Comments Add Comment

अहिलेको बाटो सच्याउन ताजा जनादेशमा जानुपर्छ : कमल थापा

१२ पुस, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ पछि मुलुकले गलत बाटो लिएको भन्दै ताजा जनादेशमा गएर त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

आइतबार वीरगञ्जमा राप्रपाले गरेको प्रदर्शनपछिको सभामा उनले भने,  ‘जनताले यो बुझ्दै आएका छन् कि धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन, विदेशीको एजेन्डा रहेछ, बाटो र नीति परिवर्तन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि ताजा जनादेशमा जानुपर्ने छ ।’

दुई तिहाइ बहुमतनजिक मत पाएर पनि नेपाल कम्युनिष्ट पार्टीले वाचा अनुसार काम गर्न र परिवर्तनको अनुभूति दिन नसकेको भन्दै थापाले उनीहरुमा इमान्दारिता र दूरगामी सोचाइ नभएको पुस्टि भएको जिकिर गरे ।

थापाले कम्युनिष्ट र काङ्ग्रेस पार्टीका नेताहरुले जनतालाई मुठ्ठीको माखा सम्झेको पनि टिप्पणी गरे । जनतालाई लोभ, लालच र पैसामा किन्न सकिन्छ भन्ने सोच उनीहरुमा रहेको उनले बताए । ‘उनीहरुले के भन्ठानेका छन् भने जनता भनेको मुठ्ठीको माखा हो ? चुनावको बेलामा लोभ, लालच, प्रलोभन र पैसा दियो भने भोट सजिलै लिन सक्छौं भन्ने परेको छ’ उनले भने ।

२०६२/६३ को परिवर्तनपछि नेपालमा संगठित र योजनावद्ध ढंगले धर्म परिवर्तन गराइएको भन्दै थापाले सनातन धर्म समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए ।

आइतबार विरोध प्रदर्शनपछि राप्रपा पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोभिड–१९ महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्नुपर्ने लगायतका माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment