Comments Add Comment

आज क्रिसमस डे मनाइँदै

फाइल तस्वीर

१० पुस, काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् ।

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देशमा यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सदभाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।

नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस काठमाडौंमा क्रिसमसको स्वागत (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment