Comments Add Comment

किसानलाई छैन रासायनिक मल, वीरगञ्जमा भने नष्ट गरिँदै

१३ पुस, वीरगञ्ज । किसानले नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल भने नष्ट गरिने भएको छ । भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति मल नष्ट गर्न गर्ने तयारी गरिएको छ ।

भिजेको मलले गोदाममात्रै ओगटेका कारण त्यसको व्यवस्थान गर्न लागिएको सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको दुई र्‍याक मल भिजेर कालो डल्ला परेको अवस्थामा आइपुगेको थियो ।

गत वर्षसाल्ट ट्रेडिङले आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । असोज १८ गते आइपुगेको ४६ हजार बोरा अर्थात २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता आइपुगेको २५ सय मेट्रिक टन (५० हजार बोरा) डीएपी मल भिजेको थियो ।

आपूर्तिकर्ता कम्पनीको भन्सार एजेन्टका प्रतिनिधिले गत मे महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको बताएका थिए । कोलकाता बन्दरगाहमा राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको थियो ।

रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा नै मल डल्लो परिसकेको थियो । मल भिजेर कालो डल्लो बनेपछि आयात गर्ने ठेकेदार कम्पनीले जाँचपासका लागि प्रक्रिया नै सुरु गरेन । जाँजपास नहुँदा भन्सारको गोदाममा ठाउँ ओगटिएको छ । कम्पनीले भने १ हजार २२५ मेट्रिक टन मलमात्रै नोक्सान भएको दाबी गरेको छ ।

कृषि मन्त्रालयले खटाएको स्वतन्त्र सर्भेयरले काम लाग्ने र नलाग्ने मललाई छुट्याइरहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

स्वतन्त्र सर्भेयरले प्रयोगका लागि उपयुक्त भनेको मल जाँच पास हुने र बाँकी मललाई जफत गरेर खाल्डो खनेर गाड्ने उनले बताए । ‘ड्यामेज मल छोड्ने कुरा भएन, व्यवस्थापनमा समस्या छ । कति ड्यामेज छ र कति जाँचपास गर्न मिल्ने छ भनेर छुट्याउने काम भइरहेको छ,’ उनले भने ।

त्यसका लागि कृषि मन्त्रालयले तोकेको स्वतन्त्र सर्भेयर, विमाका कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनीधि खटिएका छन् । अध्ययन रिपोर्ट आएपछि जाँच पास गर्न मिल्ने जाँचपास गर्ने र नमिल्नेलाई जफत गरेर खाल्डोमा गाडिने उनले बताए ।

सप्लायर कम्पनीका कर्मचारीले भिजेको मल व्यवस्थापन गर्न ३ दिनको समय मागेकोमा आफूले ५ दिनको समय दिएको तर काम सम्पन्न नभइसकेको भन्सार प्रमुख खत्री बताउछन् ।

मलको क्षतिसँगै बन्दरगाहको गोदाम भाडा बोहोर्नुपर्दा मल सप्लायर्सले दोहोरो नोक्सानी बेहोरिरहेको छ । त्यसैले छिटोभन्दा छिटो प्रक्रिया टुंगियोस भन्ने उसको चाहना छ ।

भन्सार अधिकृत चुडामणी कट्टेल रासायनिक मलमा राजश्व नलाग्ने भएकोले काम लाग्ने नलाग्ने छुट्याइसकेपछि जाँचपासको प्रक्रिया मात्रै पूरा गर्नुपर्ने बताउँछन् ।

बन्दरगाहमा आइपुगेको मलको जिम्मेवारी सप्लायर्सकै भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगञ्जका प्रमुख आमोज लामिछाने बताउँछन् ।

‘२५ हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएकोमा सप्लायर्सले हामीलाई ६ हजार ८ सय मेट्रिक टन मल दिन सकेन,’ उनले भने, ‘भिजेका कारण दुई र्‍याक मल र्‍यार्डमा नै छ । जाँचपास भएर गोदाममा नआउँदासम्म पैसा दिनुपर्दैन ।’

बालीमा छर्ने समयमा मल पाउन असहज भइरहेको अवस्थामा भिजेको मल आएपछि किसान झनै मर्कामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment