Comments Add Comment

खेलकुदमय हुँदैछ २०२१ : नेपालले ओलम्पिकदेखि एसियन भलिबलसम्म खेल्ने

नेपाली फुटबल टोलीको प्रशिक्षणको फाइल तस्वीर ।

१७ पुस, काठमाडौं । कोरोना भाइरस महामारीले विश्व नै प्रभावित बनेको वर्ष २०२० बिहीबारदेखि हामीबाट बिदा भइसकेको छ । नयाँ आशा र उमंगसहित हामीले शुक्रबारदेखि नयाँ वर्ष २०२१ लाई स्वागत गरिरहेका छौं ।

कोरोना महामारीले गर्दा वर्ष २०२० मा विश्वभर खेलकुद गतिविधिहरु प्रभावित बने । नेपाली खेलकुद पनि एक हिसाबले ठप्पै भयो । अब नयाँ वर्ष प्रवेशसँगै खेलक्षेत्रले नयाँ अध्याय सुरु गर्ने छ । २०२० मा रोकिएका धेरै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका धेरै खेलकुद प्रतियोगिता २०२१ मा आयोजना हुनेछन् ।

विश्व खेलकुदको कुरा गर्दा टोकियो ओलम्पिकदेखि युरोकप फुटबलसम्म यस वर्ष हुनेछन् । यस्तै क्रिकेटप्रेमीहरुले टी–२० विश्वकपको मजा लिन सक्नेछन् । तथापि यसमा नेपालको सहभागिता भने रहनेछैन ।

टोकियो ओलम्पिकमा नेपालले भाग लिनेछ । यस्तै फिफा विश्वकप फुटबल अन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणका खेलहरुदेखि सन् २०२३ मा हुने आईसीसी क्रिकेट वर्ल्डकपको छनोट खेलहरुसमेत नेपालले २०२१ मा खेल्दैछ । यसबाहेक भलिबललगायत अन्य विभिन्न खेलहरुको २०२१ मा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुने सम्भावना छ, जसमा नेपालले प्रतिस्पर्धाको अवसर पाउनेछ ।

राष्ट्रियस्तरमा पनि २०२१ मा धेरै खेलकुद प्रतियोगिताहरु हुनेछन् । २०२१ मार्च (२०७७ फागुन)को लागि तय गरिएको नवौं बृहद राष्ट्रिय खेलकुद प्रतियोगिता पछि सर्ने निश्चित छ । तर २०२१ मै हुनेछ ।

यस्तै शहीद स्मारक ए डिभिजन लिगलगायत फुटबलका विभिन्न प्रतियोगिताहरु, घरेलु भलिबल प्रतियोगिताहरु पनि २०२१ मा हुने आशा छ ।

२०२१ को पहिलो महिला जनवरीमै नेपालमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ । अहिले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता भइरहेको छ । दाङमा भइरहेको प्रतियोगितामा समूह चरणका खेलहरु समाप्त भइसकेका छन् । अब सेमिफाइनल र फाइनलका खेलहरु २०२१ मै हुनेछन् । त्यो सकिएपछि पुरुषको राष्ट्रिय प्रतियोगिता काठमाडौंमा हुनेछ ।

अब २०२१ मा हुने प्रमुख नेपाली खेल गतिविधिहरुको छोटो चर्चा गरौं ।

विश्वकप लिग–२ का दुई सिरिज

नेपालले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो सिरिज मार्चमा खेल्नेछ । आईसीसीले निकालेको तालिका अनुसार नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुने छ ।

कोरोना महामारीका कारण २०२० मा स्थगित भएको विश्वकप लिग २ अन्तर्गत विभिन्न सिरिजको नयाँ खेल तालिका आईसीसीले प्रकाशित गरेको हो । यसअनुसार नेपालले सन् २०२१ को जुलाईमा स्कटल्याण्ड र नामिबिया सम्मिलित अर्को सिरिज खेल्नेछ ।

नेपालले २०२० को फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासहित पहिलो लिग २ सिरिज खेलेको थियो । जसका नेपालले दुई खेल जित्दा दुईमा हार बेहोरेको थियो ।

सन् २०२३ को ओडिआई विश्वकप छनोटको रोडम्यापको रुपमा रहेको लिग २ मा नेपालले कूल ९ सिरिज खेल्नेछ । जसमध्ये चार सिरिज २०२२ र दुई सिरिज २०२३ मा हुनेछन् ।

फिफा विश्वकपको छनोट चरण

नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणका ३ खेलहरु २०२१ मा घरेलु मैदानमै खेल्ने भएको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोटको रुपमा रहेको एसियन छनोटअन्तर्गत समूह बीमा रहेको नेपालले मार्च २५ मा चाइनिज ताइपेइसँग घरेलु मैदानमा खेल्नेछ । यस्तै नेपालले मार्च ३० मा अष्ट्रेलियासँग खेल्नेछ भने जुन ७ मा जोर्डनसँग खेल्नेछ ।

एसियाली क्षेत्रको दोस्रो चरणका खेलहरु २०२० को मार्च र अप्रिलमा हुनुपर्ने थियो तर कोरोना महामारीले गर्दा अक्टोबर नोभेम्बरसम्मका लागि छनोट खेलहरु स्थगित गरिएका थिए । कोरोनाका कारण फेरि एएफसीले छनोटका खेलहरु २०२१ मा सारेको हो ।

समूह बीमा नेपालले ५ खेल खेलिसक्दा जम्मा एक खेल मात्र जितेको छ । चाइनिज ताइपेइलाई उसैको मैदानमा २–० ले हराएको नेपालले कुवेतसँग दुवै खेल हारेको थियो भने अष्ट्रेलिया र जोर्डनसँग पनि पराजित भएको थियो ।

विश्वकप छनोटको खेलका लागि तयारी गर्न अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको क्लोज क्याम्प डिसेम्बर १२ देखि सुरु गर्दैछ । त्यसका लागि एन्फाले ५८ खेलाडीलाई बोलाइसकेको छ । स्विडीस प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि एन्फाले उनको राजीनामा स्वीकृत गर्दै बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ । नेपालले नोभेम्बरमा बंगलादेशसंग उसैको मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा पनि बालगोपालले नै प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

यो पनि पढ्नुहोस विश्वकप छनोटका ३ खेल नेपालले घरेलु मैदानमै खेल्ने

एसियन महिला भलिबल

नेपालको भलिबल टिमले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेको एसियन च्याम्पियसीप र एसियन गेम्स हो । पुरुष टिमले एसियन गेम्स र एसियन च्याम्पियनसीप खेलिसकेको छ । महिला टिमले भने अहिलेसम्म एसियन स्तरमा खेल्न पाएको छैन ।

यदि सबै कुरा मिल्यो भने २०२१ मा नेपालको महिला भलिबल टिमले चीनमा एसियन च्याम्पियनसिप खेल्नेछ । नेपाल भलिबल संघ (एनभीए) ले सन् २०२१ मा चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिमलाई पठाउने पुस पहिलो साताको कार्यसमिति बैठकबाट निर्णय गरेको छ । गत वर्ष नेपालले एभिसी सेन्ट्रल जोनमा उपाधि जितेको थियो भने १४ औं सागमा रजत जितेको थियो ।

‘हाम्रो महिला टिमले पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका छन् । त्यसैले अर्को वर्ष हुने एसियन च्याम्पियनसीपमा नेपाली महिला टिमलाई पठाउने निर्णय गरेका हौँ,’ एनभीएका अध्यक्ष मनोरन्जन रमण शर्माले भनेका छन् ।

कूल १६ टिमले प्रतिस्पर्धा गर्ने च्याम्पियनसीपमा आयोजक चीनसहित १० राष्ट्र छनोट भइसकेका छन् । सन् २०१९ मा दक्षिण कोरियामा भएको च्याम्पियनसीपमा शीर्ष १० मा रहेका टिमहरु सिधै छनोट भएका हुन् । उक्त च्याम्पियनसीपमा चीन चौथो भएको थियो । आयोजकको हिसाबले चीन छनोट भएको हो । एसियाको अर्को उच्च वरियतामा रहेको हङकङ पनि छनोट भइसकेको छ । चीन र हङकङसहित अघिल्लो संस्करणको विजेता जापान, उपविजेता थाइल्याण्डसहित दक्षिण कोरिया, कजाखस्थान, चाइनिज ताइपेई, इरान, इन्डोनेसिया, अष्ट्रेलिया र भारत सिधै छनोट भएका हुन् ।

बाँकी पाँच स्थानका लागि एसियाका पाँच जोनबाट एक–एक टिम छनोट हुनेछन् । सेन्ट्रल जोनमा नेपालभन्दा बलियो टिम भारत छनोट भइसकेको र नेपालले गत वर्ष बंगलादेशमा भएको पहिलो संस्करणको महिला सेन्ट्रल जोन जितेकोले नेपालको सम्भावना बढी रहेको छ । एनभिएको प्रस्ताव एभिसीले स्वीकृत गरेमा नेपालले एसियन च्याम्पियनसिप खेल्ने अवसर पाउनेछ ।

ओलम्पिकको प्रतीक्षा

वर्ष २०२१ मा प्रतिक्षा गरिएको खेलकुद इभेन्ट हो, टोकियो ओलम्पिक । २०२० मा जापानमा हुने तय भएको ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष स्थगित भएको थियो ।

ओलम्पिकका लागि नेपालबाट अहिलेसम्म ३ खेलाडी छनोट भइसकेका छन् । ओलम्पिक कमिटीको सदस्य रहेका सबै राष्ट्रले पौडी र एथ्लेटिक्समा दुई–दुई अनिवार्य कोटामा सहभागिता जनाउन पाउनेछन् । पौडीबाट गौरिका सिंह र एलेक्स शाहको नाम यसअघि नै तय भइसके पनि एथ्लेटिक्सबाट म्याराथन धावक गोपीचन्द्र पार्की मात्र छनोट भएका छन् ।

नेपालगन्जमा भएको छैटौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जित्दै उनी ओलम्पिकका लागि छनोट भएका हुन् । कोरोना महामारीले छनोट प्रतियोगिता गराउन नपाएको भन्दै ओलम्पिक कमिटी, राखेप र नेपाल एथ्लेटिक्स संघले पनि यसलाई ओलम्पिकको छनोटको रुपमा मान्यता दिएको थियो ।

टोकियो ओलम्पिका लागि अन्य विभिन्न खेलका खेलाडीहरु अहिले ओलम्पिक सोलिडारिटी स्कलरसिप अन्तर्गत प्रशिक्षणमा छन् । कोरोना महामारी र लकडाउनले गर्दा उनीहरुको तयारी समेत प्रभावित बनेको छ । बक्सिङका शनिल शाही र मिनु गुरुङले भने ओलम्पिकको लागि छनोट प्रतियोगिता खेलेका थिए । तर छनोट बाटै बाहिरिए । मिनु गुरुङसहित १२ खेलाडीलाई वाइल्ड कार्डको लागि सिफारिस समेत गरिएको छ ।

टी–१० लिगमा नेपाली क्रिकेटर

नयाँ वर्षको सुरुमै नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय क्रिकेट लिग खेल्दैछन् । ग्लोबल स्टारको छवि बनाएका सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेल्दैछन् । उनले यसअघि मेलवर्न स्टार्सबाट दुई सिजन खेलेका थिए । सन्दीपले लगातार तेस्रो सिजन बीबीएल खेल्न पाएका हुन् ।

पूर्वक्लब मेलवर्न स्टार्सविरुद्ध शनिबार हुने खेलका लागि सन्दीप होबार्टको टिममा छन् । उनले स्टार्स विरुद्ध खेल्दै होबार्टका लागि डेब्यु गर्ने सम्भावना छ ।

यस्तै जनवरी २८ देखि फेब्रुअरी ८ सम्म युएईमा हुने चौथो संस्करणको टी–१० लिगमा यसपटक तीन नेपाली खेलाडीले खेल्दैछन् । गत सिजन टीम अवुधाबीबाट खेलेका अलराउण्डर पारस खड्का नयाँ सिजनका लागि आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा आबद्ध भएका छन् । गत सिजन कर्नाटका टस्कर्सबाट खेलेका सन्दीप भने हाल बीबीएलमा व्यस्त रहेकाले टी १० लिगमा देखिने छैनन् ।

तीन नयाँ खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल पहिलोपटक टी–१० लिगमा छनोट भएका छन् । सोमपालले गत सिजन ग्लोबल टी २० क्यानडा खेले पनि टी–१० लिगमा भने करण र कुशलसँगै पहिलोपटक छनोट भएका हुन् ।

घरेलु प्रतियोगिता

यसबाहेक बृहत राष्ट्रिय खेलकुददेखि अन्य विभिन्न घरेलु खेलकुद प्रतियोगिताहरु पनि यस वर्ष हुनेछन् । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ ।

यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले २०२० मा रोकिएका बी डिभिजन लिग र सी डिभिजन लिगसहित महिला राष्ट्रिय लिग र प्रदेशका लिगहरु २०२१ को सुरुवाती ३ महिना गर्ने गरी राखेपमा प्रस्ताव गरेको छ ।

यस्तै २०२१ मा ए डिभिजन लिग पनि गराउने तयारीमा एन्फा छ । यसबाहेक अन्य विभिन्न नकआउट गोल्डकपहरु पनि हुनेछन् ।

यस्तै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२१ को जनवरीमै सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानले २०२१ जनवरी १ बाट लागु हुने गरी क्रिकेट टिमको नयाँ प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोरलाई नियुक्त गरेको छ । उनीसंग काम गर्न नेपाली खेलाडीहरु उत्सुक छन् । उनको पहिलो परिक्षण ओमान विरुद्धको ट्राई सिरिजमा नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment