Comments Add Comment

सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ : माधव नेपाल

१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुसहित निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका हुन् ।

२९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर र नेताहरुसहित निर्वाचन आयोग पुगेर अध्यक्ष नेपालले संविधान र कानूनका आधारमा आफूले वैधानिकता पाउने बताए । ‘दुई वटा त संविधान लेख्ने मान्छेहरु यहाँ छौं, संविधान लेखेकाहरु आएका छौं । मलाई विश्वास छ, प्रचलित कानूनकै आधारमा आयोगले निर्णय लिन्छ’, नेपालले भने ।

वैधानिकता प्रमाणित गर्न सबै नेताहरु नै आएको सन्दर्भ निकाल्दै नेपालले भने, ‘मास्क लगाएका छौं । मास्क फुकाल्न पनि तयार छौं ।’ दल दर्ता गर्दाका नेताहरु चिनाउन मास्क निकाल्ने प्रसंग उनले निकालेका हुन् ।

माइतीघर मण्डलाबाट र्‍यालीसहित आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई वैधानिकता दावी गर्दै गरिएको हस्ताक्षर बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment