Comments Add Comment

साउदी अरेबियामा महिला अधिकारकर्मीलाई जेल सजाय

१४ पुस, काठमाडौं । साउदी अरेबियामा महिला अधिकारकर्मी लुजेन अल हथलोललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । लुजेन साउदी अरेबियामा महिलाले पनि सवारीसाधन चलाउनुपर्छ भन्ने पक्षमा वकालत गर्ने महिला अधिकारकर्मी मध्येकी एक हुन् । महिलाको अधिकारको विषयमा आवाज उठाउँदै आएकी लुजेन पछिल्लो साढे दुई वर्षदेखि कडा सुरक्षाको बीच जेलमा छिन् ।

सन् २०१८ मा लुजेन र उनका धेरै अन्य सहयोगीहरुलाई साउदी अरेबियासँग शत्रुता राखने संगठनसँग सम्पर्क गरेको आरोपमा हिरासतमा लिइएको थियो । अन्तर्राष्ट्रिय मानवअधिकार समुहहरुले उनको रिहाइको माग गर्दै आएका छन् । यद्यपि सोमबार आतंकवादको मामिलामा सुनुवाइको लागि बनाइएको मुलुकको विशेष आपराधिक न्यायालयले लुजेनलाई राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गरेको र विदेशी एजेन्डालाई अघि बढाएकोलगायतका अन्य आरोपमा दोषी ठहर गरेको हो । लुजेनको परिवारले भने उनीमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन् । उनीहरुले जेलमा लुजेनलाई यातना दिइएको आरोप पनि लगाएका छन् ।

सन् २०१८ मा साउदी अरेबियाले महिलालाई सवारीसाधन चलाउने अधिकार दिएको थियो । तर, त्यसभन्दा केही साता पहिला नै लुजेनलाई पक्राउ गरिएको थियो । यद्यपि साउदी अरेबियाका अधिकारीहरुले भने लुजेनको पक्राउमा उनले उठाएको मुद्दाको कुनै सम्बन्ध नरहेको बताएका छन् ।

लुजेनको परिवारका अनुसार हिरासतमा लिएको तीन महिनासम्म उनलाई परिवारसँग भेट्न दिइएको थिएन । उनलाई बिजुलीको झड्का दिइएको, कोर्रा लगाइएको र उनको यौन शोषण पनि गरिएको परिवारको आरोप छ । लुजेनलाई आफूलाई यातना नदिइएको बताएमा जेलबाट बाहिर निकालिने भन्दै दबाब दिने प्रयास गरेको पनि परिवारको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment