
१८ पुस, काठमाडौं । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको राराको प्रवेशद्वार ताल्चा विमानस्थलमा सुविधा सम्पन्न होटल सन्चालनको अन्तिम चरणमा पुगेको छ ।
१० रोपनी जग्गामा फैलिएको ‘रारा ट्राभल होम’ मुगु जिल्लाकै सुविधा सम्पन्न होटल हुने होटल सन्चालक राजु कार्कीले दाबी गरे ।
सन्चालक कार्कीले लक्ष्य ५० ओटा कोठा सन्चालन गर्ने भए पनि अहिले २५ वटा कोठा सन्चालनको अन्तिम तयारी गरेको बताए । होटलका कोठाबाट चुचेमारा, छायानाथ, कान्जिरोवा र चंखेली हिमाल अवलोकन गर्नसमेत सकिने गरी डिजाइन गरिएको कार्कीले बताए ।
जग्गासहित ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुन लागेको रारा ट्राभल होम होटल वरिपरि कृषि फर्म पनि रहने उनले जानकारी दिए । उनले भने, ‘होटल वरिपरि स्याउ, चुलेआरु, नास्पाती लगायत मुगु जिल्लामा उत्पादन हुने अन्नबालीहरु समेत खेती गर्ने योजना छ ।
ग्राहकहरुको रुचि अनुसार केही सिमेन्टबाट बनेका, केही ढुंगाबाट बनेका र केही काठबाट बनेका घरहरु बनाइएको उनले बताए । रारा आउँदा खान बस्न त्यति सहज नभएको भन्ने विगतको गुनासोलाई मध्यनजर गर्दै होटलमा २४ सै घण्टा तातो पानीसहित सम्पूर्ण सुविधायुक्त होटल निर्माण गरिएको कार्कीको दाबी छ ।
प्रतिक्रिया 4