Comments Add Comment

भारत र चीनका अधिकारी साबिती बयान लिन आएका हुन् : डा. महत

फाइल तस्वीर

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल शक्ति राष्ट्रहरुको चलखेल स्थल बनेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको स्रोत विदेशीलाई नै ठानेको उनको आरोप छ ।

संसद विघटनको विरोधमा सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महतले भने, ‘कहिले भारतबाट रअ प्रमुख आउँछन् । अहिले चीनका रक्षामन्त्री आउँछन् । हिजो त सुरक्षा नै चाहिँदैन भनेर खुसुक्क आए ।’

‘उनीहरु हाम्रो पक्षमा हो कि अर्कोको पक्षमा हो भनेर साबिती बयान लिन आउँछन्’ पूर्व परराष्ट्रमन्त्री महतले भने ।

उनले आफूहरुले भारत र चीनका सरकार प्रमुखसँग आँखामा आँखा जुधाएर नेपालको आवश्यकता र स्वार्थको अडान लिएको दाबी गरे । तर नेकपा र ओली सरकारले जनतातिर फर्किएर राष्ट्रियताको कुरा गर्ने, तर भन्नुपर्ने ठाउँमा नभन्ने गरेको बताए ।

उनले काठमाडौं ५ का सांसद समेत रहेका उपप्राधनमन्त्री ईश्वर पोखरेलमाथि पनि निशाना साँधेका छन् ।

पोखरेलले भ्रष्टाचार र कमिसनभन्दा अर्को शब्द नजानेको भन्दै कांग्रेस सहमहामन्त्री डा. महतले भने,  ‘कोभिडको यत्रो महामारीमा भ्रष्टाचार गर्नु त के, सोच्नु पनि पाप हो । तर उहाँहरुले त भ्रष्टाचार सोचेको मात्र होइन, गरेरै देखाउनु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment