२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ।
देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए।
बार्सिलोनामा, नकाबधारी व्यक्तिहरूले फोहोरको डिब्बामा आगो लगाउनका साथै पसलहरू तोडफोड गरेका थिए । प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
गृह मन्त्रालयका अनुसार छुट्टाछुट्टै घटनामा दर्जनौं मानिसहरूलाई पक्राउ गरिएको छ।
हडतालका कारण स्पेनभरि यातायात र अन्य सार्वजनिक सेवाहरूमा अवरोध उत्पन्न भएको छ भने म्याड्रिड र बार्सिलोनाका धेरै मुख्य सडकहरूमा यातायात अवरुद्ध भएको छ।
बार्सिलोनामा भएको विरोध प्रदर्शन प्रायः शान्तिपूर्ण थियो । प्रदर्शनमा बालबालिका र वृद्धवृद्धाहरू पनि समावेश थिए।
विरोध प्रदर्शनमा सहभागी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आफ्नो तलबको तुलनामा चालू खर्चले बाँच्न गाह्रो भएको बताइन्।
स्पेनमा नोभेम्बर २९ मा संसदीय चुनाव हुँदैछ । प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो आवास सुधार योजना संसदीय स्वीकृति प्राप्त गर्न असफल भएपछि गत महिना नै समयपूर्व चुनावको घोषणा गरेका थिए।
सान्चेज र उनका मन्त्रीहरूले मानिसहरूलाई काम रोक्न र किफायती आवासको माग गर्न प्रोत्साहित गरेका छन्।
प्रतिक्रिया 4