Comments Add Comment

गीत गाएर विश्व कीर्तिमान राख्ने ध्याउन्नमा राज्यमन्त्री मानन्धर

'सोलो कन्सर्ट गर्ने विश्वकै पहिलो मन्त्री बन्छु'

९ पुस, काठमाडौं । सांसद विघटन र पार्टी विभाजनका कारण उत्पन्न परिस्थितिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सरकारका मन्त्रीहरु तनावग्रस्त छन् । तर, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई भने यतिबेला अर्कै चटारो छ । उनी स्टेजमा गीत गाएर विश्व रेकर्ड कायम गर्ने ध्याउन्नमा छन् ।

मानन्धर कुनै व्यवसायिक गायक होइनन् । अहिलेसम्म स्टेजमा गाएको अनुभव पनि उनीसँग छैन । केवल विश्व कीर्तिमानकै लागि उनले भोलि आफ्नो सोलो कन्सर्ट आयोजना गरेका छन्, जुन अष्टनारायण हलभित्र हुनेछ । सो कन्सर्टमा गाउन आफूले ६०–७० वटा गीतको तयारी गरेको मानन्धरले जानकारी दिए ।

‘मैले वर्ल्ड बुक रेकर्डमा नेपालको तर्फबाट कीर्तिमान राख्नका लागि यो कार्यक्रम आयोजना गरेको हुँ,’ उनले अनलाइनखबरसँग भने, ‘स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको रुपमा मेरो नाम रहनेछ ।’

वर्ल्ड बुक रेकर्ड भनेको गिनिज वर्ल्ड रेकर्ड्सजस्तै अर्को संस्था हो, जुन लन्डनमा रहेको छ । मानन्धरले आफ्नो प्रस्तुतिको अवलोकन गर्न लन्डनबाटै वर्ल्ड बुकका प्रतिनिधिहरु नेपाल आउने जानकारी दिए । कार्यक्रम व्यवस्थापनको सम्पूर्ण खर्च भने मानन्धर स्वयंले गर्नुपर्ने छ । आफूले गाउने प्रत्येक गीतहरुको रोयल्टीसमेत तिरिसकेको उनले बताए । एउटा गीतको १५ रुपैयाँका दरले रोयल्टी तिरेको उनको भनाइ छ ।

भोलिको कार्यक्रममा मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाउनेछन् । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीत गाउने उनले बताए । मानन्धरले गाउने गीतहरुमा ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायत छन् ।

मानन्धरको एकल सांगीतिक प्रस्तुतिको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणसमेत हुने छ । आफ्नो गायनले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नेसमेत उनले बताए ।

गीत गाएर विश्व कीर्तिमान राख्ने सोच चाहिँ मानन्धरलाई कसरी आयो ?

उनले सुनाए, ‘एकपटक प्रधानमन्त्रीज्यूले पत्रकारहरुसँग भन्नुभएछ, विश्वमा किड्नी फेरेको बहालबाला प्रधानमन्त्री कोही छ ? वास्तवमै कोही रहेनछ । त्यो सुनेपछि मेरो मनमा लाग्यो, मैले मन्त्रीको रुपमा कुनै विश्व किर्तिमान राख्न सक्छु कि ? अनि सर्च गरेर हेर्दा थाहा भयो कि अहिलेसम्म कुनै पनि बहालबाला मन्त्रीले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिएको रहेनछ । त्यसैले यो रेकर्डको तयारी गरेँ ।’

५–६ अगाडिदेखि नै यसका लागि प्रक्रिया सुरु गरेको उनले बताए । सन् २०२० भित्रै गरिसक्नुपर्ने भएकाले अहिलेको राजनीतिक तनावका बीच पनि कार्यक्रम आयोजना गरेको मानन्धरको भनाइ छ । उनको कार्यक्रममा निशुल्क प्रवेश पाइनेछ । स्टेजमा उनले करिब ४ घन्टा प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment