Comments Add Comment

आफ्नो बैंकबाट कोरोना खोपको भुक्तानी गर्न इरानलाई अमेरिकाको दबाब

१२ पुस, काठमाडौं । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदको लागि आफ्नो बैंकबाट भुक्तानी दिनुपर्ने सर्त राखेको बताएका छन् । रौहानीले अमेरिकी बैंकबाट भुक्तानी दिँदा अमेरिकाले इरानको पैसा जफत पनि गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

सन् २०१८ मा अमेरिकाले इरानसँगको न्युक्लियर सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेको थियो । अमेरिकाले विभिन्न मुलुकमा रहेको इरानको सम्पत्ति पनि जफत गरेको थियो । रौहानीले इरानको कोरोना भाइरस टास्क फोर्सको बैठकमा बोल्दै आफ्नो पैसा खोप खरिदका लागि सुरक्षित हुने मुलुकबाट पनि पैसा ट्रान्सफर गर्न चाहेको बताए । यद्यपि उनले कुनै मुलुकको नाम भने उल्लेख गरेनन् । ‘तिमीहरुजस्ताको कसले विश्वास गर्छ ? तिमीहरुले जहाँ भेट्यो त्यहीँबाट हाम्रो पैसा चोरेका छौ’, अमेरिकीलाई लक्षित गर्दै रौहानीले भने । उनले केही महँगो र केही ढिलाइ भए पनि खोप खरिद नरोकिने बताए ।

सैद्धान्तिकरुपमा औषधि खरिदमा प्रतिबन्ध छूट दिने प्रचलन छ । तर, वास्तवमा भने आफूहरुमाथि लाग्न सक्ने मुद्दाबाट बच्न अन्तर्राष्ट्रिय बैंकहरुले इरानसँग सम्बन्धित कारोबार रोकिदिने गरेका छन् । यसअघि अमेरिकाको अर्थमन्त्रालयले अमेरिकालाई इरानको खोप किन्नका लागि गरिने भुक्तानीमा कुनै समस्या नरहेको बताएको थियो । यद्यपि पछि उसले यसरी गरिने भुक्तानी अमेरिकी बैंकबाट ट्रान्सफर हुनुपर्ने सर्त राखेको रौहानीले बताएका हुन् ।

गत अप्रिलमा लक्जेम्वर्गमा रोकिएको एक अर्ब ६० करोड डलरको सम्पत्तिको मुद्दा इरानले जितेको थियो । अमेरिकाको आग्रहमा अक्जेमवर्गले इरानको एक अर्ब ६० करोड डलरको सम्पत्ति रोकिदिएको थियो ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment