।

नेपालबाट हुने निर्यातका लागि समेत भारत सबैभन्दा ठूलो बजार हो । यसअवधिमा नेपालबाट ३५ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । चीनबाट ५ महिनामा मात्र ७७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सामान नेपाल आएको छ ।

नेपालबाट चीनतर्फ समेत नगन्य निर्यात भएको छ । ५ महिनामा ३८ करोड ७० लाख रुपैयाँको मात्र निर्यात चीनमा भएको छ ।

संयुक्त राज्य अमेरिकाबाट ४ अर्ब ७९ करोड रुपैयाँको आयात भएकोमा ५ अर्ब ६० करोड रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालको वैदेशिक व्यापारमा अमेरिकासँगको व्यापार भने नाफामा देखिएको छ ।

५९ अर्ब ६९ करोडको इन्धन आयात

५ महिनामा भारतबाट मात्र ५९ अर्ब ६९ करोड रुपैयाँ बराबरको खनिज इन्धन आयात भएको छ । विभिन्न प्रकारका पेट्रोलियम पदार्थ यस भित्र पर्छन् ।

यसअवधिमा ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको औषधीहरु आयात भएको छ । यो वर्ष आयात बढी हुने वस्तुमा इलेक्टि्रकल मेसिन तथा उपकरणलगायत छन् ।

मोवाइल फोन, टेलिभिजनजस्ता वस्तुसमेत सोही भित्र पर्छ । यस्ता उपकरण आयातमा नेपालले ५ महिनामै ४४ अर्ब ५३ करोड ९ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

सवारी साधन र त्यसको पार्टपूर्जा आयातमा ३६ अर्ब ५ करोड रुपैयाँ बराबर रकम बाहिरिएको छ ।

यस्तो रहृयो ५ महिनाको वैदेशिक व्यापार

आयात : ५ खर्ब २५ अर्ब ४९ करोड (९.५९ प्रतिशत घटेको)

निर्यात : ५० अर्ब ५ करोड (५.१२ प्रतिशत बढेको)

व्यापार घाटा : ४ खर्ब ७५ अर्ब ४४ करोड (१०.९१ प्रतिशत घटेको)

कुल वैदेशिक व्यारा : ५ खर्ब ७५ अर्ब ५५ करोड (८.४८ प्रतिशत घटेको)

व्यापारमा आयातको हिस्सा : ९१.३० प्रतिशत (१.२२ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा : ८.७० प्रतिशत (१४.८६ प्रतिशत बढेको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment