Comments Add Comment

भिजेको रासायनिक मल वीरगञ्ज सुख्खा बन्दरगाहमा अलपत्र

२९ असोज, वीरगञ्ज । वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहको गोदाममा भिजेको रासायनिक मल अलपत्र अवस्थामा छ । यो मलका कारण रेलबाट अन्य समान झार्न र गाडीमा लोड गर्न पनि समस्या भएको छ ।

बन्दरगाहामा नभिजेका मल पनि आएको छ । नभिजेको मल भने ट्रकमा लोड गरेर ओसार्ने काम भइरहेको छ । भिजेको कारण मल जाँचपास पनि हुन सकेको छैन । के गर्ने भन्ने टुंगो नलाग्दा गोदामको ठाउँ ओगटेको मात्रै छ । मल कालो र ढिक्का परेको अवस्थामा छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको ४६ हजार बोरा अर्थात २३ सय मेट्रिक टन बोरा डीएपी मल भिजेकै अवस्थामा बन्दरगाह आइपुगेको थियो । तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह हुँदै असोज १८ गते आइतबार सुक्खा बन्दरगाहमा मल आइपुगेको थियो ।

रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा नै मल डल्लो परिसकेको थियो । भदौ पहिलो साता २५ सय टन (५० हजार बोरा) डीएपी मल भिजेकै अवस्थामा वीरगञ्जको सुख्खा बन्दरगाह आइपुगेको थियो ।

मलको हालसम्म जाँचपास भएको छैन । केही बन्दरगाहको गोदाममा राखिएको छ भने केही गोदामको बाहिरपट्टी नै अलपत्र अवस्थामा छ । सम्झौता अनुसार आपूर्तिकर्ताले राम्रो अवस्थाको मल गोदाममा नपु¥याउँदासम्म त्यसको आर्थिक दायित्व साल्ट ट्रेडिङको आर्थिक दायित्वमा नपर्ने एक अधिकारी बताउँछन् ।

आपूर्तिकर्ताले भन्सार कार्यालयबाट जाँचपास गरेर जिम्मा लगाएपछि मात्रै आफूहरुको दायित्वमा पर्ने साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । साल्ट ट्रेडिङका अनुसार आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजले ठेक्का सकार गरेको २५ हजार मेट्रिक टनमध्ये ६ हजार ८ सय मेट्रिक टन मल आपूर्ति गर्न बाँकी छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगञ्जका प्रमुख आमोज लामिछानेले बन्दरगाहको मलको जिम्मेवारी सप्लायर्सकै भएको बताए ।

‘२५ हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएको हो, सप्लायर्सले हामीलाई ६ हजार ८ सय मेट्रिक टन मल दिन बाँकी छ’ उनले भने ‘जाँचपास भएर गोदाममा नआउँदासम्म बन्दरगाहमा आएको मल सप्लायर्सकै जिम्मामा रहन्छ ।’ उनले बन्दरगाहमा ठाउँ ओगटेर मल राखिरहन भएन भन्ने कुरा उठेको जानकारी आफूले पाएको बताए ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता भन्सार अधिकृत जगदीश पुर्वेले भिजेको मल जाँचपास हुने आधार नै नभएको बताए । ‘भिजेको मल हालसम्म गोदाममै छ, मल जाँचपास गराउन कोही आएका पनि छैनन्’ उनले भने ‘मल सामान्य अवस्थामा नहुँदा जाँचपास गर्ने आधार पनि देखिदैन ।’

आपूर्तिकर्ता कम्पनीका भन्सार एजेन्टका प्रतिनिधिले गत मे महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको जानकारी गराए । ‘कोलकाता बन्दरगाहमा राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको हो’ नाम उल्लेख गर्न नचाहने उनले भने ‘मलको गुणस्तर जाँचका लागि स्याम्पल लिएर गएको र मन्त्रालयका अधिकारीहरुसँग सप्लायर्सका प्रतिनिधिले कुरा गरिरहेका छन् ।’

बिमाका सर्भेयर आएर सर्भे गरेर गइसकेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment