Comments Add Comment

प्रचण्डलाई छाडेका ५ नेतालाई मन्त्री उपहार

Photo Credit : विकाश श्रेष्ठ/अनलाइनखबर

१० पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह छाडेका ५ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पूर्व माओवादी खेमाका पाँच जना मन्त्री बनेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले मन्त्री पद पाएका हुन् । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, चौधरीलाई श्रम, साहलाई शहरी विकास र तामाङलाई युवा तथा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रायमाझी र थापा गत असारदेखि नै ओलीको पक्षमा खुलेका थिए । त्यसबेला रायमाफी र थापासहित केही पूर्वमाओवादी खेमाका नेताहरुले साथ दिँदा ओलीको दुवै पद जोगिन समेत बल पुग्यो ।

यसपटक पनि रायमाफी र थापाले खुलेरै ओलीलाई साथ दिए । संसद विघटनबारे कुनै टिप्पणि नगरेका रायमाझीले ओलीविरुद्ध प्रचण्ड र माधव समूहले गरेको तयार पारेको अविश्वास पत्रमा हस्ताक्षर गरेका थिएनन् । प्रतिनिधिसभा सदस्य रायमाझी मन्त्रीका आकांक्षी थिए । आफूतिर आएपछि ओलीले मन्त्री बनाउन प्रस्ताव गरेपनि प्रचण्ड सहमत भएका थिएनन् ।

सांसद नरहेका थापालाई भने संसद विघटन र पार्टी विभाजनको बेला मन्त्री बन्ने अवसर जुरेको छ ।

लामा, चौधरी र साह भने प्रचण्ड-माधव पक्षमा उभिएका थिए । साहले त संसद विघटनको चर्को विरोध गरेका थिए । संसद विघटन गर्ने निर्णयलाई आत्मघाती निर्णय भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘…संविधानको मुल मर्म र जनादेश विपरीत दुई वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधिसभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवम् आपत्तिजनक कार्य हो ।’

रौतहटबाट निर्वाचित सांसद साहले पुस ७ का प्रचण्ड र माधव पक्षको केन्द्रीय कमिटी बैठकमै सहभागी भएका थिए ।

तर माधव नेपाललाई अध्यक्षमा प्रस्ताव गरेपछि उनले बैठक हलमा नै आपत्ति जनाएका थिए । पुस ९ को बैठकमा नगएका उनी प्रदेश र जिल्ला तहका ३० जना नेतासहित आउने भन्दै ओली समूहमा पुगेका थिए ।

खेलकुदमन्त्री नियुक्त लामा भने २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । सिन्धुपाल्चोक-२ (ख) प्रदेशसभा सदस्यमा निर्वाचन लडेका लामा गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् ।

बादल ओली समूहमा लागेपछि उनी पुस ९ को प्रचण्ड र माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सामेल थिए । प्रदेशसभा सदस्यमा हारेका उनी मन्त्री बन्ने गरी ओली समूमा लागेका छन् ।

गौरीशंकर चौधरी प्रचण्ड निकटकै नेता हुन् । बर्दियाबाट निरन्तर निर्वाचन जित्दै आएका चौधरी यसअघि कृषिमन्त्री भएका थिए ।

उनी पनि बिहीबारसम्म प्रचण्ड र माधव पक्षकै भेलामा थिए । तर ओली समूहमा लागेका पूर्वमाओवादी नेता लेखराज भट्टको पहलमा उनी ओली समूहमा पुगेका छन् र मन्त्री बनेका छन् ।

(*यसअघि विमला विकको नाम पनि प्रचण्ड समूहबाट बाहिरिएका नेताको सूचीमा पर्न गएकोमा सच्याइएको छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment