Comments Add Comment

मल नल्याउने शैलुङ इन्टरप्राइजेजलाई कारबाही नगर्न जारी अन्तरिम आदेश खारेज

१६ पुस, काठमाडौं । मल नल्याउने ठेकदार कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालतका मुख्य न्यायाधीश डा. कुमार चुडा र न्यायाधीश रेखा थापा पाण्डेको संयुक्त इजलाशले अन्तरिम आदेश खारेजको निर्णय गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

बुधबार अदालतबाट अन्तरिम आदेश खारेज गर्ने आदेश भएको कृषि सामग्री कम्पनी लिमिटेडका सञ्चालक प्रबन्धक नेत्रबहादुर भण्डारीले जानकारी दिए । ‘उच्च अदालतको अन्तरिमका कारण थप कारबाही अघि बढाउन सकेका थिएनौं, अन्तरिम आदेश आइसकेको छ अब थप कारबाही अघि बढ्छ,’ प्रबन्ध सञ्चालक भण्डारीले भने । अब शैलुङबाट धरौटी जफत, कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउने र तेस्रो ठेक्कामा मल ल्याउन नसकेबापत कारबाहीको प्रक्रिया सुरु गर्ने भण्डारीको भनाइ छ ।

तरकारी तथा गहुँमा हाल्न ग्लोबल टेण्डरमार्फत ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेसम्म ल्याउन गत असारमा शैलुङले ठेक्का पाएको थियो । असारे धानकै लागि चाहिने मल ल्याउन नसकेर बदनाम बनेको कम्पनीले दोस्रो ठेक्कमा पनि मल ल्याउन नसकेपछि मंसिर ९ गते कृषि सामग्रीले सम्झौता भंगको निर्णय गरेको थियो । लगत्तै कम्पनीले धरौटीबापत ठेकदारले बुझाएको ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको थियो भने कालोसूचीका लागि सिफारिस गरेको थियो । कृषि सामग्रीको निर्णयविरुद्ध ठेकदार कम्पनीले उच्च अदालतमा रिट दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment